२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

पाटनमा नाच्दै छन् अष्टमातृका

प्रशान्त माली

ललितपुर — पाटनमा नाचिने अष्टमातृका नाच समूहका नरेन्द्र वज्राचार्यले दुई दशकदेखि पोंगा बाजा बजाउँदै आएका छन्  । यस वर्ष भने ४७ वर्षीय उनकी आमाको निधनले गर्दा बजाउन मिलेन  ।

पाटनमा नाच्दै छन् अष्टमातृका

संस्कृति अनुसार उनकै छोराहरूले पोंगा बजाउनुपर्ने हो तर वज्राचार्यका दुई छोरामध्ये १७ वर्षीय जेठा निकेश कुमारी देवगण भएर नाच्नुपर्छ भने कान्छा आयुश ७ वर्षका मात्रै छन् ।

वज्राचार्य र शाक्य समुदायले मात्रै बजाउने बाजा नरेन्द्रको सट्टामा बजाउने गुठियार नभएपछि सबैमा चिन्ता पर्‍यो । अन्तत: ३८ वर्षीय सम्यक वज्राचार्य अग्रसर भए । सम्यक नरेन्द्रकै काकाका कान्छा छोरा हुन् । उनले अहिलेसम्म बाजा बजाएका थिएनन् । ‘बजाउने कोही नभएपछि म अघि सरें,’ सम्यकले भने, ‘संस्कृति बचाउन भए पनि यसलाई निरन्तरता दिनुपर्छ ।’

नकबहिलका १३ वर्षीय आर्यन वज्राचार्य पनि कुमारी नाच्न तयार भए । उनी स्कुले विद्यार्थी हुन् । बुबा राजेश ‘सिंघिनी देवगण’ बाट गत वर्ष अवकाश भएपछि कला संस्कृति बचाउन आर्यन पनि कलिलै उमेरमा नाचमा सहभागी हुने भए । आर्यनले भने, ‘पढाइपछिको फुर्सदिलो समयको सदुपयोग गरेका छौं ।’

निकेश, सम्यक र आर्यन प्रतिनिधि पात्र मात्र हुन् । उनीहरूजस्तै पाटन दरबार क्षेत्रमा बडादसैंको अवसरमा नचाइने मल्लकालीन अष्टमातृका नाचलाई निरन्तरता दिन लागिपरेका छन् । नाच घटस्थापनादेखि सुरु भएर आश्विन शुक्ल एकादशीसम्म १२ दिन दरबारको मूलचोक, कात्तिक डबली र नकबहिलस्थित डबलीमा प्रस्तुत गर्ने परम्परा छ ।

नाचमा सिंघिनी, भैरव, गणेश, कुमार, ब्रह्मायणी, माहेश्वरी, कुमारी, विष्णुदेवी, वाराही, इन्द्रायणी, महालक्ष्मी, काली र व्याघिनी देवगण छन् । पोंगा, ता:, खिं को पञ्च तालमा नाच मञ्चन गराइन्छ । नाच प्रदर्शन गर्न नकबहिलस्थित नाथ गुरु मन्दिरबाट मुकुन्डो, कलेवर, गरगहना लगाएर नगर परिक्रममा गरी दरबार क्षेत्रमा पुग्ने गरिन्छ । कुमार, महालक्ष्मी, कालीले खड्ग र सिंघिनीले डमरु र व्याघिनीले घण्टा हातमा लिएका हुन्छन् ।


‘अष्टमातृकालाई नेपाल भाषामा गँ: प्याँख भनिन्छ’, नाचका गुरु बेखाराज वज्राचार्य भन्छन्, ‘नाच प्रस्तुत गर्ने देवगणले प्रत्येक दिन नुहाईधुहाई गरेर चोखो भई विधिवत् पूजा गर्नुपर्दछ । नत्र अशुभ हुने जनविश्वास छ ।’ उनले एकादशीमा गुरुजु, बेताजु, मातजुको विषेश नाच प्रस्तुत गरिने बताए । कुनै बेला नाच प्रस्तुत गर्ने प्रत्येक देवगणको आ–आफ्नै गुठी थियो ।

अहिले संरक्षणको अभावमा नाश भएर काली र वाराहीको मात्र बाँकी छ । नाच प्रबन्ध समिति अध्यक्ष राजेन्द्र शाक्य भन्छन्, ‘संस्कृति मन्त्रालयबाट दिँदै आइरहेको रकम २०७४ बाट बन्द भयो । नाच सञ्चालन गर्न कम्तीमा ६ लाख रुपैयाँ आवश्यक पर्छ । तर, ललितपुर महानगरबाट साढे चार लाख रुपैयाँ मात्र दिने गरिएको छ । अपुग रकम गुठियार आफैंले व्यहोर्दै आइरहेका छन् ।’

