कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

चित्र कोर्छ धरान

‘पछिल्लो समय पूर्वमा फेरि चित्रको माहोल बढ्दै छ । चित्र बुझ्नेहरूको संख्या पनि बढ्दै छ ।’
प्रदीप मेन्याङ्बो

सुनसरी — हालैको दिन पानी रंग र तैल चित्र कोर्न दख्खल राख्ने देवलकुमार राई व्यस्त भानुचोकको घण्टाघर परिसरमा क्यानभासमाथि कुची चलाइरहेका थिए  । पेसाले उनी आगो निभाउने नगरप्रहरी हुन्  ।

चित्र कोर्छ धरान

तर बिदा मागेरै उनी चित्रभित्र आनन्दको भिन्न संसार तयार गर्दै थिए । क्यानभासमा रंगको माध्यमबाट तयार हुँदै गएको अमूर्त चित्रभित्र उनी मूर्त सपनाका रंग थप्दै थिए ।

‘यो भानुचोकको कोलाहल उतार्दै छु,’ हातैमा रंगको प्लेट बोकेर उनले भने, ‘ताकि चित्र हेर्नासाथ भानुचोक पछिल्लो अवस्था बोध होस् ।’

देवलकुमारले यसो भन्दै गर्दा चित्रकार स्वयंप्रकाश श्रेष्ठ, प्रनोद दत्त, जीवन पौडेल, लेख मगर, हरिलाल उदासहरू अर्को लहरमा व्यस्त थिए, रंगसँगै खेल्न ।

चित्रभित्र रंग संयोजनमार्फत तार्किक शब्द, स्वर र दृश्यको आभास दिन सक्नुमा चित्रकारको क्षमता र कला झल्किन्छ भन्छन् धराने चित्रकारहरू । उनीहरू प्रत्येक महिना कुनै न कुनै प्रयोगात्मक चित्रकारिता गरिरहेकै हुन्छन् धरानमा ।

कहिले कोलाहलको बीचमा उभिएर चित्र बनाउँछन्, कहिले कवितालाई चित्रमा उतार्छन्, त कहिले नाटकलाई ।

‘चित्रकारितामा यसरी व्यस्त हुने धरान सम्भवत: पूर्वकै पहिलो सहर हो,’ देवलकुमारले भने ।

अर्का चित्रकार लेख कलाकर्म मात्रै गर्दैनन्, बजार खोजी र व्यवस्थापन पनि उत्तिकै गर्छन् । उनका चित्र प्राय: विदेशमा बढी जान्छ, धराने चिनोको रूपमा । उनका अनुसार ‘पछिल्लो समय पूर्वमा फेरि चित्रको माहोल बढ्दै छ । चित्र बुझ्नेहरूको संख्या पनि बढदै छ ।’उनी प्राय: पानी रंगसँग बढी खेल्छन् ।

गत वर्ष उनले १६ थान चित्र अस्ट्रेलिया पठाए । हालै पनि लन्डनबाट दर्जन चित्रको अर्डर आएकाले त्यसमा व्यस्त भएको उनले बताए । उनी इन्टेरियर डिजाइनको व्यवसाय पनि गर्छन्, फुर्सदमा क्यानभासमा व्यस्त ।

तीसको दशकमै यहाँबाट मुकेश मल्ल, कर्ण मास्के, उपेन्द्र पागल, शिशिर योञ्जन, रणबहादुर थेगिम, भीम सुब्बालगायतको जमात चित्रकारितामा उदाएको थियो । तिनताक उनीहरूले धरानमा युवा कला केन्द्र खोले । केन्द्रमा अग्रजसँगै पछिबाट प्रनोद, लेख, तीर्थ निरौला, स्वयंप्रकाश, मञ्जु उदास, हरिलाल, देवलकुमारको छिमल जोडियो ।

उनीहरू पछि महेन्द्र राई, जीवन, आस्था राई, मोनिका लिम्बूहरू नया पुस्ताको रूपमा आए । यति बेला चौथो पुस्ताले चित्रकारितालाई अरू कला र सृजनासँग जोड्ने काम गरिरहेको छ । यो पुस्तामा पर्छन्, विगेन राई, सुधीर सुनुवार, धीरज राई, मनीष राई, मिलन तामाङ, अनुमप राई, सञ्जय पाण्डे, शुखराज राई, विसन परियार, श्रद्धा श्रेष्ठ, पवन राई, युमेनहाङ राई ।

‘कर्ण मास्केको जमातले नयाँ पुस्तालाई साथ दिएपछि माहोल बढेको हो,’ महेन्द्रले भने, ‘धरानको चित्रकारिताले पूर्वकै नेतृत्व गरिरहेको छ ।’

महेन्द्रले युमा फाइन आर्ट पनि सञ्चालन गर्दै आएका छन् । उनका अनुसार धरानमा मात्र ४० जना नयाँपुराना सक्रिय छन् । चित्रको मूल्य महत्त्व बुझ्नेको संख्यामा भर्खरै मात्र वृद्धि हुन थालेकाले १० हजारदेखि अधिकतम ४५ हजार रुपैयाँसम्मका पेन्टिङहरू बिक्री हुने गरेको उनले बताए ।

पूर्वमा विक्रमश्रीपछि मूर्तिकलामा सक्रिय रहेका जीवन पुस्तकको आवरण बनाउन उत्तिकै सक्रिय छन् । उनले धरानमा लाइभ आर्ट भिलेज खोलेर मूर्ति र चित्रकारिताको व्यवसाय गर्दै आएका छन् । उनले भने, ‘मेरो सानै देखिको रुचि मूर्ति बनाउनु र चित्र बनाउनु हो । यसैमा मेरो समय खर्चिरहेको छु ।’

स्वयं प्रकाशले धरानस्थित आफ्नै घरमा ग्यालरी खोलेका छन् । ग्यालरीमा उनले चित्रकारिता सिक्न चाहने बालबालिकालाई सिकाउँदै आएका छन् । उनले भने, ‘चित्रकारिता गर्नु र अरु सृजना गर्नुमा धेरै अन्तर छ । रंगसँग खेलेर नयाँ कला सृजना गर्नु आनन्द लाग्छ ।’

प्रकाशित : कार्तिक १५, २०७५ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?