१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

अँध्यारो इतिहासको कथा जालिनी

काठमाडौँ — ढुुंगाको कापमा उम्रिएको पीपलजस्तै थिइन्, राजकुमारी ‘जालिनी’ । राजदरबारको चौघेरामा थुनिएर हुर्किए पनि उनको सपना कहिल्यै खुम्चिएनन् । अन्तत: आफ्नै बुबा (राजा जयस्थिति मल्ल) को शासनविरुद्ध दरिलो कदम चलाएर उनले तत्कालीन शासनप्रणालीमाथि नै चुनौती दिइन् ।

अँध्यारो इतिहासको कथा जालिनी

उनै जालिनीमाथि लेखिएको नाटक यति बेला राजधानीको अनामनगरस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको छ । लोककथामा आधारित नाटकलाई दयाहाङ राईले निर्देशन गरेका छन् भने नाटय आलेख तयार पारेक हुन् ध्रुवसत्य परियारले ।

राजकुमारी जालिनी केन्द्रित भए पनि नाटकमा पुरानो सामान्तवादी समाज र राज्यव्यवस्थाको चरित्र उधिनिएको छ । मल्ल कालिन समय, त्यति बेला जनताले रैतीको रूपमा खेप्नुपरेको अनेकौं पीडा, शासकले आफ्नो स्वार्थ पूर्तिका लागि गर्ने क्रूर हर्कतहरू नाटकमा छन् । यद्यपि, यी सन्दर्भहरू सहायक कथाका रूपमा नाटकमा आएका छन् ।

मूलकथाचाहिँ जालिनीले नैसर्गिक अधिकारका लागि गर्ने प्रयत्न हो । पुरुषसत्ता हाबी रहेको तत्कालीन सामान्तवादी समाजमा महिलाहरूप्रति पुरुष दृष्टिकोण र व्यवहार नाटकको मूल विषय हो । महिलालाई भोगविलास दृष्टिकोणबाट मात्रै हेर्ने पुरुष मनोविज्ञानको पराकाष्ठको रूपमा राजा जयस्थिति मल्लको व्यवहारलाई नाटकले समातेको छ ।

हुर्किँदै गरेकी छोरीले परपुरुषको अनुहार नहेरून् भन्ने मानसिकताबाट ‘जालिनी दरबार’ बनाउन लगाएको सन्दर्भ निकै विम्बात्मक लाग्छ । आफ्नै बुबाभन्दा बाहेक कुनै पनि पुरुषको अनुहार नदेखेकी छोरी जालिनी कसरी विद्रोही जयनको हिम्मत र वीरताबाट प्रभावित भएर पहिलो नजरमै प्रेममा पर्छिन् भन्ने सन्दर्भले नाटकमा दर्शकलाई तान्दै लाग्छ । अन्तत: उनै जालिनीको प्रेमले जित्छ, राजाको क्रूरताले हार्छ ।

एउटा अत्याचारी शासकविरुद्ध नागरिकले गरेको सुनियोजित विद्रोह पनि नाटकको अर्को पाटो हो । नागरिकलाई दासभन्दा माथि नठान्ने पुरानो शासन व्यवस्थाले दिएको पीडा बुझ्नुछ भने यो नाटकले पर्याप्त सघाउँछ । यो त मल्लकालको कुरा भयो । शाह र राणाकालमा पनि कानुन नै बनाएर नागरिकलाई जातका आधारमा दास बनाइएको घटनाहरू प्रशस्त छन् ।

यस हिसाबले यो नाटकलाई नेपाली इतिहासको क्रूर र अँध्यारा पक्षको सिंहावलोकनको रूपमा हेर्न सकिन्छ । नेपाली इतिहासमा मल्लकाललाई तन्त्रवादको ऊर्वर समयको रूपमा पनि लिइन्छ । नाटकको अमूर्तता र रहस्यात्मक घटनाक्रममार्फत त्यो समयको विशेषतालाई प्रस्तुत गर्न खोजेका छन् निर्देशक दयाहाङले ।

