कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इलामे सहर चियाबारी राम्रो

सजना बराल

काठमाडौँ — सन् १९७७ मा विश्वभर एउटा गीत छायो– ‘होटल क्यालिफोर्निया...’ । अमेरिकी रक ब्यान्ड ‘इगल्स’ ले क्यालिफोर्नियालाई ‘सच अ लभ्ली प्लेस’ भनेर चिनाएको केही वर्षपछि नेपालमा पनि ठाउँ विशेष गीतको चर्चा भयो ।

इलामे सहर चियाबारी राम्रो

गंगाराज मुकारुङको शब्दमा बुलु मुकारुङ र कुन्ती मोक्तानले गाएको ‘इलामे सहर चियाबारी राम्रो...’ गीतले इलामको ख्याति बढाइदियो । १९८२ मा रेकर्ड भएको उक्त गीतपछि इलामलाई संगीतमा उतार्ने क्रम बढ्यो । धेरैले यो ठाउँको प्राकृतिक बनोट र हरियालीको बखानमा लय हाले ।

कतिले इलामलाई प्रेमसँग जोडेर गाए भने कहिले यो ठाउँ आशाको प्रतीक बनेको सुनियो । घाम झुल्किने पहाडी सहरलाई विशेषत: सौन्दर्यको नमुनाका रूपमा संगीतमा प्रस्तुत गरिँदै आएको छ । मुकारुङको गीतले पनि इलामको प्रशंसा गर्दै माया–प्रीतिको भाव पोखेको छ ।

‘सानो, चिटिक्क परेको सहर छ इलाम,’ गायक बुलु मुकारुङ भन्छन्, ‘त्यहाँ पुग्ने जोकोहीलाई यो ठाउँको बयान गरूँगरूँ लाग्छ ।’ स्रष्टाको मन लोभ्याउन सक्ने सौन्दर्य भएकाले यो ठाउँ गीतहरूमा पटक–पटक आउने गरेको उनको ठम्याइ छ । ठाउँ विशेष गीत गाउँदा त्यहाँको जीवन–जगत् बुझ्न पाइने पनि उनले बताए । ‘मेरो केश फुलिसक्यो तर यो गीत जवान छ,’ मुकारुङ भन्छन्, ‘अझै पनि मान्छेहरू यसबारे मसँग खोजीनिती गर्छन् ।’

इलाममै जन्मे–हुर्केका गायक मोहन राई ‘इलामे सहर...’ लाई नै इलाममाथि बनेको पहिलो गीत भन्छन् । त्यसपछि उनले सुने– यम बरालको स्वरमा ‘बादलुको घुम्टोले इलाम बजार छोपिँदा...’ गीत । वि.सं. २०५० मा रेडियो नेपालमा रेकर्ड गरिएको गीतले बराललाई संगीतमा स्थापित गराइदियो । ‘आफ्नै जन्मभूमिको गीत गाएर चिनिने सौभाग्य मिल्यो मलाई,’ बराल भन्छन्, ‘मेरो जीवनको सबैभन्दा महत्त्वपूर्ण गीत यही हो ।’

बुद्धवीर लामाका शब्द र दिनेश सुब्बाको संगीत रहेको उक्त गीतमा इलामको वर्णनसँगै प्रेमको अभिव्यक्ति छ । यही प्रकारको अर्को गीत ‘सिरिरि हावैले उडाइ लग्यो...’ मा पनि इलामलाई प्रेम पोख्ने माध्यम बनाइएको आभास हुन्छ । वि.सं. २०५९ तिर सुन्नमा आएको यो गीत ‘द ब्रोज’ ब्यान्डको रचना हो । यसमा इलाम घुम्न जाँदा प्रेमिकाको यादमा मन हराएको आशय समाविष्ट छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवसमेत रहेका गीतकार दिनेश थपलिया केही वर्षअघि इलाम सरुवा भएका थिए । तीन वर्ष त्यहाँ बिताएका उनले इलामबारे तीनवटा र केही गजल लेखे । मोहन राईले गाएको ‘इलामको चिनो...’ गीत थपलियाले नै रचेका हुन् जसमा उनले इलामको हरियाली, सांस्कृतिक परिवेश, चिया बगान, फूलबारी, मौसम र समुन्नतिलाई एकसाथ प्रस्तुत गरेका छन् ।