दसैंको अवसरमा पाटन दरबार, सुनाकोठी कोत घर र ठेचोमा नचाइने नवदुर्गा नाचका लागि पनि तयारी सुरु भएको छ । शनिबार ठेचोस्थित नवदुर्गा मन्दिरमा पाटनका चित्रकारहरू आएर मुकुटमा कला भरेका छन् । त्यसपछि नवदुर्गा गुठियारले बलिसहित पूजा गरेर मूर्ति प्रतिस्थापन गरेका छन् ।

पाटन दरबार स्क्वायरसँग सम्बन्धित लिच्छवीकालीन, मल्लकालीन र शाहकालीन तीन पर्व छन् । सबै पर्वहरू एक–आपसमा अन्तरसम्बन्धित छन् । नकबहिलको अष्टमातृका देवगणले गोदावरी नगरपालिका १२ ठेचोस्थित नवदुर्गा मन्दिरबाट दरबार क्षेत्रमा नाच प्रस्तुत गर्न आएका देवगणलाई स्वागत गर्ने चलन छ भने नवदुर्गा देवगणले अष्टमातृका देवगणलाई बिदाइ गर्ने चलन छ ।


पाटन दरबार स्क्वयारसँग सम्बन्धित लिच्छवीकालीन पर्वमध्ये मानमानेश्वरी देवीको पूजा पर्व हो । २० वर्षअघि बन्द भएको यो पर्व यस वर्ष सञ्चालन हुँदैछ । यसका लागि राजोपाध्याय, तलेजुका पुजारी, गुठी संस्थान त:बहाल कार्यालय, पुरातत्त्व विभाग, स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय, पाटन संग्रहालय र मंगल टोल सुघार समितिले प्रहरीको रोहवरमा मानमानेश्वरी देवीको मूर्ति प्रतिस्थापन गरिसकेका छन् ।

मूर्ति पाटन संग्रहालयको स्टोर रुममा राखिएको थियो । दरबार क्षेत्रसँग सम्बन्धित लोप भइसकेका नाच पुन: सञ्चालन गर्न तलेजु र मुछेँ आँगन घरका पुजारी, पाटनका नाय: बाजा, इन्द्रबाजा खल:, कुमारी घरका गुठियार लगायत पनि तयारीमा जुटेका छन् ।

सुनधाराका ७५ वर्षीय कान्छा कपाली लोप भइसकेको लिच्छवीकालीन खड्ग जात्रामा मुहाली बजाउने गुठियार हुन् । पाटन च्यासलका ७७ वर्षीय इन्द्रवीर व्यञ्जनकारचाहिँ अग्रपंक्तिमा बसेर इन्द्र बाजा बजाउने गुठियार हुन् । व्यञ्जनकार भन्छन्, ‘जात्रा गर्न आवश्यक १५ जना गुठियारद्वारा क्षमापूजा गरिसकेका छौं ।’

कायगु ननी:का गुठियारले खड्गजात्राका बेलामा बौ: (धान र चामल मिसाएर पकाएको भात) बोक्ने परम्परा छ । महालक्ष्मी मन्दिरमा राँगासहित बलि चढाउँदा बौ: अनिवार्य मानिन्छ । कायगु ननीका गुठियार ६३ वर्षीय कृष्णबहादुर महर्जनले गुठीमा प्रशिक्षण सुरु भइसकेको बताए ।

त्यस्तै यल मु:खल, कोन्ति खल:, महालक्ष्मी ध:पाला, कुमारी घर, कुम्भेश्वर मन्दिरका पुजारी, ग: प्याख: खल: नकबहिल (अष्टमातृका नाच), डंगु खल: हौगलगायत गुठियार पनि तयारी थालिसकेका छन् । ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले जात्रा पर्वलाई पर्यटनसँग जोडेर आम्दानी गरिने बताए । ‘सरकारको मात्र मुख ताकेर हुँदैन,’ उनले भने, ‘गुठियारले पनि सक्दो योगदान पुर्‍याउनुपर्छ ।’


यल सांस्कृतिक पर्व संरक्षण समिति संयोजक एंव ललितपुर उद्योग वाणिज्य संघ अध्यक्ष कृष्णलाल महर्जनले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । ललितपुर गुठी संस्थान प्रमुख शैलेन्द्र पौडेलले गुठियारहरूले समयमा प्रस्ताव गरेमा आगामी वर्ष नाच सञ्चालन गर्न जिन्सी र नगदमा समयानुकूल परिमार्जन गर्न तयार रहेको बताए ।

प्रकाशित : आश्विन २९, २०७५ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?