कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नयाँदिल्लीमा जनकपुरको ‘जानकीलीला’

श्यामसुन्दर शशि

नयाँदिल्ली — भारतभर नै चर्चित छ, ‘रामलीला’ । भारतीय गीति नाटकमा भिन्न स्थान राख्ने यो प्रस्तुति नेपालका विभिन्न थलोमा पनि प्रचलित छ ।

नयाँदिल्लीमा जनकपुरको ‘जानकीलीला’

नयाँ दिल्लीमा जारी चौथो अन्तर्राष्ट्रिय रामायण महोत्सवमा भने नेपालको प्रतिनिधित्व गर्दै मंगलबार मिथिला नाट्यकला परिषद् (मिनाप) ले सीताको चरित्रमा आधारित ‘जानकीलीला’ मञ्चन गर्‍यो ।

भारतीय सांस्कृतिक सम्बन्ध परिषद्द्वारा आयोजित महोत्सवका लागि जनकपुरधामबाट पुगेको २८ कलाकारको टोलीले सीताको जन्म, बाल्यकाल र विवाह मात्रै हैन, जन्मअघिको जनकपुरमा भएको प्राकृतिक विपत्तिको कथाव्यथा पनि प्रस्तुत गऱ्यो ।

बाह्र वर्षको अनिकालबाट अस्तव्यस्त मिथिलामा राजा जनकले हलेस्टी यज्ञ गरेपछि वर्षासँगै सीताको पनि जन्म भएको कथाबाट सुरु हुन्छ, गीतिनाटक । सीता जन्मको खुसियालीमा मिनापका कलाकारले मञ्चमा सोहर, खेलौना र वधैया गीत गाइरहेको बेला दर्शकदीर्घामा खुसीको आँसु छचल्किएको थियो । दिल्लीको बहुचर्चित मानिने कमानी प्रेक्षागृहमा मञ्चित नाटक हेर्न यहाँ कार्यरत तथा अध्ययनरत मैथिलीप्रेमी नेपालीहरू पनि आएका थिए ।

‘वर्षौंपछि आफ्नो मातृभाषाको लोकगीत पनि प्रत्यक्ष सुन्न पाइयो,’ जनकपुरका ऋषि झाले भने, ‘सीता जन्मको कथाले निकै छोयो ।’

डेढ दशकदेखि दिल्लीमा बस्दै आएका व्यवसायी झाले मिनापको प्रदर्शन महोत्सवकै उत्कृष्ट रहेको दाबीसमेत गरे । उनले यसो भन्नुको कारण प्रत्यक्ष संगीत थियो । अन्य नाट्य समूहले रेकर्डेड संगीत प्रयोग गरिरहँदा मिनापले भने प्रत्यक्ष वाद्यवादनसहितको ‘जानकीलीला’ प्रस्तुत गरेको थियो ।

सोमबारदेखि सुरु महोत्सवको उद्घाटन भारतका विदेश राज्यमन्त्री भीके सिंहले गरेका थिए । महोत्सवमा नेपालको मिनापसँगै भारतको रुपवाणी समूह बनारस, श्रीलंकाको नाट्यकला मन्दिर समूह, बंगलादेशको घृती नर्तनालय, मलेसियाको भरत नाट्यम नृत्य संघ, थाइल्यान्डको चिराग मई कलेज नाट्यकला समूह सहभागी छन् । मिनापले यो आउँदो शुक्रबार जयपुरमा पनि ‘जानकीलीला’ मञ्चन गर्दै छ ।

भारतसहितका मुलुकका नाट्य समूहहरूले रामको चरित्रमा आधारित रामलीला प्रस्तुत गरिरहेको बेला मिनापले प्रस्तुत गरेको ‘जानकीलीला’ को धेरैले प्रशंसा गरे । मिनापका पूर्वअध्यक्ष एवं ‘जानकीलीला’ गीति नाटकका संगीतकार एवं गायक सुनील मल्लिकले भने, ‘हाम्रो नाटकमा जानकी (सीता) को जन्मदेखि विवाहसम्मको वर्णन छ । नेपालको मिथिला क्षेत्रमा जानकीको विवाहसम्मको सुखान्त कथा मात्र वर्णन गर्ने परम्परा छ ।’

नाटकमा जानकीको जन्म, फूलवारीलीला, धनुष यज्ञ, जानकी विवाह तथा कोबरसम्मको कथा वर्णन छ । पारम्परिक रामलीला शैलीको यस नाटकमा सोहर, बधैया, पमरिया, झुला, जटजटिन लगायतका पारम्परिक गीत संगीतसँगै रामसीता विवाह संकीर्तनजस्ता लोक नाच शैलीहरूको समेत प्रयोग गरिएको छ ।

नाटकको अर्को विशेषता भनेको मिथिलाञ्चलका नगाडा, झाइल, टंकी, मजिरालगायतका पारम्परिक बाजाको प्रत्यक्ष प्रस्तुति पनि हो । भारतको नाट्य संस्था मेलोरंगका अभिनेता मायानन्द झाले ‘जानकीलीला’ लाई आधुनिक र पारम्परिक नाटकको फयुजनको संज्ञा दिए । ‘आधुनिक नाटकको युगमा मिनापले पारम्परिक नाट्य शैली र लोकगीत–संगीत जगेर्ना गरेको देख्दा खुसी लाग्यो,’ उनले भने ।

सुनील मल्लिकको संगीत तथा परमेश झाको निर्देशनमा तयार गरिएको गीति नाटकमा धीरज ठाकुर र सन्नी राउतले नृत्य निर्देशन गरेका छन् भने सुनील, संगीता देव, ललित कामत र नेहाले स्वर दिएका छन् ।

एक घण्टाको नाटकमा रामनारायण ठाकुर, ललन झा, वीरेन्द्र झा, रमेश मल्लिक र अनिल झाले वाद्यवादन गरेका छन् भने मदन ठाकुर, गंगाकान्त झा, परमेश झा, अनितारानी मण्डल, सुरेन्द्र राय, धीरज ठाकुर, मुकेश झा, सन्नी राउत, धीरज ठाकुर, सपना साह, पूजा ठाकुर, सुनीता पासमान, माही खान, अर्पिता चौधरी, राजा राउत, बबलु राउत, सोनिया मण्डल लगायतले अभिनय गरेका छन् ।

प्रकाशित : कार्तिक १५, २०७५ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?