जरातिर प्रमिला

‘यो प्रदर्शनीका सबै सिर्जना नेपाल सरकारलाई दिन्छु । अहिले हाम्रो कला कसैले नहेर्ला, तर सय वर्षपछि सरकारले यिनै कलाबाट पैसा कमाउनेछ ।’
कान्तिपुर संवाददाता

काठमाडौँ — शारीरिक कदमा सानै देखिए पनि चित्र भने बडेमानका कोर्ने उनको बानी छ । कहिलेकाहीँ सानै गरूँ न त भनेर सुरु गर्छिन् पनि  ।

जरातिर प्रमिला

तर, मन माने पो † आकार बढिहाल्छ । मूर्ति/चित्रकार प्रमिला गिरीलाई ठूलो क्यानभासमा किन यस्तो आकर्षण ? यसको कारण थाहा पाउन अमेरिकासम्मै पुग्नुपर्छ ।

कला पढ्न अमेरिका पुग्दा एक प्राध्यापक प्रमिलालाई देखेर छक्क परेछन् । र, आश्चर्य मान्दै सोधेछन्, ‘हाउ क्यान यु डु द आर्ट ? यु आर सो स्मल ।’ उनको प्रश्न प्रमिलाको मनमा बिझ्यो । चित्रकार बन्न अजंगको शरीर चाहिन्छ र † आत्मबल भए पुग्दैन ? उनले यस्तै सोचिछन् । त्यही बेलादेखि आफूलाई साना चित्रमा हात बस्न छोडेको बताइन् ।

‘सानी छु त्यसैले ठूला चित्र मन पराउँछु’, उनले भनिन्, ‘मेरा चित्रमा धेरै स्पेस छोडिएको हुन्छ ।’
नर्वेबाट प्लेनमा ३ सय ८० किलो कला–सामाग्री बोकेर स्वदेश आएका प्रमिला दम्पती हाल आर्ट काउन्सिलमा भेटिन्छन् । त्यहाँ प्रमिलाको एकल प्रदर्शनी चलिरहेको छ । ‘माई रुट्स’ शीर्षक प्रदर्शनीमा उनका ठुल्ठूला चित्रकला र आकर्षक मूर्तिकला अवलोकन गर्न सकिन्छ ।

‘भैरव शृंखला’ अन्तर्गत उनले पित्तल र तामाका प्रतिमा समावेश गरेकी छन् । तिनलाई चित्रसँग एकाकार गरिएको छ । प्लास्टरका मूर्ति भने मोडलका रूपमा राखिएका छन् ।

‘भैरवबारे अध्ययन र अन्वेषण बाँकी छ,’ प्रमिलाले भनिन्, ‘चरित्र र प्रतीकका रूपमा यसले हाम्रो आध्यात्मिक यात्रामा आफूभित्रको त्रासलाई जित्न आवश्यक रहेको संकेत गर्छ ।’ उनले तयार पारेका भैरवका चित्रहरू सनातन चित्रझैं लाग्दैनन् । भगवान् शिवको डरलाग्दो वा रौद्र रूपलाई उनले अमूर्त शैलीमा उतारेकी छन् । रातो, नीलो, पहेँलो, कालोजस्ता मूल रङमार्फत उनले भैरवको गुण समात्न खोजेको आभास हुन्छ ।

‘चराहरू उड्दै छन्’ मा चित्र तथा मूर्तिकलाको संयोजन सुन्दर छ । सन् २००० मा बनाएको चित्र २३० बाई ३५७ सेन्टिमिटरको छ । उनले ‘संघर्ष’, ‘वायु’, ‘हृदय’ लगायत शीर्षकका मूर्तिकला राखेकी छन् । शिर र पाउ जोडिए पनि बीचमा दुई चिरा परेको ‘प्रकृति–पुरुष’ मूर्तिमार्फत उनले महिला–पुरुष एकअर्काका पूरक रहेको देखाउन खोजेकी छन् ।

संस्कृतिविद् सत्यमोहन जोशीले शनिबार उद्घाटन गरेको प्रदर्शनीमा ‘तिब्बत शृंखला’ अन्तर्गत आधा दर्जन चित्र छन् । सन् १९९० देखि २००८ सम्म बनाएका चित्रहरूमा प्रमिलाले तिब्बती प्रकृति, सानदार गुम्बाहरू, बौद्ध धर्ममाथि स्थानीयको आस्था र तिनले शान्तिका लागि गर्दै आएको प्रयत्न समात्न खोजेको जानकारी दिइन् ।

‘म निकै पटक तिब्बत गएकी छु,’ उनले भनिन्, ‘त्यहाँको सन्नाटाले मलाई हल्लाएको छ । मेरा चित्रमा तिब्बती रङको प्रभाव हुन्छ ।’


प्रमिलाले यसअघि २०१६ मा आर्ट काउन्सिलमै एकल प्रदर्शनी गरेकी थिइन् । त्यो बेला पनि ३ सय किलो कृति र तिनलाई राख्ने बाकस लिएर नर्वे–नेपालको हवाई यात्रा गरेकी थिइन् । नर्वेमा उनका कला–सामग्री किन्न खोज्ने धेरै थिए, छन् पनि । प्रदर्शनीपश्चात् नर्वे ल्याऊ भन्नेहरू उत्तिकै छन् । तर, प्रमिला र उनका पति हयान्स क्रिस्टी बियोनेस्काले कला सामग्री बेच्ने मन गरेका छैनन् ।

‘यी सबै नेपाल सरकारलाई दिन्छु,’ प्रमिलाले भनिन्, ‘अहिले हाम्रो कला कसैले नहेर्ला, तर सय वर्षपछि सरकारले यिनै कलाबाट पैसा कमाउनेछ । तसर्थ, सरकारले यिनको राम्रो ख्याल राखिदिएहुन्थ्यो भन्ने मेरो एक मात्र चाहना हो ।’ कलाको आयु नहुने भन्दै उनले नयाँ पिँढीलाई पनि हरेस नखान आग्रह गरिन् ।

प्रदर्शनी कात्तिक १९ सम्म चल्नेछ ।

प्रकाशित : कार्तिक १३, २०७५ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?