२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

उत्सवमय उपत्यका

प्रशान्त माली

काठमाडौँ — टिलिक्क टल्केको तरवार हातमा लिएका आकाश भैरव, उनका छोरा चन्दे र छोरी कुमारे तीनै जनाले एकनासले हात हल्लाए । त्यसपछि वारपार गर्दै विभिन्न नृत्यभाव प्रस्तुत गर्न थाले । काठमाडौं दरबार क्षेत्रको यो दृश्यका पात्रहरू भने भगवान् थिएनन्, कलाकार थिए ।

उत्सवमय उपत्यका

इन्द्रजात्रा अवसरमा प्रदर्शन गरिएको यो नाच हेर्न दिनभरजसो दरबार क्षेत्रमा भीड लाग्यो । त्यस्तै देवी नाच, महाकाली नाच, इन्द्रचोकको आकाश भैरव, हनुमान ढोकाको श्वेतभैरव गुठियारले पनि आ–आफ्ना नाच प्रदर्शन गरे । लाखे आजु गुठीको लाखे नृत्यको रमझम बेग्लै थियो । यीबाहेक जात्रामा विभिन्न टोलका ३४ गुठीले आ–आफ्ना भागमा परेका सांस्कृतिक गतिविधि गरे । दिनभर दरबार क्षेत्र उत्सवमय बन्यो ।


उपत्यकाका तीन वटै जिल्ला सोमबार इन्द्रजात्रामय बनेका छन् । काठमाडौंमा जीवित देवीदेवताका रुपमा कुमारी, गणेश र भैरवलाई हर्षोल्लासका साथ रथयात्रा गराइयो । शाक्य समुदायकी एक महिलासँगै गणेश र भैरवको भेषमा दुई पुरुषलाई बेग्लाबेग्लै रथमा रथारोहण गरेर नगर परिक्रममा गराइएको थियो । रथ यात्राको पहिलो दिन वसन्तपुर दरवार क्षेत्रको दक्षिणपट्टिका टोलहरूमा परिक्रममा गरिएको छ । दोस्रो दिन मंगलबार उत्तरपट्टिका टोलहरूमा परिक्रमा गराइने चलन छ । तीनैवटा रथलाई वसन्तपुरबाट तानेर मरु, चिकंमुगल, मजिपात, जैशीदेवल, ज्याबहाल, लगन, बम्हमटोल, ह्युमत, क्व:हिटी, भीमसेनस्थान भई पुन: वसन्तपुरमा नै पुर्‍याइएको थियो ।


इन्द्रजात्रा व्यवस्थापन समिति अध्यक्ष गौतम शाक्यका अनुसार मल्ल वंशका अन्तिम राजा जयप्रकाशले कुमारी घर बनाएर जात्रालाई व्यवस्थित बनाएका थिए । ‘जयप्रकाशले नै जात्रामा राजा सवारी हुने चलन चलाएका थिए,’ उनले भने, ‘१८२५ असोज १३ गते राति इन्द्रजात्रामा रमाइरहेका बेला गोर्खाली राजा पृथ्वीनारायण शाहले कान्तिपुर आक्रमण गरे । त्यसपछि पनि यो जात्रामा राष्ट्रप्रमुख उपस्थित हुँदै गएका छन् ।’


जात्रालाई सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी, मन्त्रीहरू, विदेशी कूटनीतिक नियोगका प्रमुख लगायतले अवलोकन गरे । राष्ट्रपति भण्डारीले जीवित देवीदेवताको दर्शन गरी प्रसादसमेत ग्रहण गरिन् । नारायणहिटी दरबारको इन्द्रध्वज गणको सम्मानगारत टोलीले राष्ट्रपति भण्डारीसहितका अतिथिलाई सलामी र सम्मान अर्पण गरेको थियो ।


दरबारको गद्दी बैठक भवनअगाडि बैरोचन, अक्षोभ्य, अमोघसिद्धि, अमिताभ र रत्नसम्भव गरेर पञ्चबुद्धका भेषमा पाँच जना गुठीयारले ग: (घण्टी) बजाएर स्वागत गर्दै अगाडी बढेका थिए । टाउकामा बेगरी, शरीरमा भोटो, जामा र पटुवाले सजिएर पञ्चे बाजा बजाउने समूह छुट्टै थियो । गोरखा दक्षिणबाहु र शुभराज्याभिषेकबाट सम्मानित टोली पनि भक्तपुरको च्यामा सिंहबाट सहभागी थिए । बाटामा बौद्ध धर्मावलम्बीले वर्षभरिमा दिवंगत भएका आफन्तका नाममा मन्त्रपाठ र दियो दान गरेका थिए । साँखुका बासिन्दा पनि सांस्कृतिक बाजागाजासहित आएका ।


रथ जात्रा सकिएपछि धिमेबाजाको तालमा धुन्या (रंगीचंगी कपडाका टुक्राहरूले सिँगारेको अग्लो बाँस) घुमाउँदै इन्द्रकी आमा भनिने डागी नगरपरिक्रमा गराइएको थियो । उनका साथमा मृतकहरू स्वर्ग गएको हेर्न जाने भनी मृतकका आफन्त पनि बाटोभरि शतबीज छर्दै अगाडि बढेका थिए ।


अन्तिम दिन असोज १२ मा महिलाहरूले रथ तानेपछि जात्रा सकिन्छ । राजप्रतिनिधिको रूपमा मल्लकालीन राजखड्ग कुमारीको रथमा राखिएको थियो । इन्द्रजात्राका बारेमा पुराणहरूमा उल्लेख भएअनुसार प्राचीन युगमा देव र दैत्यबीच युद्ध चल्यो । युद्धमा जाने बेला त्रिदेव र देवगणले इन्द्रलाई विजयी हुने आशीर्वाद दिँदै ध्वजा दिएर पठाए । युद्धमा दैत्यसँग इन्द्रको फौजले जित्यो । त्यही बेलादेखि इन्द्रजात्रा मनाउन सुरु भयो । शाक्यले भने, ‘यही बेलादेखि चंगा उडाउन सुरु हुन्छ । चंगा उडाउनुको संकेत इन्द्रलाई स्वर्ग पुर्‍याइयो भन्ने हो ।’ इन्द्रध्वजा ठड्याएपछि इन्द्र पृथ्वीमा आई सात दिन बस्ने र ढालेपछि स्वर्ग फर्कन्छन् भन्ने जनविश्वास छ ।


यो जात्रा ललितपुर र भक्तपुरमा पनि टोलटोलमा भैरवको मूर्ति स्थापना गरेर ‘क:थो’ (कालो जाँड) र समयबजी (प्रसाद) वितरण गरेर मनाइन्छ ।

प्रकाशित : आश्विन ९, २०७५ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?