कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सर्वसाधारणका रूपमा पूर्वकुमारीको एक वर्ष

शिल्पा कर्ण

काठमाडौँ — बुवा प्रतापमान शाक्यले दोस्रो पटक बोलाएपछि माथिल्लो तलाबाट झरिन् उनी । गोरो रंग, पातलो ज्यान, कम्मरसम्म कपाल । बुधबार बिदाको दिन मावल जाने तयारीमा थिइन् उनी । मतिना शाक्य, पूर्वकुमारी ।

सर्वसाधारणका रूपमा पूर्वकुमारीको एक वर्ष

आफ्नी छोरीलाई प्रतापमानले उनी यसअघि जीवित देवी हुँदाका विभिन्न पत्रपत्रिकाका कटिङ, कुमारीका तस्बिर र कुमारीबारे जानकारी दिन थाले ।प्रतापमानले काठमाडौं मात्र होइन, पाटन, बुङमती, भक्तपुर, नुवाकोट जस्ता स्थानमा रहेका कुमारीका बारे पनि जानकारी संकलन गरेका छन् ।

विभिन्न स्थानमा फरक–फरक समुदायबाट कुमारी छानिन्छन् । कतै शाक्य, कतै बज्राचार्य, बुद्धाचार्य त कतै महर्जन थरका कुमारी पुज्ने चलन छ । कतै महिनावारी भइसकेपछि कुमारी घर छोड्ने चलन छ भने कतै हुनुअगावै खोजेर आसनमा बसाइन्छ । लिपि विज्ञ उनी संस्कृतिको जगेर्नामा लागेका अभियानकर्मी पनि हुन् । घडीको पसलका साथै उनी एक सहकारीमा पनि काम गर्छन् ।

उनकै छोरी मतिना ९ वर्ष जीवित कुमारीका रूपमा काठमाडौंमा पुजिइन् । उनी यसलाई सौभाग्य मान्छन् । यो सौभाग्य सबै बालिकाले पाउँदैनन् । उनकी जेठी छोरी मिजलाले पनि पाइनन् । उहिले कुमारी खोज्ने बेला मिजला एक वर्षकी थिइन् । कान्छी छोरी मतिनाको उमेर र चिनो दुवै मिलेपछि कुमारी भइन् ।

कुमारीका रूपमा ९ वर्ष रहेर पछिल्लो १ वर्षदेखि सामान्य जीवनयापन गरिरहेकी मतिना निकै कम बोल्छिन्, लजालु छिन् । उनी कतिऔं कुमारी हुन् भन्ने यकिन छैन । किनकि कुमारी पुज्ने परम्परा कहिलेबाट सुरु भयो र कतिवटा कुमारी फेरिए, यसको तथ्यांक कतै भेटिन्न । पहिले कुमारी छान्ने प्रक्रिया गोप्य हुन्थ्यो । अर्को कुमारी जात्रामा देखेपछि मात्र सर्वसाधारणले कुमारी फेरिएको चाल पाउँथे । पछिल्लो समय फेरिने समय सबैलाई थाहा हुन्छ र उत्सवझैं चर्चाको विषय बन्छ ।

काठमाडौंको प्राचीन बस्ती हो वसन्तपुर आसपास क्षेत्र । उपत्यकाको सबैजसो जात्रा, पर्व र संस्कृतिको मुख्य केन्द्र नै यही हो । यहीँको इटुंबहालमा निकै सुन्दर ‘राजमती’ र भैरवको एक रूप ‘गुरुमापा’ बारेका मिथक पनि जोडिन्छन् र यही ठाउँकी हुन् निवर्तमान जीवित देवी कुमारी वा ‘द्य:मांजु’ मतिना शाक्य ।

मतिनाको अर्थ नेपालभाषामा ‘मायाप्रेम’ भन्ने हुन्छ । २०६५ सालको कुरा सम्झिँदै प्रतापमानले भने, ‘तीन वर्ष पुगेर भर्खरै मात्र स्कुल जान सुरु गरेकी थिइन् मतिना । कुमारीका चिताइदार नयाँ कुमारी खोज्दै थिए । मतिनाको चिना पनि दिएँ ।’ केही दिनपछि घरमा मतिनालाई कुमारी छानिएको समाचार आयो । आमा सुनिता र बुवा प्रतापमानले तीन वर्षीया मतिनालाई कुमारी बस्ने कि नबस्ने भनेर सोधे । ‘हुन्छ,’ उनको जवाफ थियो । त्यसपछि उनी आफ्नो घर छाडी अजी, आमा, दिदी र बुवालाई छाडेर कुमारी घर बस्न पुगिन् ।

हप्ता दिन हर्षोल्लासका साथ उपत्यकामा मनाइने इन्द्रजात्रामा कुमारीको विशेष महत्त्व हुन्छ । यसबाहेक घोडेजात्रा र अन्य पर्वमा पनि कुमारीलाई बाहिर निकाल्ने र सहर परिक्रमा गराइने गरिन्छ । २०६५ को दसैंमा अष्टमीका दिन उनी कुमारी घरमा विधिवत् रूपमा भित्रिएकी थिइन् । अहिले एक वर्ष भयो, उनले अवकाश पाएको । मतिना १२ वर्ष पुगेपछि उनको स्थान तृष्णा शाक्यले लिएकी छन् ।

