कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

धिमेलाई काँध थाप्दै तन्नेरी

सुनीता साखकर्मी

भक्तपुर — जमाना संगीतको छ । ज्याज, पप सुन्ने कि, ल्याटिनो फ्लेभर, हिन्दी या नेपाली ? नयाँ पुस्ता यति भाग्यमानी छ, संसारभरका सांगीतिक स्वाद चाख्न अब स्मार्ट फोनमा औंला मात्रै चलाए पुग्छ  ।

धिमेलाई काँध थाप्दै तन्नेरी

यही पुस्ताकी अस्मिता श्रेष्ठ भने हालैको एक बिहान धिमे बोकेर चाँगुनारायण परिसर पुगेकी थिइन् ।


चाँगुकै यी १५ वर्षीया अस्मिता साथीहरूसित धिमे बजाउन तँछाडमछाड गर्दै थिइन् । पालैपालो उनीहरूले दुई घण्टा धिमे बजाए । कक्षा ११ मा कम्प्युटर साइन्स पढदै गरेकी उनले एक वर्ष भयो धिमे बाजा बजाउन सिकेको । बिहान छ बजेदेखि स्कुलको पढाइ अनि स्कुलबाट फर्किएर बेलुका पाँच बजेदेखि सात बजेसम्म निरन्तर धिमे बाजा सिक्दा उनीहरूलाई धेरै गाह्रो भएको थियो ।


‘त्यो वर्ष एसईईको गोल्डेन गेट पार गर्नुपर्ने अनि धिमे बाजा सिक्दाको कडा नियम, दुवैको चटारो थियो,’ पोहोर धिमे सिक्दै गर्दाको क्षण सम्झिँदै उनले भनिन्, ‘इच्छा भएपछि गर्न सकिँदो रहेछ, दुवैलाई म्यानेज गरियो ।’


धिमे सिक्ने चाहकै कारण उनले रातिराति पढेर एसईई पास गरिन् । नासद्यो (नाच देउता) स्थापना गरी सिक्दा बाहिरको मान्छे भित्र्याउन नहुने, देवतालाई छोपेर राख्नुपर्ने र बेलुका घरबाट गएर बत्ती दिनुपथ्र्यो । नयाँ बोल सिक्दा पुन: पूजा गर्नुपथ्र्याे । यस्ता कडा नियम पालना गरेर उनले धिमे बजाउन सिकिन् । उनी लगायत ५४ जनालाई चाँगुनारायण विकास समितिले हालै धिमे सिकाएको थियो । सुरुमा सिक्दा ५४ जनाजति भए पनि पछि घट्दै गएर २० जनाजति बाँकी रहे । कतिले गाह्रो भएर र कतिले समय दिन नसकेर छोडेको अस्मिताले बताइन् । धिमे पहिले सिक्दा गाह्रो भए पनि पछि भने बिस्तारै हात बस्दै जाँदा सजिलो लाग्न थालेको उनको अनभुव छ ।


१८ वर्षे वंशगोपाल शाही पनि त्यही टोलीमा थिए । उनलाई सानैदेखि बाजा बजाउन र बाजा बजाएपछि निस्कने धुनले मोहित पाथ्र्याे । त्यही धुनको मोहले नै अहिले उनलाई सिक्ने थलोसम्म पुर्‍यायो । उनका अनुसार यो बाजा चाँगुमा लगभग लोप नै भइसकेको थियो । भूकम्प जानुअघि समितिले एउटा टोलीलाई धिमे सिकाएको भए पनि त्यसले निरन्तरता पाउन सकेको थिए । पोहोरबाट फेरि सिकाइ थालियो । भक्तपुर बजारका गुरु लक्ष्मीप्रसाद बनमालाले उनीहरूलाई धिमे सिकाए । ‘माँ’, ‘कचामचा’, ‘गुँ’, ‘छुमा’, ‘छिना’ लगायत २० बोलका सयौँ काइदा उनीहरूले सिकेका छन् । परिवारबाट उनीहरूलाई पढाइ बिग्रने गरी सिक्नु हुन्न भनेका थिए ।


