२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

इन्द्रजात्राको लिंगोको सहर यात्रा

‘योसी (लिंगो) पहिला मानन्धरहरूले मात्रै तान्ने चलन थियो । अहिले अरूले पनि तान्छन् । नालाकै गाउँलेले पनि सहयोग गर्छन् ।’
दामोदर न्यौपाने

काठमाडौँ — काठमाडौंका लागि इन्द्रजात्रा जति महत्त्वपूर्ण हो, त्यति नै प्रमुख मानिन्छ यसको लिङ्गो । अर्थात्, योसी । त्यसैमा इन्द्रध्वजा राखिन्छ । यस पालि पनि योसी आफ्नो गन्तव्यमा आइपुगेको छ । योसीलाई काभ्रेको नालाबाट दुई दिन लगाई तानेर बिहीबार भोटाहिटीमा ल्याइपुर्‍याइएको हो ।

इन्द्रजात्राको लिंगोको सहर यात्रा

यसका लागि हनुमानढोका दरबारभित्रको नासलचोकबाट मंगलबार बिहान मानन्धर समुदायका केही व्यक्ति योसी काट्न नालातर्फ लागेका थिए । टाउकामा सेतो फेटा बाँधेका मानन्धर अगुवाहरू गुरुजु पल्टन पछयाउँदै अघि बढे । मंगलबार राति ९:२१ को साइत पारेर योसी काटे ।


इन्द्रजात्राको व्यवस्थापनमा काम अनुसार विभिन्न जातजातिको संलग्नता हुने चलन छ । तीमध्ये लिंगो व्यवस्थापन गर्ने काम चाहिँ मानन्धर समुदायको हो । भाद्र शुक्ल द्वितीयामा लिंगो काट्ने साइत जुराइन्छ । अनि सम्बन्धित व्यक्तिहरू गुरुजु पल्टनसहित काभ्रेको नाला जंगल जान्छन् ।


‘रूख छान्ने काम चाहिँ शिवरात्रिकै बेला भइसक्छ,’ मानन्धर संघका केन्द्रीय सचिव गजेन्द्रमान मानन्धरले भने । उनका अनुसार जंगलमा कालो बोको छाडेपछि त्यसले जुन रुख छुन्छ त्यही रूख विधिपूर्वक काटेर इन्द्रध्वजाका लागि योसी तयार पारिन्छ । भाद्र शुक्ल द्वितीयामा रूख काट्न गुरुजु पल्टनसहितको वनयात्रा सुरु हुन्छ । एकादशीमा योसी नगर प्रवेश गराइन्छ । पूर्णिमामा योसी खडा गरेपछि इन्द्रजात्रा विधिवत् सुरु हुन्छ । विभिन्न देवीदेवताको प्रदर्शन, सांस्कृतिक बाजागाजा, झाँकीसहित आठ दिन मनाएपछि इन्द्रजात्रा सकिन्छ ।

बिहीबार लिंगो तानेर काठमाडौंको भोटाहिटीतर्फ लैजाँदै श्रद्धालुहरू ।
तस्बिर : कान्तिपुर


योसी मानिसले नै तानेर ल्याउने चलन छ । यसलाई तान्न भक्तपुरका सर्वसाधारणले पनि सघाउँछन् । ‘पहिला मानन्धरले मात्रै तान्ने चलन थियो,’ गजेन्द्रमानले भने, ‘अहिले अरूले पनि तान्छन् । नालाकै गाउँलेले पनि सहयोग गर्छन् ।’


योसीलाई भोटाहिटीबाट उठाउने काम धालासीका मानन्धरले गर्छन् । अनि कायअष्टमी तिथिमा त्यसलाई भोटाहिटीबाट हनुमानढोका दरबार लगिन्छ । ‘एकादशीमा डोरीले बाँध्ने काम हुन्छ, यो चाहिँ चस्वाँद्धँ मानन्धरहरूले गर्छन्,’ गजेन्द्रमानले भने, ‘द्वादशीको दिनमा सबै मानन्धर मिलेर योसी उठाउने काम हुन्छ । बल्ल इन्द्रजात्राको रौनक सुरु हुन्छ ।’


वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गरेर यो पर्व मनाइन्छ । काठमाडौंमा वर्षेनि धेरै जात्रा मनाइन्छन् । तीमध्ये रमाइलो हो— इन्द्रजात्रा । यो बेला वसन्तपुर क्षेत्रका विभिन्न मठमन्दिर भरिभराउ हुन्छन् ।


यो पर्वको ऐतिहासिक महत्त्व छ । तत्कालीन कान्तिपुर इन्द्रजात्रामा रमाइरहेकै बेला १८२५ असोज १३ गते राति गोरखाका राजा पृथ्वीनारायण शाहले आक्रमण गरेका थिए । यस युद्धमा दुवैतिरका २०–२५ जनाको मृत्यु भएको इतिहास छ । गोरखालीको आक्रमणपछि कान्तिपुरका राजा जयप्रकाश मल्ल भागेर पाटन पुगे ।

त्यसको ११ दिनपछि गोरखालीले पाटन पनि विजय गरेपछि जयप्रकाश भक्तपुरका राजा तेजनरसिंह मल्लकोमा शरण लिन पुगे । पाटन विजय गरेको एक महिनापछि गोरखालीले भक्तपुरमा आक्रमण गरे । यहाँ जयप्रकाश पनि घाइते भए । पृथ्वीनारायणले जयप्रकाशको इच्छाअनुसार उनलाई आर्यघाट पुर्‍याइदिए । आर्यघाट गएको केही दिनमा जयप्रकाशको मृत्यु भयो । इन्द्रजात्रामा यिनै जयप्रकाशको बढी सम्झना गरिन्छ ।


इन्द्रजात्रा कुन बेला सुरु भयो भन्ने यकिन नभए पनि जयप्रकाशले जात्रामा धेरै सुधारका काम गरेको मानिन्छ । लिच्छविकालीन राजा गुणकामदेवको पालामा पनि इन्द्रजाज्ञा व्यवस्थित पारिएको मानिन्छ । मल्ल वंशका अन्तिम राजा जयप्रकाशले इन्द्रजात्रामा कुमारी पूजाको चलन बसाएको पनि पाइन्छ । कुमारीलाई तलेजु भवानीको प्रतीक मानिन्छ ।

प्रकाशित : भाद्र २९, २०७५ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?