मतिना यसकारण पनि विशेष थिइन् किनकि उनी राजाले गद्दी त्यागी नेपाल गणतान्त्रिक मुलुक घोषणा भएपछिको पहिलो कुमारी थिइन् । राजासँग चिना मिलाइने परम्परा रहेकामा नेपाल देशसँग मतिनाको चिना मिलाइएको थियो । कुमारी को हुने भन्ने निर्णय भएपछि राजदरबारमा ज्योतिष तथा कुमारी चयनमा संलग्नहरूको भेटले कुमारीलाई ‘पक्का गर्ने कार्य’ गरिन्थ्यो, जसलाई ग्वयंदा भनिन्छ ।

राजाले यो निर्णय राजदरबारमा गर्थे । उनको पालामा राष्ट्रपति भवनमा यो विधि सम्पन्न भयो । भर्खरै केही महिनाअघि मात्र नेपाल एक राजतन्त्रात्मक देशबाट गणतान्त्रिक मुलुकमा परिवर्तन भएको थियो । राजा होइन, आलंकारिक राष्ट्रपति राष्ट्रप्रमुख भएका थिए । रामवरण यादव राष्ट्रप्रमुख थिए, उनले इन्द्रजात्रामा कुमारीका हातबाट टीका थापे । मतिना ९ वर्ष कुमारी रहिन् । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि उनैले टीका लगाएकी छन् ।

गत वर्ष अष्टमीका दिन उनी कुमारी घरबाट बाहिरिइन् । अब उनी अन्य बालिकाझैं बाहिर जाने, खेल्ने, विद्यालय जाने गर्छिन् । कुमारी घर छँदासम्म उनलाई पढाउन शिक्षक नै कुमारी घर पुग्थे । दिउँसो १२ देखि ४ सम्म पढ्ने समय हुन्थ्यो उनको । त्यसअघिसम्म पूजा गरिन्थ्यो । पछि ईश्वरको रूपबाट सामाजिक र पारिवारिक जीवनमा फर्किंदा गाह्रो नहोस् भनेर परिवारले निकै ध्यान दिने गरेको थियो ।

उनलाई अरू बालबालिकाले झैं कुमारी घरभित्र सबै सुविधा दिइन्थ्यो । फरक यति थियो कि, उनी विशेष अवसरमा मात्र घर बाहिर निस्किन पाउँथिन् । तर बाहिरका भने भित्र जान पाउँथे । आमाबुवा र शिक्षक मात्र होइन, उनका साथीसंगी पनि उनलाई भेट्न समय–समयमा कुमारी घर जान्थे । यसै कारण सामान्य दिनचर्यामा फर्किएपछि पनि उनलाई खासै फरक परेको छैन ।

उनी नचिनेको मान्छेसँग निकै कम बोल्छिन्, गम्भीर देखिन्छिन् । अलिक बढी बोल्ने र रमाउने भनेको घरका मान्छेसँग र नजिकका साथीसँग हो । अनि मोबाइल भनेपछि हुरुक्कै हुन्छिन् । कुमारी घर हुँदा पनि टीभी हेर्थिन् र इन्टरनेट चलाउँथिन् । खासै गाह्रो भएन उनलाई । बाहिरी वातावरणबाट पनि राम्रोसँग परिचित थिइन् मतिना ।

गत वर्ष असोजमा दसैंको बिदा सकिएपछि उनी स्कुल पुगिन् । उनी ग्रिन पिस कोएड स्कुलले सबै शिक्षक र विद्यार्थीलाई भेला गरी एक समारोहका बीच उनको स्वागत गर्‍यो । साथीहरू, अन्य कक्षाका विद्यार्थी र उनलाई पढाउने शिक्षक सबै मक्ख थिए । आखिर ‘देवी’ पढ्न आएकी थिइन् । कुमारीको पदबाट हटिसकेपछि पनि कुमारीको महत्त्व नेवारी परम्परामा घट्दैन भन्छन्, मतिनाका बुवा ।‘विभिन्न कार्यक्रममा पूर्वकुमारीलाई बोलाइन्छ । पूजा गरिन्छ । त्यस्तो बेलामा मतिना पनि सहभागी हुन्छिन्,’ उनले भने ।

१३ वर्षीया मतिनाको आठ कक्षामा पढाइ राम्रै चलिरहेको छ । भविष्यको योजना बनाइसकेकी छैनन् । यो निर्णय लिने उमेर पनि भइसकेको छैन भन्छन् बुवा प्रतापमान । तर ‘असल नागरिक’ बनाउने चाहना छ उनका बुवाको । विद्यालयमा शिक्षक र विद्यार्थी दुवैको आकर्षणको केन्द्र हुन् उनी । उनलाई विद्यालय जीवन कस्तो लाग्छ त ? उनको छोटो उत्तर छ, ‘रमाइलो ।’ मनपर्ने विषय, ‘गणित ।’

