३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

फेरिँदै इन्द्रजात्रा

हिमेश

काठमाडौँ — येँया पुन्हि । अर्थात् इन्द्रजात्रा । काठमाडौं सहरको नामसँग जोडिएको विशिष्ट सांस्कृतिक पर्व हो, यो । येँया पुन्हि र इन्द्रजात्रामा फरक छ भन्ने पनि नभएका होइनन् । जे भए पनि यो जत्तिको समृद्ध पर्व अरू विरलै होला ।

फेरिँदै इन्द्रजात्रा

किनभने इन्द्रजात्राले समयअनुसार आफूलाई फेरेको छ, त्यसैले यो समृद्ध छ । अनि उत्तिकै जीवन्त पनि । समयको अन्तरमा यसमा केही न केही थपिएका छन्, केही त हराएर गएका पनि छन् ।


यी सबैले यो पर्वलाई साँच्चै विशेष बनाएका छन् । पछिल्लो समय यो उत्तिकै आधुनिकपन प्रवेश गरेको पर्व पनि भएको छ । कुल आठ दिन चल्ने यो पर्वमा सबैलाई लोभ्याउने गर्छ, पुलुकिसीले । ऐरावत हात्ती भने पनि हुन्छ, यसलाई । सेतो छ, यो हात्ती । इन्द्रको वाहन पनि मानिन्छ यसलाई । किलागलबाट निस्कने यो पुलुकिसीको आधुनिक रूपलाई हुलमुल खुबै मन पर्छ । अलि उपद्री खालको छ, यो ।


महिलाहरू पुलुकिसी आयो भने भाग्ने गर्थे, बचाउमा । तर अचेल यही पुलुकिसीलाई महिलाले नै डोहोर्‍याउन थालेका छन् । यसअघि यस्तो अवसर पुरुषलाई मात्र थियो । किलागलनजिकको इटुंबहालकी रेखा शाक्य हातमा चिराग लिएर पुलुकिसीलाई घुमाउने गर्छिन् । अब महिलालाई पुलुकिसीको के डर ? हुन पनि येँया पुन्हि धेरै अर्थमा महिलासँगै जोडिन्छ नै ।

जस्तो, यिनै पुलुकिसीको सुरुवाती रूप पारिजातको फूल चोर्न काठमाडौं झरेका इन्द्रलाई लिन आएका ऐरावत हात्ती थिए । किंवदन्तीले यस्तै भन्छ । इन्द्र आफ्नी आमा वसुन्धराका लागि त्यो फूल लिन आएका थिए । पछि चोरी आरोपमा समातिए । हात्ती आफैं पनि समातियो । यस्तै जनविश्वास छ । रेखालाई पुलुकिसी डोर्‍याउँदा खुबै मज्जा आउँछ, विशेष भएको अनुभव गर्छिन् । ‘सांस्कृतिक रूपमा महिलाको स्वतन्त्रतासँग यसलाई जोड्न मिल्छ,’ रेखा भन्छिन् ।


शुक्रबार इन्द्रजात्राको अन्तिम दिन । त्यो भनेको, नानिचा: यायेगु । राणाकालमा थपिएको हो, यो । यस दिन फेरि एकपल्ट रथ तानिन्छ । त्यही किलागल टोलमा जुद्धशमशेरकी एउटी प्रेमिका थिइन् । तिनै नानिचा:को अनुरोधमा नरदेवी, भेडासिंह, किलागल, इन्द्रचोक, मखन हुँदै फेरि वसन्तपुरमा रथयात्रा सुरु भयो । अचेल यो अझ विशेष भएको छ । यो दिन रथ तान्ने काममा सहभागी हुन्छन्, खालि महिला मात्र ।


कुनै समय थियो, इन्द्रजात्राका बेला महिला अहिलेजस्तो खुलेर बाहिर आउन डराउँथे । तिनको काम सके घरबाटै रथ तानेको हेर्नु हुन्थ्यो । एक समय रथ तान्ने डोरी महिलाले छुन नहुने विश्वास पनि थियो । अहिले समय फेरिएको छ, तिनै महिला अब रथ तान्ने भएका छन् । नानिचा: यायेगुमा महिलाले मात्र रथ तान्ने क्रम सुरु भएको २०६९ सालयता मात्र हो । यो नेपालको सांस्कृतिक इतिहासकै युगान्तकारी परिवर्तन हो । सामुदायिक रूपमा लामो छलफलपछि मात्र महिलाले रथ तान्न पाउने भएका थिए ।