‘प्रकृतिले भएभरको सीप लगाएर बनाएको चित्रजस्तो छ इलाम,’ थपलिया भन्छन्, ‘पूर्वको समुन्नत जिल्ला हो । त्यहाँ बस्दा सधैं आनन्द आयो । यही भएर मेरा शब्दमार्फत इलामलाई चिनाउन खोजेको हुँ ।’ थपलियासँगै मोहन राईले पुष्पनाथ शर्मा लगायत गीतकारका शब्द लिएर इलाम विशेष गीतको एल्बम नै सार्वजनिक गरेका थिए । पुष्पनाथका शब्दमा ‘इलामको डाँडै डाँडा...’ लाई कन्काइस्ट राईले संगीत र स्वर दिएका थिए । पुष्पनाथकै दाइ साहित्यकार तारानाथ शर्माले पनि आफ्नो जन्मथलोमाथि गीत लेखेका छन्, जसलाई उदय र मनिला सोताङले गाएका छन् ।

‘आफ्नै थातथलोबारे लेख्नु त सामान्य नै हो,’ इलामकै अर्का गीतकार दीपेन्द्रनाथ शर्मा भन्छन्, ‘तर, इलामतिर स्रष्टाहरू तानिनु चाहिँ प्राकृतिक सुन्दरता पहिलो कारण हुनसक्छ ।’ त्यस्तै ‘छ वटा ‘अ’ ले चिनाउने जिल्ला’ शीर्षकको एल्बममा पर्यटनसम्बन्धी गीत राखेको गायक राईले अवगत गराए । उनले ‘अ’ भित्र अर्थोडक्स (चिया), ओलन, अलैंची, अदुवा, अम्रिसो र आलु पर्ने बताए ।

इलामलाई विभिन्न लय र शैलीमा प्रस्तुत गरिएको छ । गायिका सञ्जीवनीले ‘पानी मीठो मेरो हजुर इलाम बजारको...’ को गीतमा मारुनी भाका प्रस्तुत गरिरहँदा रोशन गुरुङले आधुनिक भावमा ‘इलामले सम्झियो माया...’ मा गाएका छन् । राजेश लिम्बूले लोक लयमा इलामलाई गुन्जाएका छन् । प्रकाश कोराङगेले ‘मेरो इलाम आउँछ याद...’ मार्फत पहाडकी रानीको गाथा गाएका छन् ।

‘इलाम’ शब्द राखेर जति गीत बनेका छन्, यो ठाउँलाई परोक्ष रूपमा गाइएका उदाहरण अझ बढी छन् । जस्तै चियाबारीकै नाममा अनेक गीत सुन्न सकिन्छ । दीपा गहतराज (झा) ले गाएको ‘चियाबारीमा हो चियाबारीमा...’ देखि द एक्स ब्यान्डको ‘देखेँ तिमीलाई...’ मा समेत चियाबारीको प्रसंग आउँछ । चिया बगान भन्नासाथ झट्टै दिमाग आउने जिल्ला इलाम नै भएकाले यी गीतले पनि इलामको सम्झना गराउँछन् ।

गीतकार थपलियाका अनुसार इलामलाई सर्वप्रथम कवि भूपि शेरचनले साहित्यमा वर्णन गरेका थिए । त्यसपछि नै अन्य रचना र गीतसंगीतमा इलामको चर्चा हुन थालेको हो । ठाउँमाथि बनेका गीत गाउनु चुनौतीपूर्ण हुने गायक बरालले बताए । ‘ठाउँबारे बनाइएका गीत लोकप्रिय नहुने खतरा बढी हुन्छ,’ उनले भने, ‘त्यो ठाउँलाई गीतकारले कसरी प्रस्तुत गरेको छ भन्ने कुराले धेरै अर्थ राख्छ ।’ हामीकहाँ इलामसँगै ओखलढुंगा, धरान, धनकुटा, पोखरा, सुर्खेत, बुटवल, काठमाडौं लगायत ठाउँलाई पनि गीतमा प्रस्तुत गर्ने गरिएको छ ।

इलाम सम्झाउने केही गीत
-इलामे सहर चियाबारी राम्रो...
-बादलुको घुम्टोले इलाम बजार छोपिँदा...
-सिरिरि हावैले उडाइ लग्यो...
-इलामको चिनो...
-इलामको डाँडै डाँडा...
-पानी मीठो मेरो हजुर इलाम बजारको...
-इलामले सम्झियो माया...
-मेरो इलाम आउँछ याद...
-चियाबारीमा हो चियाबारीमा...
-देखेँ तिमीलाई...

प्रकाशित : आश्विन १, २०७५ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?