कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सहरमा इन्द्रको हात्ती

सुनीता साखकर्मी

काठमाडौँ — हात्तीको शरीरभित्रबाट फुत्त एक युवक बाहिर निस्किए । युवक निस्कनेबित्तिकै हातमा चिराग बोकेका अन्यले वरिपरि झुम्मिरहेकालाई ‘अब एक जना आउनुस्’ भने । ठेलमठेल गर्दै भीडबाट अर्का युवक फुत्त हात्तीभित्र छिरे अनि उक्त बुट्टेदार सेतो हात्तीलाई बोकेर दौडाए ।

सहरमा इन्द्रको हात्ती

इन्द्र जात्राका अवसरमा काठमाडौंका विभिन्न चोक र गल्लीमा जारी ‘पुलुकिसी जात्रा’को रौनक हो यो । पुलुकिसी अर्थात् ऐरावत हात्ती । हनुमानढोका दरबार क्षेत्रमा कालभैरवको मूर्तिअगाडि योसीं अर्थात् लिंगो ठड्याएसँगै सुरु भएको इन्द्र जात्राको एक विशेष जात्रामध्ये मानिन्छ( पुलुकिसी ।

ऐरावत हात्ती इन्द्रको वाहन मानिन्छ । नेवार समुदायमा प्रचलित मिथअनुसार आमालाई पारिजात फूल चाहिएकाले एक दिन इन्द्र काठमाडौंमा फूल चोर्न आएछन् । यहाँका माली समुदायले इन्द्रलाई बाँधेर राखे । ‘त्यसपछि इन्द्रलाई खोज्दै उनको ऐरावत हात्ती आएछ,’ पुलुकिसी जात्रा चलाउँदै आएको किलाघ: गुठीका कवीन्द्र महर्जनले भने, ‘उक्त हात्ती राम्रो देखेपछि किलाघ:को महर्जन समुदायले समातेर राखेछ । त्यसैको सम्झनामा हरेक इन्द्रजात्रामा पुलुकिसी देखाइन्छ ।’ त्यही बेलादेखि यसलाई संस्कृतिकै रूपमा पछ्याउँदै आएको कवीन्द्र बताउँछन् ।

काठमाडौंको किलाघ:बाट सुरु हुने पुलुकिसी जात्राको पहिलो दिनमै भेटिइन् रेखा शाक्य । उनी पुलुकिसी जात्राको रौनकलाई क्यामेरामा कैद गर्दै थिइन् । किलाघ:मै जन्मिएकी उनी संस्कृतिसम्बन्धी फोटो खिच्न रुचाउँछिन् । तर उनको परिचय यतिमा मात्रै सीमित छैन । उनी यो पुलुकिसीलाई डोर्‍याउने महर्जन समुदायकी दोस्रो महिला पनि हुन् । अधबैंसे उमेरको देखिने रेखाले सानो छँदादेखि नै पुलुकिसी जात्रा हेर्दै आए पनि ऐरावत हात्तीलाई भने पाँच वर्षअघि मात्रै छुन पाएकी हुन् । त्यो समय उनैले पुलुकिसीलाई डोर्‍याएकी थिइन् ।

‘पहिले केटीहरूलाई पुलुकिसी छुन पनि दिँदैनथ्यो । त्यसैले केटीहरू पुलुकिसी बाटोमा आउँदा डराएर भाग्थे,’ उनले भनिन्, ‘छुनै चाहनेले पनि छुन पाउँदैनथे ।’ २०७० देखि केटीहरूलाई समात्न दिएपछि किलाघ:कै नानीमैया प्रजापतिले पहिलोपल्ट यसलाई डोर्‍याइन् र त्यसको भोलिपल्ट रेखाले मौका पाइन् । पुलुकिसी डोर्‍याउनु उनलाई गौरव लाग्छ । ‘खासमा पुलुकिसी समातेर केही हुने हैन,’ उनले भनिन्, ‘तर समात्न सकिन्छ भन्ने जोस आयो र समाजले पनि सहज बनाइदियो ।’

