सुदूरपश्चिममा बन्ढुनी उल्लास

डीआर पन्त

डडेल्धुरा — केही दिनअघि गौरामा झुमेको सुदूरपश्चिम सोमबार बन्ढुनी पर्वको उल्लासमा रमाएको छ । पूतनालाई भगवान् श्रीकृष्णले वध गरेको सम्झनामा प्रत्येक असोज संक्रान्तिमा यो पर्व धुमधामसाथ मनाउने गरिएको छ ।

सुदूरपश्चिममा बन्ढुनी उल्लास

ओल्के भदौ संक्रान्तिका दिन बन्ढुनी (बूढी) बारेपछि त्यसको एक महिनामा (असोज संक्रान्तिमा) त्यसलाई पोल्ने पर्वका रूपमा बन्ढुनी मनाउने गरिएको संस्कृतिविद् कैलाश पाण्डेयले बताए ।


‘यो क्षेत्रका धेरै विशिष्ट सांस्कृतिक पर्वमध्ये बन्ढुनीको आफ्नै महत्त्व छ,’ पाण्डेयले भने, ‘ओल्के संक्रान्तिपछि लगातार पर्व आउँछन् । बन्ढुनी पर्व पितृपक्षभन्दा ठीक अगाडि मनाउने चलन छ ।’

पौराणिक कथन अनुसार, बहिनीको आठौं सन्तान आफ्नो मृत्युको कारक हुने सुनेको कंसले भान्जा (श्रीकृष्ण) लाई मार्न पूतनालाई खटाउँछ । गाउँगाउँमा गएर पूतना कृष्णको उमेरका सबै बालकलाई मार्न थाल्छे । गोकुल पुगेकी उसले कृष्णलाई भेटेर स्तनपान गराउँछे । त्यही बेला कृष्णले उसको वध गरिदिन्छन् ।

‘असत्यमाथि सत्यको विजय भएको र तत्कालीन समयमा गौपालनको ठूलो महत्त्व भएका कारण गाईपालनसँग पनि यो पर्व जोडिएको छ,’ संस्कृतिविद् पाण्डेयले भने ।बन्ढुनी पर्वका लागि भदौ संक्रान्तिमा सल्लाको ठाडो रूख काटेपछि त्यसलाई विभिन्न काँडाले बार्ने गरिन्छ । असोज संक्रान्तिका दिन बालबालिकाले घरघरबाट राँको बालेर ल्याई त्यो रूख (बूढी) पोल्ने गरिन्छ ।

‘हरेकको गोठबाट बाबियोको बूढीको प्रतिमा बनाएर लैजाने र बूढी पोलेपछि त्यसलाई खेतबारीमा बुख्याँचाका रूपमा राख्ने परम्परासमेत छ,’ पाण्डेयले भने, ‘त्यस्तो बुख्याँचा खेतबारीमा लगाउँदा जंगली जनावरले बालीनाली नष्ट गर्न नसक्ने जनविश्वास छ ।’

बन्ढुनी पर्वमा भगवान् श्रीकृष्णले पूतना मारेको लोकगाथा गाइने प्रचलनसमेत छ । पछिल्लो समय यो पर्वमा विभिन्न सांस्कृतिक प्रतियोगितासमेत हुने गरेका छन् । ठाउँठाउँमा विशेष गरी डेउडा प्रतियोगिता आयोजना गरिन्छ । डडेल्धुराको पोखरामा हरेक वर्ष यहीताका क्षेत्रीय स्तरको डेउडा प्रतियोगिता हुने गरेको छ । उक्त प्रतियोगितामा डोटी, बैतडी लगायतबाट पनि डेउडा कलाकार सहभागी हुने गरेका छन् ।

प्रकाशित : आश्विन २, २०७५ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?