कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

पुर्खाको सीप र तेस्रो आँखा

मधु शाही

काठमाडौँ — तामाको पाता कुटेर विभिन्न भाँडाकुँडा बनाएको देखेरै चित्रकार एरिना ताम्राकारको बाल्यकाल हुर्किएको थियो । हजुरबादेखि बुुबाले समेत ज्यासल (काम गर्ने थलो) मा बसेर दिनभर तामा कुटदै कलात्मक भाँडा बनाउँथे ।

पुर्खाको सीप र तेस्रो आँखा

इतिहासको कुनै विन्दुमा तामाको काम गर्ने भएकाले उनका पुर्खाले थर नै पाएका थिए ताम्राकार । यही थर बोकेर हुर्किएकी एरिनाले भने पुर्खाको पेसा अँगालिनन्, उनी लागिन् आधुनिक चित्रकलातिर, जहाँ उनले आफ्नो सुनाम बनाएकी छन् ।


नेपाली आधुनिक चित्रकलामा उनले आफ्नो स्थान त फराकिलो बनाइन् तर तामामा पोखिएको पुर्खाको सीप र त्यसप्रतिको लगाव भने भुल्न सकिनन् । यतिबेला उनै एरिनाले आफ्नो पुख्र्यौली धरातललाई चित्रबाटै सम्झेकी छन् । ‘तेस्रो आँखा’ सिरिजमा चित्र कोरेर चर्चा कमाएकी एरिनाले यतिबेला यही सिरिजअन्तर्गत पुख्र्यौली कलाको सम्झना गरेकी हुन् । उनले तामाको पातामा कुुटेर तेस्रो आँखा प्रतिबिम्बित महिला अनुहारहरू उतारेकी छन् आफ्नो पछिल्लो कलामा ।


ठमेलस्थित ‘दलाइला आर्टस स्पेस’ ग्यालरीमा एरिनाको १७ औं एकल कला प्रदर्शनी जारी छ । ‘ज्यासा : फाइन्डिङ्स रुट्स’ थिममा उनले पुुर्खा र आफ्नो कला मिश्रण गरेकी छन् । बाउबाजेले तामा पिटेर भाँडा बनाउन गरेको कार्य पनि एक प्रकारको कला थियो भन्ने उनलाई लाग्छ । अहिले चार पुुस्ता बितिसक्दा तामाका त्यस्ता कलाकात्मक भाँडा घरमै बनाउने चलन हटिसक्यो, सबैतिर रेडिमेड बजार हाबी छ ।


बजारको सहज उपलब्धताकै कारण नेपाली मौलिक पहिचान संकटमा पर्दै गइरहेको समय उनको प्रदर्शनीले निकै ठूलो अर्थ राख्छ । ‘मलाई अझै पनि बाउबाजेले तामा पिटदा आउने टिङ–टिङ आवाज कहींकतैबाट गुन्जिरहेको झैं लाग्छ’, ग्यालरीमै भेटिएकी एरिना नोस्टाल्जिक बनिन्, ‘एकछिन् घोरिन्छु, त्यतिबेलाको दृश्य दिमागमा आउँछ । एक हिसाबले रमाइलो लाग्छ ।’


प्रदर्शनीमा राखिएका मध्ये १० कलाकृति तामाको पाता कुटेर बनाएको इमेजमा आधारित छन् भने अन्य १० वटाचाहिँ तेस्रो आँखा सिरिजका चित्र छन् । आधुनिक पुस्ता जति माथि उठे पनि आफ्नो धरातल भुल्नुु हुँदैन भन्ने सन्देश एरिनाका कलाले दिन्छ । तेस्रो आँखाको थिममा बनाइएका चित्र भने उनको आफ्नै सिग्नेचर शैली हुन् ।


नारी स्वरूपमा विभिन्न भावभङ्गी झल्किने आकृति चित्रहरूमा पाइन्छ । खासगरी रातो, गोल्डेन मिक्स रंगका चित्रले विशेष आकर्षण दिन्छ । फूलका बुट्टाभित्र निरस र उदासीन नारी पात्र एरिनाका क्यानभासमा प्राय: देखिन्छ । कतै अनुहार च्यातिएको जस्तो टेक्सचर पाइन्छ । उनका कलाको केन्द्र विन्दु भने आँखा हुन् । लाम्चा र मौन आँखाले चित्रको मर्म खुलाएको महसुस हुन्छ ।


एरिनाका अनुसार ‘मान्छेको मनभित्र के चलिरहेको छ ?’ भन्ने थाहा पाउन आँखा नियाल्दैमा काफी हुन्छ । त्यसैले उनी क्यानभासमा विषय प्रस्टाउन आँखामै बढी केन्द्रित हुने गर्छिन् । तेस्रो आँखा बाहिरी दुनियाभन्दा फरक नजरको हुन्छ । बाहिर जे देखिन्छ त्यो भित्र हुँदैन । त्यही भएर उनले चित्रकलामा ‘तेस्रो आँखा’ सिरिज थालेकी हुन् ।


थिम एउटै भए पनि एरिनाले प्रस्तुतिमा केही फरक बिम्बहरू देखाउने प्रयास गरेकी छन् । एउटै महिलाको अनुहारमा हरेक प्रकारका भावना पस्किने कोसिस उनले गरेकी छन् । हेर्दा रमाइलो र कलात्मक देखिए पनि उनका चित्रका नारी पात्रले कुुण्ठित मनोदशा बोकेको देखिन्छ ।


मौन तर भित्री मनको संवादको उनको क्यानभासमा आभास हुन्छ । तामाको पातामा कला सिर्जना गर्ने कार्यको अवधारणा भने मनिषलाल श्रेष्ठको एमक्युुब ग्यालरीमा एक महिना आवासीय कला वर्कसपको बेला बनाएकी हुन् ।


एक महिनासम्म चल्ने प्रदर्शनीमा ३५ हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्मका कलाकृति राखिएका छन् ।

प्रकाशित : आश्विन २६, २०७५ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?