सार्वजनिक भएन भिन्चीको विख्यात कला

काठमाडौँ — लियोनार्दो दा भिन्चीले बनाएका बीस वटा मास्टरपिस चित्रमध्येको ‘साल्भाटर मुन्डी’ अहिले संयुक्त अरब इमिरेट्समा छ । गत मंगलबार उक्त चित्र अनावरण गर्ने तय भएको थियो । तर, त्यसो हुन सकेन ।

सार्वजनिक भएन भिन्चीको विख्यात कला

अबुधाबीका एक शाही सदस्यले गत नोभेम्बरमा ४५ करोड अमेरिकी डलरमा यो चित्र खरिद गरेका थिए । हालसम्मकै उच्च मूल्यमा बिक्री भएको यस चित्रलाई लिएर यति बेला ठूलो जनचासो छ ।

स्थानीय संग्रहालय ‘द लुभ्र अबुधाबी’ मा राखिएको चित्र भिन्चीले सन् १५०० मा बनाएको मानिन्छ । कुनै बेला यो बेलायती राजा चाल्र्स प्रथमको स्वामित्वमा थियो । सन् १९५८ सम्म यसलाई गोप्य राखियो, सर्वसाधारणले हेर्न पाएनन् । त्यसपछि भने बेलायतकै कलाबिक्रेताहरूले चित्र फेला पारे । र, यसको संवद्र्धन गरे । चित्रसँगै भेटिएका केही कागजातले यो भिन्चीकै सक्कल सिर्जना भएको प्रमाणित गरिदिएको मानिन्छ । आधिकारिकता पुष्टि हुन भने छ वर्ष लागेको थियो । यद्यपि, केहीले यो चित्र भिन्चीले नभई उनका शिष्यले बनाएको हो भनिरहेकै पनि छन् ।

के छ चित्रमा ?
यो जिसस क्राइस्टको पोट्रेट हो । इटालियन भाषाको ‘साल्भाटर मुन्डी’ शीर्षकले सेभियर अफ द वल्र्ड अर्थात् विश्वका उद्धारकर्ता भन्ने अर्थ दिन्छ । छब्बीस इन्च अग्लो चित्रमा जिससलाई पुनर्जागरण कालपछिको पहिरनमा देखिन्छ । उनले दायाँ हातले आशीर्वाद दिँदै गरेका छन् भने बायाँ हातमा पारदर्शी धातु टल्किएको देखिन्छ ।

यसरी भिन्चीले उनलाई ब्रह्माण्डको रक्षकका रूपमा उतारेको बताइन्छ । सन् १९५८ मा चित्र फेला पारेपछि बिक्रेताले यसमा ओभरपेन्ट (रङ थप्ने काम) गरेर पहिलेकै रूपमा फर्काएका थिए । भिन्चीले खरी र मसीबाट बनाएका चित्रहरू बेलायतको रोयल कलेक्सनमा संगृहीत रहेकामा ‘साल्भाटर मुन्डी’ मात्रै निजी संग्रहालयमा थियो । यो चित्रका थुप्रै भर्सन कोरिएका छन् ।

अनावरण अन्योल
न्युयोर्कमा रहेको बेलायती संस्था क्रिस्टीले लिलामीमा राखेको चित्र बदर बिन अब्दुल्लाह बिन मोहम्मदले अबुधाबीको संस्कृति तथा पर्यटन विभागका तर्फबाट किनेका थिए । लिलामीमा यसको मोलमोलाइ नै १० करोड अमेरिकी डलरबाट सुरु भएको थियो ।

यसअघि पिकासोले कोरेको ‘विमेन अफ अल्जियर्स (भर्सन जेरो)’ चित्र सर्वाधिक १७ करोड अमेरिकी डलरमा बिक्री भएको थियो । लिलामीमा बिक्री भएकामध्ये यो नै विश्वको सबैभन्दा महँगो चित्र मानिँदै आएकामा भिन्चीको ‘साल्भाटर मुन्डी’ ले नयाँ कीर्तिमान राखेको हो ।

बाहिरी रूपमा बदर बिन अब्दुल्लाहको नाम आइरहेका बेला चित्र किन्ने खास व्यक्तिचाहिँ साउदीका युवराज मोहम्मद बिन सलमान भएको बताइन्छ । चित्रको अनावरण मिति अनिश्चित कालका लागि पर सारिएको छ । यस्तो किन गरियो भन्नेबारे संग्रहालयले कारण भने खुलाएको छैन । संग्रहालयको आगामी वार्षिकोत्सवमा उक्त विख्यात चित्र सार्वजनिक गर्ने अनुमान गरिएको छ ।

(एजेन्सी)

प्रकाशित : आश्विन ५, २०७५ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?