अंग्रेजीसँगै संस्कृति

‘पहिले पहिले सबैलाई गीत र नाच आउँदैनथ्यो । सिकिसकेपछि सही तरिकाले पर्यटकलाई बुझाउन सकिने भइयो । यसको लागि अंग्रेजी भाषा पनि चाहियो ।’
सुनीता साखकर्मी

हेलम्बु — स्कुलको नाम छ-सेर्माथाङ फोक हाई स्कुल । अर्थात् लोक विद्यालय ।

अंग्रेजीसँगै संस्कृति

रोचक के छ भने, गाउँलेहरू आफैं मिलेर खोलेका हुन् यो । यहाँ कुनै पनि कक्षागत विभाजन छैन, सबै जना बरोबरी । पढाइचाहिँ आफ्नै रहनसहन, भेषभूषा, गीतसंगीत अनि परम्परागत सीपबारे हुन्छ ।

हालैका दिन यहाँ पुग्दा ६७ वर्षीया रिम्पो उमा अंग्रेजी भाषा सिक्दै थिइन्, बदलामा उनले चाहिँ अन्य सहभागीलाई ह्योल्मो लोकगीत र संस्कृतिबारे जानकारी दिइरहेकी थिइन् । हरेक दिन यहाँ गाउँका ज्येष्ठ नागरिकहरू यसरी नै सिक्न आइपुग्छन्, दुई घण्टा । सबैको एउटै चासो हुन्छ– पर्यटकसँग संवाद गर्न अंग्रेजी सिक्ने अनि आफ्नो रहनसहन प्रवद्र्धन गर्ने ।

सेर्माथाङका सांस्कृतिक अनुसन्धाता टासी दोङा ह्योल्मोका अनुसार, स्थानीय संस्कृति जोगाउन आठ वर्षअघि यो स्कुल खुलेको हो । कक्षामा प्राय: अंग्रेजी भाषासँगै ह्योल्मो गीत गाउन र नाच्न सिकाइन्छ । उनीहरू अन्य समुदायका सांस्कृतिक क्रियाकलापहरू पनि डकुमेन्ट्री फिल्ममार्फत हेर्छन् र सिक्छन् । कक्षामै सबैभन्दा जेठी रिम्पो अहिले अंग्रेजीमै आफ्नो नाम, गाउँको सांस्कृतिक सम्पदा र संस्कृतिको परिचय खरर भन्न सक्छिन् ।

‘पढेर त धेरै जानियो, पर्यटकलाई पनि आफ्नो संस्कृतिबारे भन्न सक्ने भइयो,’ उनले भनिन्, ‘उमेर पो ढल्किँदै गएर पीर पर्न थाल्यो !’

सेर्माथाङ पर्यटकहरूको पुरानो ट्रेकिङ रुट पनि हो । यहाँ स्वदेशी तथा विदेशी पर्यटक आउने गर्छन् । सेर्माथाङ आएका पर्यटकहरू ह्योल्मो संस्कृति, गीतसंगीत, नाच र भाषाबारे निकै चासो राख्छन् । कक्षामै सात वर्षदेखि पढ्दै आएकी ६० वर्षीया ल्हाक्पा डोल्मा ह्योल्मोका अनुसार, पर्यटकहरूले स्थानीय गीतसंगीत र नाच हेर्ने इच्छा राखे सबै प्रौढ मिलेर कक्षामै प्रस्तुत गर्ने गर्छन् ।

‘पहिलेपहिले सबैलाई गीत र नाच आउँदैनथ्यो,’ उनले भनिन्, ‘अहिले सबैजना राम्रैसँग नाच्न–गाउन सक्ने भएका छौं ।’

कक्षामा अंग्रेजी पढाइ भइरहेका बेला उनीहरू एक साथ पन्जा पनि बुनिरहेका हुन्छन् । ‘अंग्रेजी र संस्कृति मात्रै हैन, हामीलाई यहाँ हस्तकलाको सीप पनि सिकाइन्छ । यसले कमाई पनि हुन्छ,’ ल्हाक्पाले भनिन् ।

सांस्कृतिक अनुसन्धाता टासीका अनुसार, ह्योल्मो समुदायले गाउने परम्परागत गीतमा धार्मिक लययुक्त मन्त्रोच्चारण पनि हुन्छ । विवाह, ल्होछारलगायत खुसीको महोत्सवमा गाउने गीतलाई ‘छ्याङ लु’ भनिन्छ । यस्तो गीत गाउँदा उनीहरू घरैमा तयार पारेको निङगु र रक्सी खाएर मनोरञ्जन गर्छन् । एक्लै भएका बेला अथवा चिन्ता परेका बेला गाउने गीतलाई ‘छेर लु’ भनिन्छ ।

‘नाच्न मिल्ने खालको गीतलाई चाहिँ स्हाप्रु लु भनिन्छ,’ टासीले भने, ‘पहिला पहिला निकै प्रचलित रहेका मौलिक गीतमध्ये केही लोप हुने क्रममा छन् । हराउन थालेका गीतहरू जोगाउन पनि स्कुलले सघाएको छ ।’

कक्षामा संस्कृति मात्रै नभई ह्योल्मो जातिका परिकार पकाउन पनि सिकाइने ३८ वर्षीया निमा डोल्मा ह्योल्मोले जानकारी दिइन् । उनी ६ वर्षदेखि यो कक्षामा छिन् । कक्षामा बसेर परम्परागत खाना पकाउन सिकेपछि उनले गाउँमै होटल खोल्ने आँट गरिन् । पाँच वर्षदेखि निरन्तर उनी पर्यटकहरूलाई ह्योल्मो परिकारहरू खुवाउने गर्छिन् ।

ह्ल्दो (आलु, स्योसा, टिम्बुर, लसुन, मेथी, प्याज वा छ्याबी, तेल, नुन, खुर्सानी र बेसारबाट बन्ने परिकार), हये (आलु), झ्योक्पा (आलु, प्याज वा छयापी, नुन, खुर्सानी, तेल, बेसार, मसला, लसुनबाट बन्ने परिकार), बावर, ङे ज्याम/ङेबी चाम्बा (करु वा जौ, गहुँ लगायतबाट बन्ने परिकार), छ ज्या (भार्चुङ, नौनी घिउ, दूध, नुनबाट बन्ने परिकार), थुक्पा लगायत बनाउन आउँछ उनलाई ।

‘हाम्रो परिकार खुवाउँदा पर्यटक पनि खुसी हुन्छन्,’ उनले भनिन्, ‘विदेशीलाई हाम्रो स्थानीय स्वाद चखाउन पाउँदा खुसी लाग्छ ।’

टासीका अनुसार, डेनमार्कमा यस्ता लोक विद्यालयहरू धेरै छन् । त्यहीँ गएर आएपछि सेर्माथाङमा पनि लोक विद्यालय खोलेको उनले बताए । ‘हाम्रो संस्कृति र परम्परा हाम्रै मानिसलाई पहिले सिकाउनु जरुरी छ,’ उनले भने, ‘सिकिसकेपछि सही र राम्रो तरिकाले अरूलाई भन्न सक्छन् । यसको लागि अंग्रेजी भाषा पनि चाहियो ।’

प्रकाशित : कार्तिक १३, २०७५ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?