कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

कहाँ गए ती पोस्टकार्ड

सुनिता साखकर्मी

काठमाडौँ — कुनैमा बुद्ध, कुमारी, मैथिल कला त कुनैमा गैंडाका चित्र । केही वर्ष पहिलेसम्म बांगेमुढाका लालबहादुर श्रेष्ठको पसलमा दसैं आसपास यस्ता चित्र अंकित पोस्टकार्ड किन्नेको भीड लाग्थ्यो ।

कहाँ गए ती पोस्टकार्ड

दसैंतिहारमा प्रियजनलाई शुभकामना आदानप्रदान गर्न नेपाली कागजका पोस्टकार्ड निकै प्रयोग हुन्थे ।

तर प्रविधिको विकाससँगै यो चलन उहिलेको कुरा भएको छ । ‘पोस्टकार्ड शुभकामना आदानप्रदान गर्ने माध्यम हो,’ लालबहादुरले भने, ‘अहिले फेसबुक र भाइबरबाट सजिलो तरिकाले, पैसा खर्च नगरी शुभकामना दिन मिल्ने भएकोले पोस्टकार्डको चलन हरायो ।’

५४ वर्षे लालबहादुरको पुख्र्यौली पेसा नै नेपाली कागजका सामानहरू बेच्ने हो । उनीहरूका लागि दसंैमा पोस्टकार्ड र पोस्टरको सिजनै हुन्थ्यो ।केही वर्ष अघिसम्म दसैंको आसपासमा विभिन्न भगवान्, सेलेब्रिटी, प्राकृतिक सौन्दर्यका पोस्टकार्डहरूसँगै पोस्टरहरू पनि बजारमा छयापछयाप्ती पाइन्थे । घरका भित्ता सजाउन यो प्रयोग हुन्थे । तर अहिले यसले पनि बजार पाउन छाडेको छ ।

लालबहादुरका अनुसार काठमाडौंमा कागजका प्रिन्टेड पोस्टकार्ड र पोस्टरहरू आएको धेरै भएको छैन । पहिले काठमाडौंमा नेपाली कागजमा चित्रकारहरूले हातैले बनाएका चित्रसहितका पोस्टकार्डहरू बिक्रीवितरण हुन्थे । सन् १९८० तिर देखि विदेशी पर्यटक नेपाल भित्रिने क्रम बढेसँगै प्रिन्टेड पोस्टकार्ड र पोस्टरहरू पनि नेपालमा आउन थालेको उनको अनुभव छ ।

रोयल पोस्टकार्ड
दसैं नजिकिँदै गर्दा लालबहादुरलाई भने ‘रोयल पोस्टकार्ड’ को झझल्को आउँछ । सर्वसाधारणले राजा र राजकुमारहरूलाई दसैंको शुभकामना दिनका लागि रोयल पोस्टकार्ड पठाउने गर्थे । ‘नेपाली कागजले बनेको यो पोस्टकार्ड सामान्यभन्दा ठूलो हुन्थ्यो,’ उनले भने, ‘सर्वसाधारणले सीधै राजा वा राजकुमारहरूलाई आफ्नो शुभकामना सन्देश लेखेर दरबार पठाउँथे ।’

यसरी राजालाई सम्मानसँगै अपनत्व महसुस गराउने तरिका थियो । राजा हुँदासम्म यो परम्परा चल्यो । तर राजतन्त्र हराएसँगै नेपाली कागजको रोयल पोस्टकार्ड पनि हरायो । यस्ता पोस्टकार्ड लालबहादुरको परिवार आफंैले बनाउँथे । दसैंको शुभकामना मात्रै नभई राजाको जन्मदिन, नयाँ वर्ष लगायतमा पनि बधाई र शुभकामना पोस्टकार्डमार्फत नै प्रदान गरिन्थ्यो । ‘पोस्टकार्डको माध्यमबाट सर्वसाधारणका कुरा दरबार पुग्थे,’ उनले भने ।

