कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

जापान पुग्दै मिथिला चित्र

सन्तोष सिंह

धनुषा — जनकपुर उपमहानगरपालिका–४ का ५१ वर्षीय अजित साहको घर मिथिला पेन्टिङले झकिझकाउ छ । घरका कुनासमेत क्यानभास, रंग, कागज, जडीबुटीसँगै पेन्टिङले भरिएका छन्  ।

जापान पुग्दै मिथिला चित्र

उनलाई चाहिँ किन चटारो छ भने अबको दुई सातापछि उनी ३८ प्रकारका मिथिला पेन्टिङसहित जापानमा हुनेछन् । उनलाई यति बेला स्थानीय महिला चित्रकारहरूले सघाइरहेका छन् ।

अमेरिका, सिंगापुर, मेक्सिको, भारत, श्रीलंकालगायतका मुलुकमा मिथिला चित्रकला प्रदर्शनी गरिसकेका उनी जापानमा चौथोपटक जान लागेका हुन् । जापानको प्रदर्शनीमा मयूरसँगै महिलाका ७ सौन्दर्य देखाउने प्रयास गर्दै छन् ।

मिथिला चित्रमा मयूरलाई सांस्कृतिक प्रतीक मानिन्छ । राधाकृष्णको प्रेमलीला पनि मिथिला चित्रको साझा बिम्ब मानिन्छ । उनले भने नारीहरूका सप्त सौन्दर्यलाई चित्रमा समेट्ने कोसिस गरेका छन् । ‘केही नयाँ गर्न खोजेको हुँ,’ उनले भने, ‘खासमा नारीको सौन्दर्य चित्रणमार्फत नारीमाथि बढ्दै गइरहेको हिंसा विरोधी चेतना अभिव्यक्त गर्न खोजेको हुँ ।’ मयूरलाई भने सुन्दरताको प्रतीकका रूपमा देखाउन खोजिएको उनले जनाए ।


जनकपुर र काठमाडौंमा एकैसाथ व्यावसायिक मिथिला पेन्टिङको कारोबार थालेका साहले अमेरिका, जापानलगायतका मुलुकमा मागअनुसार निर्यात पनि गर्दै आएका छन् । पेन्टिङ बनाउन जनकपुर र काठमाडौंमा महिला कलाकारले जिम्मा सम्हालेर सहयोग गरेको उनले जनाए । जनकपुरस्थित उनको घरमा यतिबेला १० महिला चित्रकार कार्यरत छन् ।

मिथिला चित्रमा महिला पछिल्लो समय मिथिला पेन्टिङमा महिलाहरूको सहभागिता बढ्दो छ । चित्रको पूरै परिकल्पना, संरचना र रंग भर्नेबाहेक मासिक पारिश्रमिकमै काम गर्नेहरू धेरै भेटिन्छन् । जनकपुर उपमहानगरपालिका–४ की ४० वर्षीया सुलेखा साहले आफ्नो जीवनको दुई दशक मिथिला पेन्टिङमै बिताएकी छन् । दैनिक ज्यालामा पेन्टिङ गर्ने सुलेखाको काम पेन्टिङको आउट लाइन र सजावट गर्ने हो । उनका अनुसार पार्टटाइम काम गर्नेले पनि महिनामा १५ हजारसम्म कमाउँछन् । सुलेखासँग यतिबेला १६ जना महिलाको टोलीले पेन्टिङ गर्छ ।

सुलेखाका अनुसार मिथिला पेन्टिङमा प्रयोग हुने रंग जडीबुटीबाट तयार हुन्छ । त्यही भएर यो अग्र्यानिक कला पनि हो । हर्रो, बर्रो, अनार, बेसार, आँपको पात, गोबर, माटो प्रयोग गरी पेपर, कपडा या क्यानभासमा चित्र कोरिन्छ । ‘यो अन्य पेन्टिङभन्दा भिन्न विधिबाट तयार हुन्छ,’ उनले भनिन्, ‘त्यही भएर यसको आकर्षण बढेको हुनुपर्छ । हाम्रो पेन्टिङमा नाक चुच्चो परेको हुन्छ । आँखा र मुख ठूलो हुन्छ ।’

प्रकाशित : कार्तिक १२, २०७५ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?