साथीसँग चञ्चल हुन्छिन् उनी । विद्यालयमा कक्षाकोठा पढ्ने र सिक्ने मात्र होइन, बाल्यकालको ठूलो हिस्सा बिताउने स्थान पनि हो उनका लागि । ‘कक्षामा हल्ला गर्छौ ?’ प्रश्नमा उनी ‘हो’ भनेझैं लजाइन् । इन्द्रजात्रामा गणेश र भैरवको स्थान पनि निकै महत्त्वपूर्ण हुन्छ । उही कक्षाको अर्को सेक्सनमा ‘गणेश’ अर्थात् संवेग शाक्य पनि पढ्छन् । स्कुल जान थालेपछि सोही वर्ष तिहारपछि उनको ‘इही’ अर्थात् बेल विवाह गरियो । माघमा गुफा बसिन् । समग्रमा कुमारी घरबाट निस्केपछिको वर्ष निकै व्यस्त भइन् ।

गएको महिना पनि उनको दिनचर्या निकै व्यस्त थियो । एकाबिहानै साढे चार बजे उठेर नित्यकर्म सकी स्वयम्भू पुग्थिन् । बाँसुरी बजाउँदै फर्किन्थिन् अनि खाना खाएर स्कुल ड्रेस लगाएर हतारिँदै स्कुल पुग्थिन् । ‘गुँला’ महिनालाई नेवारी संस्कृतिमा विपद् र प्रकोपको मौसम मानिन्छ । यस समयमा मनलाई स्थिर राख्नुपर्ने र धार्मिक क्रियाकलापमा संलग्न हुनुपर्ने मान्यता छ । उनले गुँला सुरु हुनुभन्दा दुई महिना अघिदेखि नै बाजा खल:बाट बाँसुरी बजाउन सिकिन् । र, दिनहुँ बाँसुरी बजाउँदै दिदी र टोलका अन्यसँगै फर्किन्थिन् ।

नयाँ–नयाँ कुरा सिक्न उनलाई निकै मन पर्छ । आउने वर्ष अर्को बाजा बजाउने उनको योजना छ । फेरि अर्को वर्ष गुँलामा बाजा विधिपूर्वक निकालिएपछि अरू बाजा सिक्ने मतिनाको धोको छ । यसै वर्ष बाजा खलकसँग पिकनिक जाँदा नेवारी गीत गाएकी थिइन् मतिनाले । गीत संगीतमा उत्तिकै रुचि छ ।मतिना कुमारी घरबाट निस्केपछि जापानबाट आएको एक टोलीले उनका बारे वृत्तचित्र तयार गरिसकेको छ । अन्य देशबाट पनि कुमारीबारे बुझ्न आउनेको संख्या बढिरहेको छ । प्रतापमानका अनुसार जर्मनी, कोरियालगायतका देशबाट मतिनाबारे डकुमेन्ट्री बनाउन प्रस्ताव आइरहेका छन् ।

प्रतापमान कुमारी घर बनाइएको हिसाबले यो प्रचलन मल्लकालमा सुरु भएको भनिए पनि नेवारी संस्कृतिको सुरुवातसँगै भएको मान्छन् । उपत्यकाका अन्य क्षेत्रमा र नेपालकै विभिन्न जिल्लामा पनि कुमारी राख्ने र पुज्ने चलन छ । उपत्यकामा तीन तहका कुमारी रहने गरेको उनी बताउँछन् । ‘मुख्य कुमारीबाहेक नगर र टोल–टोलमा पनि कुमारी हुन्थे,’ प्रतापमानले भने, ‘अहिले छैनन् । संस्कृति जोगाउन इच्छा मात्र होइन, अर्थ पनि चाहिन्छ । त्यसैले बिस्तारै उपत्यकाको धेरै कुमारी संस्कृति लोप भइसक्यो ।’ कुमारीलाई सेवासुविधा दिन कन्जुस्याइँ गर्न नहुने धारणा छ प्रतापमानको । उनले भने, ‘डेढ सय रोपनीभन्दा बढी जग्गा कुमारीका लागि राखिएको थियो । विभिन्न समयमा राज्यले अधिग्रहण गर्दै गयो ।’

कुमारीले भोगचलन गर्नुपर्ने जग्गामा सरकारको स्वामित्व भएपछि कुमारीको सेवासुविधामा कुनै कमी हुन नदिनु पनि सरकारकै दायित्व ठान्छन् उनी । अहिले नयाँ कुमारीलाई केही सुविधा थप गरिएको छ । मासिक ४० हजार रुपैयाँ भत्ता काठमाडौं महानगरपालिकाले दिन्छ । पूर्वकुमारीलाई १० हजार मासिक दिइन्छ । यसैगरी नेपाल सरकारका तर्फबाट दिइने सुविधामा पनि केही वृद्धि गरिएको छ ।

-ग्रिन पिस कोएड स्कुलमा आठ कक्षामा अध्ययनरत
-विभिन्न पूजामा सहभागिता
-बाँसुरीवादन प्रशिक्षण
-आफूबारे डकुमेन्ट्री निर्माणमा सहभागिता

प्रकाशित : आश्विन ४, २०७५ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?