पहिले नेपाली कागजमा चित्रकारहरूले हातैले लेखेको पोस्टकार्डको प्रयोग हुन्थ्यो । जब विदेशीले फोटो, भिडियो विकास गरे, तब प्रिन्डेट पोस्टकार्ड र पोस्टरहरूको कन्सेप्ट बिस्तारै नेपालमा पनि आयो । ‘सुरुसुरुमा नेपालमा यी निकै महँगा थिए । विदेशबाट ल्याउनुपर्ने भएकोले यो महँगो भएको हो,’ उनले भने, ‘त्यसैले प्रिन्ट गरेर फोटो र पोस्टर भित्तामा टाँसिनु प्रेस्टिजको कुराजस्तै हुन्थ्यो ।’

त्यति बेला प्राकृतिक दृश्यहरू, कलाकार, गायकका तस्बिर पोस्टकार्ड र पोस्टरका विषय बन्थे । पछि प्रतिस्पर्धा भएर सस्तोमा आउन थालेपछि भने प्रिन्टेडले नै नेपाली कागजको पोस्टकार्ड र पोस्टरको बजार लियो । टेक्नोलजी विकास भएसँगै अहिले प्रिन्टेड पोस्टकार्डको पनि बजार हराएको छ । अहिले पीभीसी, ग्लास, पेपर लगायतमा समेत डिजिटल रूपमा प्रिन्ट गर्न थालेपछि भने यस्ता पोस्टकार्ड र पोस्टर पनि हराउँदै गएको लालबहादुरको अनुभव छ ।

प्रिन्टेड भर्सेज डिजिटल
बांगेमुढा चोकमा रहेको एउटा सानो पाटीमा पवन तुलाधर र सीता महर्जन पत्रिका र पोस्टर बिक्री गर्दै आएका छन् । विभिन्न भगवान्देखि चर्चित विदेशी गायकगायिका, ब्यान्डको पोस्टरहरू उनको पसलमा छ । उनीहरूले पहिले पत्रिका मात्रै बेच्थे, तर पोस्टरको माग पनि बढ्दै गएकोले उनीहरूले पोस्टर पनि बेच्न थाले । तर डिजिटल युग सुरु भएसँगै अहिले उनीहरूको पोस्टर निकै कम मात्रै बिक्री हुन्छन् ।

‘डिजिटल सामग्रीहरूको कारण हाम्रो व्यवसाय त निकै कम भयो,’ उनले भने, ‘टेक्नोलजीसँग कागजको सामानले प्रतिस्पर्धा गर्न सक्दैन रैछ ।’ अहिले हातहातमा स्क्रिन टच मोबाइल र विश्वका विभिन्न पोस्टर र फोटोहरू हातमा पाउन थालेपछि प्रिन्टेड पोस्टरको माग कम भएको उनले सुनाए ।

‘दसैंमा भगवती लगायत देवीदेवताको पोस्टर बिक्छन् अनि अल्लारे ठिटाहरूले गायकगायिकाको पोस्टर किन्छन्,’ ५७ वर्षे सीताले भनिन्, ‘बिक्री त खासै हुन्न । अरू काम गरूँ भने छैन, त्यसैले टाइमपास भए पनि हुन्छ भनेर बसेको हो ।’ उनले दिक्क मान्दै भनिन्, ‘यो व्यापार गरेर केही टर्दैन ।’दसैंमा भगवान्का पोस्टर बिक्री भएर अलिकति व्यापार हुन्छ नत्र कहिलेकाहीँ झुक्किएर व्यापार हुने सीताले सुनाइन् ।