किसानको छोरासँग राजकुमारीले प्रेम गर्दाको संघर्ष र त्यो प्रेम पराजित गराउन राजाले गरेको षड्यन्त्र, पराजित राजाको मनोदशा, जनताको मुक्तिका आवाज, समाजको विभेदकारी पृष्ठभूमि, नारीमाथि उति बेलाको परम्परागत समाजले लगाउने अंकुश, शासकीय रबैयाजस्ता पक्षलाई नाटकले समेटेको छ ।


यही नाटकमार्फत निर्देशक दयाहाङले फरक टेस्ट दिन पनि खोजेका छन् । उनले यसअघि निर्देशन गरेका ‘डिग्री माइला’, ‘माइला डट कम’, ‘मितज्यू’ जस्ता नाटकमा पाइने कमेडी टेस्टबाट यो नाटक पर छ । झन्डै डेढ घण्टा लामो नाटक सुरुदेखि अन्तिमसम्म भने एकैनासको लाग्छ । न्यारेसनबाटै नाटकको प्रारम्भ गरिनु र लामा संवादको प्रयोग हुनुले नाटकको गतिलाई अल्मल्याउँछ ।

लेखक धु्रवले भने आफ्नो लेखनमा सौन्दर्य थप्न दयाले नाटकीय दृश्यहरू सफलताका साथ रचेको दावी गरे । ‘जालिनी’ गम्भीर प्रकृतिको कथा भएकाले यसमा धेरै रोमाञ्चक पक्ष राख्दा खल्लो हुने उनको ठम्माइ छ । यद्यपि राजकुमारी हुर्किंदै जाँदा र किसानको छोरोसँग प्रेममा पर्दाका दृश्यहरूमा दयाले रोमाञ्चकता पस्केका छन् । ‘गम्भीर कथामा अर्थपूर्ण रूपमा रोमाञ्चकता मिसाउन सक्नु भिन्न खुबी हो,’ उनले भने, ‘यो निकै कठिन काम हो ।’

दयाहाङले चाहिँ ध्रुवको कथा संग्रह ‘कैरन’ पढैपछि आफ्नो मनमा थुप्रै कथाहरू सलबलाउन थालेको बताए । यी कथामाथि नाटक बनाउने सोच आएपछि उनले ध्रुवलाई अनुरोध गरे । ‘नाटकको माध्यमबाट पनि यस्ता कथा भनिनुपर्छ भन्ने लाग्यो,’ उनले भने, ‘अनि धु्रवजी तयार हुनुभयो ।’ राजकुमारी जालिनीका लागि दरबार बनाउन राजाले जनतालाई दिएको आदेशको दृश्य अलिक लामो लाग्छ ।

सिर्जना सुब्बा, विजय बराल, विनीता गुरुङको मुख्य अभिनय छ । परिपक्व र राम्रो काम गर्ने रूपमा चिनिएकी सिर्जनाको भूमिका अधिकांशत: न्यारेसनमै बितेको छ । त्यस्तै, राजा बनेका विजयले पनि राजकीय रबाफलाई खुलेर देखाउन सकेका छैनन् । जालिनीको भूमिकामा देखिएकी विनीताको अभिनयमा बोल्डनेस र विद्रोही स्त्रीका विशेषता गौण छन् ।

उनको काममा कोमलता बढी हाबी देखिन्छ । असोज २१ गते सम्म मंचन हुने नाटकमा इगिहोपो कोइँच सुनुवार, पुष्कर कार्की, सागर दाहाल, विकास पन्त, सञ्जीव राई, दीपक पछलदँग्या, प्रमिला खनाल, शकु शाह, सुदीप खतिवडा, विक्रम श्रेष्ठ, रिजन परियार, कविराज राई, सविन घलान, देवी चौधरीले पनि अभिनय गरेका छन् ।

प्रकाशित : आश्विन २, २०७५ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?