किलाघ:मा नाच देखाइसकेपछि पुलुकिसीको टोली किलाघ: क्षेत्रबाट अन्य ठाउँ परिक्रमा गर्न गयो । पुलुकिसी जानेबित्तिकै किलाघ: कै ८५ वर्षे इन्द्र महर्जन बोरा ओछ्याएर फर्सीको मुन्टा, लौका र काँक्रो बेच्न आइपुगे । उनी पनि पहिले पुलुकिसी डोर्‍याउने र नाच्ने गर्थे । उनले अनुभव सुनाउँदै भने, ‘पहिले हामी नै नाच्थ्यौँ, कति नाच्यौँ गन्ती छैन ।’ उनी १४ वर्षको छँदा पुलुकिसी देखाउन महाराजगन्जस्थित तत्कालीन प्रधानमन्त्री मोहनशमशेर जबराकोमा समेत गएको प्रसंग झिके । ‘एकदमै रमाइलो भएको थियो,’ उनले भने, ‘प्रधानमन्त्री हाम्रो नाच हेरेर दंग थिए ।’

हरेक वर्ष काठमाडौंको किलाघ: त्वा: खल:ले पुलुकिसी जात्रा निकाल्दै आएको छ । यो पुलुकिसी निकाल्दा ठूलो र सानो धिमे, भुस्या र विशेष ट्याइँट्याइँ बाजा बजाउने गरिन्छ । र, हात्तीको मुकुट र आवरण चित्रकारहरूले कोर्ने गर्छन् । बर्सेनि इन्द्रजात्राको एकदुई महिनाअघि नै सेतो कपडामा विभिन्न बुट्टा र चित्र कोर्न पठाइने कवीन्द्रले बताए ।

किलाघ:मा सेतो पुलुकिसी मात्रै नभई अन्य दुई रातो र कालो हात्ती पनि छन् । तर अहिले सेतो पुलुकिसी मात्रै धेरै प्रचलनमा छन् । कवीन्द्रको टोलकाहरूले नै यो पुलुकिसी बनाउने जिम्मा लिन्छन् । हात्ती बनाउनेदेखि नचाउने, जानकारी दिनेसम्म गरी २५ जना हुन्छन् टोलीमा । १० वर्षमा उनीहरूको पालो फेरिने कवीन्द्रले बताए । कुनै समय चिलाग: (चिराग) बोक्ने एक जना र हात्ती बोक्ने दुई जनाले नै पुलुकिसी जात्रा गर्ने गर्थे र यो नाच बिसाउनुहुन्न भन्ने मान्यता थियो । तर अहिले युवाहरू हात्ती एक चक्कर लगाउँदै बिसाउँदै नाच्ने गरेका छन् । अहिले हात्ती सम्हाल्न तीन र सोभन्दा बढी लाग्ने गरेको कवीन्द्रले बताए । ‘पहिलेका किसानहरू बलियो हुन्थे, एक्लैले एउटा बोक्न सक्थे,’ उनले भने, ‘अहिलेकाहरूले त्यो गर्न सकेनन् । त्यसैले विस्तारै त्यो कठोर नियम बदलिँदै गएको छ ।’ अहिले पहिलेको भन्दा होचो हात्ती बनाउने गरेको पनि उनले सुनाए ।

अहिले यो जात्रालाई सरकारले जति मान्यता दिनुपर्ने हो, त्यति नदिएको कवीन्द्रले गुनासो पोखे । निजी संघसंस्थासँग सहकार्य गरी उनीहरू इन्द्रजात्राभरि काठमाडौंका विभिन्न क्षेत्रमा पुलुकिसी लिएर जान्छन् । यो जात्रा गर्न गाह्रो भयो भनेर थुप्रैले छोडेको तथ्य पनि उनले खुलाए । ‘सरकारले यसबारे ध्यान नै दिँदैन,’ उनले भने ।

यो वर्ष लाजिम्पाट, लैनचौर, जमल, सानेपा, ओमबहाल, टेबहाल, न्युरोडमा यो जात्रा देखाउने तयारी गरेको उनले सुनाए । इन्द्रजात्राको अन्तिम दिन अर्थात् नानिचा: या:को दिनमा पुलुकिसी जात्रा गर्ने र लाखे नाच नाच्नेहरू एकै ठाउँमा आई भोज खाँदै रमाइलो गरी जात्रा समापन गर्छन् ।

प्रकाशित : आश्विन ८, २०७५ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?