२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

प्लेब्याकमा आफ्नै कथा

कान्तिपुर संवाददाता

काठमाडौँ — उनी आफ्नी आमासँग बजार डुल्दै थिए । बेलुन देखेपछि त्यसमै भुलिए । एकछिनपछि आमाको याद आयो, उनी कतै थिइनन् । बालक रुन लागे । कसैले नजिकैको प्रहरी चौकी पुर्‍याइदियो ।

प्लेब्याकमा आफ्नै कथा

प्रहरीले बालकलाई दिनभर मिठा–मिठा परिकार खुवाएर राख्यो । उनले आमा भुले । तर, साँझ पर्न थालेपछि बालकलाई छटपटी भयो । उनलाई अब आमा चाहियो । आमा पनि छोरो खोज्दै चौकीमा आइपुगिन् । बालक दंग परे ।


दार्जिलिङका शैलेशले आफ्नो बाल्यकालको यो घटना बुधबार काठमाडौंमा सेयर गरेका थिए । उनलाई सुनेर बसेका कौशी थिएटरका चार रंगकर्मी त्यो सत्य कथालाई नाटकमा उतार्न तम्तयार भइगए । उनीहरूको प्रस्तुति हेरेपछि शैलेश खुसी देखिए । पुरानो दिन फर्केझैं लागेको भएको बताए । दर्शकका यस्तै अनुभव र घटना सुनेर त्यसमाथि तत्काल नाटक मञ्चन गरिने ‘प्लेब्याक थिएटर’ मा कौशीका कलाकारले बुधबार थुप्रै वटा प्रस्तुति दिए । ‘कथा घेरा’ को निर्माणमा बनेको नाटक फोटो काठमाडौं, अन्तर्राष्ट्रिय फोटो फेस्टिभलसँगको सहकार्यमा देखाइएको थियो ।


उपस्थित दर्शकमध्येकी एक महिलाले आफू अनेक काम गर्न चाहिरहेको तर आँखा बिझाएर दिक्क भएको अनुभव सुनाएकी थिइन् । यसमा नाटक मोडरेटर आकांक्षा कार्कीले कलाकारलाई तरल मूर्तिमा प्रस्तुति दिन आग्रह गरिन् । उनीहरूमध्ये एकले ‘यो गर्नु छ, त्यो गर्नु छ तर ऐया...’ भन्दै आँखा मिचेको देखियो । अर्कोले औंला भाँची–भाँची कामको तालिका प्रस्तुत गरिरहँदा कोही भने यो गरौं कि त्यो गरौं भन्ने दोधारमा परेको देखियो । उनीहरूले आ–आफ्नो भूमिका केही बेरसम्म दोहोर्‍याइरहे ।


प्लेब्याक थिएटरको तरल मूर्ति शैलीमा कलाकारले निश्चित संवाद र हाउभाव दोहोर्‍याउने गर्छन् । प्लेब्याकमा पेयर्स, कोरस लगायत शैली पनि हुन्छन् । यसमा कन्डक्टर, एक्टर्स र म्युुजिसियनलाई स्टेजमा देखिन्छ । कन्डक्टरले दर्शक र कलाकारबीच समन्वय गर्छन् । कलाकारले दर्शकका छोटा विवरणमाथि अन द स्पट नाटक प्रदर्शन गर्छन् भने म्युजिसियनले नाटकलाई आवश्यक गीत र ध्वनि प्रभाव सिर्जना गरिदिन्छन् । ‘कथा घेरा’ मा गुञ्जन दीक्षित, अनुप न्यौपाने, इंगी होपो कोइच सुनुवार र विनीता गुरुङले अभिनय गरेका थिए । अधिश्री संगीततर्फ थिइन् ।


अन्तरक्रियात्मक हुने भएकाले दर्शक र स्टेज दुवैपट्टिको प्रकाश अन गरिएको थियो । दर्शकलाई स्टेजमै बोलाएर आफ्ना भोगाइ वा यादगार पलबारे बताउन लगाइयो । प्लेब्याक थिएटर कस्तो लाग्यो ? प्रस्तुतिहरू आफ्नो अनुभवसँग मेल खाए/खाएनन् ? भन्नेबारे उनीहरूको प्रतिक्रिया पनि लिइयो । ‘मलाई त्यो घटनाले बारम्बार हानिरहेको हुन्छ,’ भोजपुर छँदाको अनुभव साझा गरेकी एक युवतीले भनिन्, ‘नाटकमार्फत त्यो घटना दोहोर्‍याएर हेर्न पाएँ ।’ गाउँका छिमेकीले मट्टितेल छर्केर श्रीमतीलाई आगो लगाएको घटनाको प्रत्यक्षदर्शी बन्नुपर्दाको विवरण ती युवतीले सुनाएकी थिइन् ।


सन् १९७५ बाट सुरु भएको प्लेब्याक थिएटरमा दर्शका अनुभवलाई इम्प्रोभाइज्ड गरेर मञ्चन गरिन्छ । यसबाट दर्शकले आफ्ना भोगाइलाई फरक कोणबाट बुझ्न पाउने कौशी थिएटरकी आकांक्षाले बताइन् ।

प्रकाशित : कार्तिक १६, २०७५ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?