अन्यत्र जात्राहरू बाजा बजाएको देख्दा उनलाई आफ्नो ठाउँमा पनि यस्तै भएको भए हुन्थ्यो भन्ने लाग्थ्यो । उनी प्राय: सबै बाजाहरू बजाउनतिर लाग्ने सोचेका छन् । उनले धिमे सिकिसकेपछि गितार, हार्मोनियम, तबला, बाँसुरी, न्याखिँ बजाउन जानिसके । गितार आफंै सिके, अन्य भने उनले गाउँका बूढापाकासित सिके । केही भने उनले हेर्दाहेर्दै सिके । धिमेसित भुच्छया र शिछया पनि बजाउनुपर्छ ।


धिमेको बोलसित मिल्ने गरी यी दुई बाजाहरू बजाउनुपर्ने वंशगोपालले बताए । तिहारको म्हपूजाको दिनमा उनीहरूले यी दुवै बाजा बजाउनुपर्छ । आमाको मुख हेर्ने दिनमा चाँगुनारायणमा विशेष उत्सव हुन्छ, त्यति बेला उनीहरू चाँगुनारायण बोल बजाउँछन् । धिमेको तालमा मानिसहरू नाचिरहेको देख्दा वंशगोपाललाई खुसी लाग्छ ।


‘नाचेन भने त नाटक गरिरहेको जस्तो मात्रै हुन्छ,’ उनले भने, ‘मानिसहरू जति जोसले नाच्छन्, त्यति नै बजाउन पनि जोस निस्किन्छ ।’ हेर्ने मान्छे भएन भने बजाउनै मन नलाग्ने
उनले बताए ।


विकास समितिका तर्फबाट व्यवस्थापनको जिम्मा सम्हालेका ४८ वर्षे रमेशबहादुर श्रेष्ठका अनुसार चाँगुमा पहिलेदेखि नै धिमे बाजा थियो । आयस्रोतको अभाव र सिक्नेहरू नभएपछि बीचमा केही समय रोकियो । धिमेबाजा बचाउनुपर्छ भन्दै भूकम्पअघि एक गु्रपलाई उनीहरूले सिकाएका थिए । पोहोर पनि साउन १ गतेदेखि ६ महिना सिके । ६ महिना सिकाउँदा उनीहरूको समितिको २ लाख खर्च भयो र सिक्नेहरूले १६ वटा जति बोल सिके । उनीहरूले सिकाउनका लागि नगरपालिकाकालाई पनि सघाउन गुहारे । तर सहयोग भने भएन ।


‘सिकाउनु अघि नै दिन्छु भनेको थियो,’ उनले भने, ‘सिकाएर एक वर्ष नाघिसक्यो, दिएको छैन । दिन्नँ कहिल्यै भन्दैन, तर अहिलेसम्म दिएको पनि छैन ।’


धिमे बाजाका बोलहरू ठाउँअनुसार फरक रहेको उनले बताए । ‘ठाउँअनुसार धिमेका बोलहरू बजाइन्छन्,’ उनले भने, ‘त्यसैले उपत्यकाका धिमे बाजाहरू फरकफरक छन् ।’


उनका अनुसार पहिले बजाउन जान्नेहरू कोही बिते, कोही बूढा भए । नयाँ युवालाई सिकायो भने अझै केही दशक कला बाँच्छ भन्ने उनको अनुमान छ । चाँगुबाटै ढोलक, पञ्चैबाजा, काँजस्ता परम्परागत बाजा लोप भएको उनले बताए । धिमे बजाउने टोली चाँगुमा मात्रै नभई भक्तपुरका नेवार टोलहरू, काठमाडौं र ललितपुरका नेवार टोलहरूमा पनि प्रशस्तै भेटिन्छ ।


पाटनको जाबहालका रविन महर्जनका अनुसार पाटनमा मात्रै ४०–४५ वटा धिमे समूह छन् । अहिले युवाहरूले यो बाजा सिक्नको लागि प्रोत्साहित भएको उनले बताए । ‘पुरानाभन्दा ’नि नयाँ धेरै छन्,’ ४१ वर्षे रविनले भने, ‘यो बजाएरै मनोरञ्जन लिने गरेका छन् ।’


जुनसुकै उत्सवमा पनि बजाउन मिल्ने भएकोले यसमा युवाहरूको आकर्षण बढेको हुन सक्ने उनको ठम्याइ छ । पहिले यो बाजा महिलाहरूलाई बजाउन दिन नहुने भन्नेमा अहिले भने महिलाहरूले पनि उत्तिकै सिक्ने गरेको उनले बताए । उनले पनि २०५० देखि नै धिमे बाजा बजाउँदै आएका छन् ।

प्रकाशित : आश्विन २५, २०७५ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?