सरसामानलाई दोस्रो मौका !

एजेन्सी

काठमाडौँ — भान्स गुरेले केन्याली राजधानी नैरोबीस्थित आफ्नो अपार्टमेन्टलाई कारखानामा परिणत गरेका छन् । त्यहाँ उनी थोत्रा सरसामान भेला पार्छन् अनि तिनलाई कलात्मक स्पर्श दिने गर्छन् । पुन: प्रयोगको मन्त्रलाई उनले व्यवहारमा उतारेको भन्दै देश–विदेशका मिडियाले उनीबारे चर्चा गर्दै आएका छन् ।

सरसामानलाई दोस्रो मौका !

काठे चम्चा, भाँच्चिएको कैंची र पुरानो चक्कुबाट उनले हालै माछा आकारको सजावट सामग्री बनाएका थिए । पेन्टिङ र ग्राफिक डिजाइनमा समेत अब्बल उनी अचेल भने ‘जंक आर्टिस्ट’ का रूपमा चिनिन थालेका छन् । जंक अर्थात् आफालिएका सरसामान । काम नलाग्ने भएर मिल्काइएका सामानबाट अनेक कलाकृति बनाउने यो कलालाई पछिल्लो समय सम्मानजनक ढंगले हेर्न थालिएको छ ।

हुन त सन् १९१२ मै पाब्लो पिकासोले बाँसले बुनेको कुर्सीको सिटलाई कलात्मक ढंगले प्रस्तुत गरेर जंक आर्टको प्रचार सुरु गरेका थिए । उनले ‘स्टिल लाइफ विद चेयर केनिङ’ शीर्षक आफ्नो पेन्टिङ कुर्सीको सिटमा टाँसेर प्रदर्शनीमा राखेका थिए । उनीपछि मार्सेल डुच्याम्पले ‘रेडी–मेड शृंखला’ मा यस्तै अतिरिक्त वस्तुलाई कलाको स्वरूप दिएका थिए ।

पिकासो र डुच्याम्पहरू चित्रकारका रूपमा प्रख्यात भए पनि केन्याली इभान्स चित्रकारिता छोडेर जंक आर्टमै समर्पित भइरहेका छन् । उनी समाजका लागि नमुना बनूँ भन्ने सोचेरै यस्तो काम गरिरहेको बताउँछन् । ‘म र मेरो कलासँग जोडिन आउने जोकोहीलाई प्रभावित पार्न सकूँजस्तो लाग्छ,’ उनले भने, ‘कतिले त कच्चा पदार्थ दिएर मलाई सहयोग गर्दै आएका छन् ।’



उनले आत्मरतिका लागि मात्र यो कला रोजेका होइनन् । यसलाई आयको राम्रो स्रोतसमेत बनाएका उनी फोहोरलाई कलामा उतार्नु सामाजिक रूपले पनि राम्रो काम ठान्छन् । उनी त्यस्ता सामानबाट माला, ब्रासलेट, इयररिङजस्ता गहनासँगै सो–पिस र कला सामग्री तयार पार्छन् । यस्ता सामान ५ देखि २० अमेरिकी डलरसम्म बेच्दै आएको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्ससँग बताएका छन् ।


उनी कागजको झोलाबाट साडी पिनको बाहिरी भाग बनाउँछन् । त्यसमा दुई युरोको सिक्का र पुन्टे आइफेल टावर झुन्ड्याएर क्लासिक लुक्स दिने गरेका छन् ।


यस्ता खत्र्याङमत्र्याङ सामान बनाउन उनलाई कत्ति पनि बेर लाग्दैन । सयौं डलरमा बेचिने ठूला प्रतिमा निर्माण गर्न भने निकै दिन लाग्ने बताएका छन् । फोहोरको डंगुर खोतल्न जाँदा नै उनले तीबाट केकस्तो नमुना निकाल्न सकिन्छ भनेर मथिंगल खियाउने गरेका छन् ।

‘कहिले बाटोमा हिँडदा नै राम्रा टुक्राटाक्री भेट्छु,’ उनले भनेका छन्, ‘कहिले फोहोर फाल्ने ठाउँमा गएर खोजतलास गर्नुपर्छ । हेर्नुस्, यो मोटरसाइकलको पार्टपुर्जा हो । यसबाट आकर्षक वस्तु बनाउन सकिन्छ ।’प्लास्टिकका गुडियादेखि टिनका बट्टा, काँटीलगायत सामग्री उनले भेला पार्ने गरेका छन् । यस्ता ‘वाहियात’ वस्तुबाट आर्टवर्क बनाउन सकेकामा आफू सन्तुष्ट रहेको २९ वर्षे जंक आर्टिस्टले बताएका छन् ।

केन्यत्ता विश्वविद्यालयमा चित्रकारिता पढेका उनी विश्वविद्यालयमा छँदा नै पेन्टिङमा टाँक, कपडाका टुक्रा, मसिना किल्ला र तार टाँस्ने गर्थे । लेदरको कोटबाट उनले रंगीन मयूर बनाएपछि जंक आर्टमा आफूलाई समर्पित गराएको बताए ।‘मान्छेलाई मात्र दोस्रो मौका चाहिने होइन,’ उनले भने, ‘निर्जीव वस्तुलाई पनि दोस्रो मौका दिनुपर्छ ।’ कुनै पनि चिजलाई फोहोरमा मिल्काउनुअघि पुनर्विचार गर्न आग्रह गरेका छन् ।

प्रकाशित : आश्विन २, २०७५ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?