नक्कली नेपाली कागज
कलालाई कमर्सियल बनाई बिकाउने नाममा सस्तो नेपाली कागज उत्पादन गर्ने प्रतिस्पर्धाका कारण नेपाली कागजको सामानको क्वालिटी भने ह्रास हुँदै गइरहेको लालबहादुरले बताए । त्यसले गर्दा यसमा गरिने आर्टको महत्त्व पनि घटदै गएको उनले महसुस गरेका छन् । ‘पहिले प्राकृतिक रंगहरू कोरेर नै राम्रा राम्रा आर्ट बनाइन्थे,’ उनले भने, ‘तर अहिले झट्ट हेर्दा राम्रो लाग्ने भएपछि मात्रै किन्छ । सँच्चा कलाको महत्त्व बुझ्ने नै भएनन् ।’ अहिले मानिस ‘युज एन्ड थ्रो’ को रूपमा कागजलाई प्रयोग गरेर क्वालिटीभन्दा नि कागजको चमकधमक हेरेर किन्छन् र प्रयोग गर्ने आरोपसमेत उनले लगाए ।

नेपालमा जर्मन प्रोजेक्ट सुरु हुँदा नेपाली कागजका सामानको व्यापार विदेशी भूमिमा समेत फैलिएको लालबहादुरले सुनाए । उनले भने, ‘पहिले विदेशीहरूले नेपालको नेपाली कागज निकै रुचाए । धेरै निर्यात हुन्थ्यो । तर पछि बिकाउने नाममा मिसावट गरेर नेपाली कागज बनाउन थालेपछि विदेशमा निर्यात भएन ।’ अहिले बजारमा शुद्ध नेपाली कागज पाउनै मुस्किल भएको उनले दु:खेसो पोखे ।

लेकमा पाइने लाक्टो प्रजातिको रूखको बोक्राले नेपाली कागज बनाइन्छ । यसको आयु पनि धेरै लामो समय हुन्छ । यसलाई हत्तपत्त यो कीराले खान सक्दैन । हलुका हुने भएकाले प्रयोग गर्न पनि सहज हुन्छ । लालबहादुरले उदाहरण दिँदै भने, ‘सयौँ वर्षपहिले लेखिएका पुस्तकहरू अझैसम्म पनि पाइन्छन् । मिसावट नगरी बनाएका नेपाली कागज धेरै टिक्छ ।’

लेकमा पाइने लोक्ता वनस्पति बचाउनका लागि सरकारले कुनै कदम नचालेको उनले गुनासो पोखे । मानिसको लागि यसबाट बनेको कागजमा मन्त्र लेखेर तान्त्रिकहरूले बिरामी मानिसलाई खुवाएर पनि रोग निको पार्ने गरेकोमा अहिले बजारमा पाइने नेपाली कागज मानिसले खानै नहुने लालबहादुरले बताए ।

‘अहिले नेपाली कागज बनाउन कास्टिक सोडा प्रयोग गरिन्छ,’ उनले भने, ‘यो खायो भने मानिसलाई नराम्रो हानी गर्छ । यो लामो समयसम्म पनि टिक्दैन ।’ मिसावटकै कारण विदेशमा निर्यात हुने सामानको व्यापार धराशायी बनेको उनले सुनाए । नेपाली कागजको टोपी, ज्वारकोट, लुगा बनाउन मिल्ने भए पनि अहिले पाइने मिसावटी नेपाली कागजको कारण यस्ता सामानको पनि लोकप्रियता घटयो ।

यसबाट स्टेसनरी गिफ्ट आइटम पनि बनाउन मिले पनि अहिले भने यसको मार्केट डाउन भएको उनले बताए । अहिले बैंकहरूले चाडवाडको अवसरमा गिफ्ट राखेर दिनको लागि प्रयोग गर्ने सामान लालबहादुरहरू बनाउँछन् । फेसन डिजाइनिङ गर्नेले स्केप बुकका लागि नेपाली कागजकै खोज्न थालेको उनले बताए ।

‘लामो समयसम्म टिकाउनका लागि उनीहरूको रोजाइमा यो परेको हो,’ उनले भने, ‘होटलहरूमा मेनु, ब्रोसर नेपाली कागजकै बनाउने गरेका छन् ।’

प्रकाशित : आश्विन १४, २०७५ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?