जति बेला महिलाले पनि रथ ताने, अब यो पुरुषको मात्र काम रहेन । ‘पोहोर कुमारीको रथ तान्नेमा म पनि थिएँ,’ मखनकी श्रेया श्रेष्ठले भनिन्, ‘कसैका लागि यो निकै सानो, केही न केही अर्थको काम हुन सक्छ, तर मेरा लागि निकै ठूलो उपलब्धिजस्तै थियो । मैले एकातर्फ यसबाट अनुपम अनुभव गरें, अर्कोतर्फ महिला पुरुषबीच समानताको पनि अनुभूति गरें । कसैलाई यसले दिएको सन्देश सानो लाग्न सक्छ, तर कालान्तारमा यसले ठूलो महत्त्व राख्नेछ । त्यसैले पनि मलाई यो पर्व खुबै मन पर्छ ।’


अचेल टोल, छिमेकमा साथीहरूको समूहजस्तै बनाएर रथ तान्ने चलन पनि बढेको छ । कुमारीको रथ तान्ने भित्री सहरका जति पनि टोल छन्, आजभोलि त्यहाँ कुमारीसँगै गणेश र भैरवको पनि रथ तानेको अनुभव भएका युवा महिला बाक्लै भेटिन्छन् ।


येँया पुन्हिमा पछिल्लो समय फेरिएको अर्को चलन हो, हाथा हायेगुमा महिलाको सक्रिय सहभागिता । यसपल्ट त काठमाडौंकी उपमेयर हरिप्रभा खड्गीले पनि सहभागिता जनाइन् । पहिले यो पनि पुरुषमै सीमित थियो । त्यति मात्र कहाँ हो र ? पुरुषमा पनि केही आँटिलाले मात्र हुलबीच अगाडि बढेर हाथु द्य: अर्थात श्वेतभैरवको मुखबाट बगेको जाँड–रक्सी खान सक्थे । अचेल यसमा महिलाको उस्तै सक्रिय सहभागिता छ । येँया पुन्हिको सात दिन जाँड खुवाइन्छ, एक दिन रक्सी । सांस्कृतिक रूपमा जाँडरक्सी भनेको सगुनको प्रतीक हो । भैरवको मुखबाट आएको यही जाँडरक्सी खाने मान्छे बिरामी नहुने मानिन्छ ।


यो अवसर यसअघि पुरुषले मात्र पाइरहेका थिए, अब महिलाले पनि पाए । यसको सुरुआत भएको पनि धेरै भएको छैन, छ–सात वर्ष मात्र हो । महिलाले रथ तान्ने क्रम सुरु भएयता हाथा हायेगु पनि समावेशी बन्यो । माथिल्लो टोलमा रथ तान्ने दिन महिलाले मात्र यसरी पवित्र जाँड–रक्सी खाने गर्छन् । ‘यो पनि सांस्कृतिक रूपमा ठूलै परिवर्तन हो,’ संस्कृतिविद् सुजनविलास वज्राचार्य मान्छन्, ‘अब साँच्चै येँया पुन्हि पुरुषको मात्र रहेन, महिलाको पनि बराबरी हक भएको छ ।’


सायद यो परिवर्तनको परम्परा आउन ढिलो पो भएको हो कि ? हुन पनि येँया पुन्हिको सबभन्दा केन्द्रमा कुमारी छन् । पूरा पर्व धेरै हदसम्म कुमारीमै केन्द्रित छ । आखिरमा यो पनि एक महिलाले देशका लागि दिएको समर्पण र मायाको प्रतीक हो । परापूर्व कालमा दैत्यको मायामा फसेकी युवतीले आफ्नो देशको रक्षाका लागि आफ्नो प्रेमलाई बलिदान त दिइन नै, सँगै कहिल्यै विवाह नगर्ने प्रण पनि गरेकी थिइन् ।


येँया पुन्हिको अर्को आकर्षण हुने गर्छ, लाखे । किंवदन्तीअनुसार धेरै अगाडि यतै मजिमातकी एक राम्री युवतीसँग कुनै राक्षसको माया बसेछ । उनीहरूको विवाह पनि हुने भयो । यसका लागि सर्त राखियो, राक्षसले टोल छिमेकको रक्षा गर्नुपर्ने । राक्षस तयार भयो । एक युवतीको मायामा परेको राक्षससँगै सुरु भयो, लाखेको परम्परा । अब येँया पुन्हिमा महिला–पुरुष दुवैको सहभागिता बराबरीजस्तै हुँदा मायामा परेका युवती र राक्षससँगै यो पर्वसँग जोडिएका सबै पात्रलाई खुसी लाग्दो हो ।

प्रकाशित : आश्विन १३, २०७५ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?