खबरदारी देउसीमा हाँसे नेता

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा कलाकारहरूले यसरी ‘खबरदारी देउसी’ गीत गाउँदै गर्दा अघिल्तिर स्क्रिनमा मन्त्रीहरू रवीन्द्र अधिकारी, लालबाबु पण्डित, गोकर्ण विष्ट मुसुमुसु हाँस्दै थिए ।

खबरदारी देउसीमा हाँसे नेता

बालुवाटार छिर्छन् मन्त्री जोस बोकेर जुरुक्क

फर्की आउँदा पर्छन् तिनै किन लुरुक्क

केही गर्न खोज्छन् मन्त्री

सल्लाहकारले छेक्छन् रे

पीएम एक्लै समृद्धिको सपना देख्छन् रे


स्वास्थ्यका कारण प्रधानमन्त्री केपी ओली अनुपस्थित रहे पनि सल्लाहकार टिम भने देउसी हेर्न आइपुगेको थियो । कलाकारको यस्तो कटाक्ष गर्दैगर्दा उनीहरू पनि हाँस्दै थिए ।


तिहारको सन्दर्भ पारेर हाँस्दै र हँसाउँदै मुलुकका विकृति–विसंगतिमाथि झटारो हान्ने ‘प्रज्ञा सिस्नुपानी खबरदारी देउसी’ यसपटक पनि कुकुर तिहारको दिन मंगलबार राजधानीमा सम्पन्न भयो । प्राय: राजनीतिक व्यंग्यमै केन्द्रित हुने देउसीमा यसपटक हाँस्न आउने नेताहरूमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनालदेखि प्रधानमन्त्री पत्नी राधिका शाक्य, उपप्रधानमन्त्री ईश्वर पोखरेल, पूर्व उपप्रधानमन्त्री वामदेव गौतम, गृहमन्त्री रामबहादुर थापा,

कांग्रेस नेता रामचन्द्र पौडेल, गगन थापासम्म थिए ।


सिस्नुपानीका कलाकारहरूले सरकारदेखि प्राय: सबै पार्टी, सरकारी कर्मचारी र नागरिकसम्मलाई व्यंग्य कसे । आफ्नो नाम लिएर कलाकारहरूले व्यंग्य गर्दा नेताहरू हाँस्थे । अघिल्तिर स्क्रिनका लागि तयार क्यामेराले कैद गरिहाल्थ्यो । यही क्रममा कलाकारहरूले वामदेव गौतमका लागि सिट छोडिदिने रामवीरको प्रसंग निकाले–

देखाउन त खोज्या थे

रामवीर कमरेड दानवीर भै

वामदेवलाई हरियो काँक्रो कसले देला खै

हलमा ताली बज्यो, तर वामदेव अरूजस्तो खुलेर हाँसेनन् । चिउँडोमा हात राखी कलाकारको प्रस्तुति हेरिरहेका वामदेव मुसुमुसु हाँस्न मात्रै खोजे, उनको हाँसोमा कूटनीति देखियो । अलिकति खुलेर तर यस्तै कूटनीतिक हाँसो हाँसे माधवकुमार नेपालले । जब कलाकार गाउँदै थिए–

ल्याङ ल्याङ गदै बिन्ती गर्छन्

माधव र झलनाथ

हाम्रो पालो आउँछ आउन्न भन्देऊ भोलेनाथ


धेरैजसो सरकारप्रतिको व्यंग्यमा केन्द्रित कलाकारहरूले देउसी गीतको सुरुमा भने सकारात्मक पक्षको प्रशंसा गरे । लामो समयपछि मुलुकमा स्थिरता आएको र नौ–नौ महिनामा सरकार बदल्नुपर्ने नियतिबाट जनता मुक्त भएको आशय भट्टयाउँदै सिस्नुपानीका महासचिव टंक आचार्यले भने, ‘आउँदा दिनमा हामीले यसरी देउसी भन्न नपरोस् भन्ने कामना हो । राम्रो काम भए कलाकारले भटारो हानिरहनै पर्दैन ।’

यसपछि देउसी गीत प्रधानमन्त्रीतिर सोझियो । केही महिनाअघि मात्रै प्रधानमन्त्रीले कार्यकर्तालाई ‘अरिंगालजस्तै जाइलाग्न’ दिएको निर्देशनप्रति कलाकारले व्यंग्य कसे–

यसपालि त हाम्लाई देउसी खेल्न मनै थिएन अरिंगालले चिलेर बस्नै दिएन कलाकारहरूले सुनकाण्डमा सुस्ताएको छानबिन, निर्मला हत्याकाण्डको ढिलासुस्ती, सिन्डिकेट, रेलमार्ग, ग्यास पाइपलाइन, ठेकेदारको दबदबा, आफ्नै डोजरलाई बाटोको जिम्मा लाउने वडाध्यक्ष, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यप्रति पनि झटारो हाने । प्रतिपक्षको भूमिकाभन्दा पनि विरोधका लागि विरोध गर्ने कांग्रेसको कार्यशैलीमाथि व्यंग्य गर्दा गगन थापाले कूटनीतिक हाँसो हाँसे । कलाकार भन्दै थिए–

केसी अनसन बस्नाले कांग्रेसले पायो काम

तिनले जुस खाएपछि कांग्रेस ठन्डाराम

देउसीको सुरु भने मुलुकका विभिन्न समुदायको मौलिकता झल्किने नृत्यबाट गरिएको थियो । संस्कृतबाट सुरु गीतहरू पूर्व, पश्चिम, तराई हुँदै पहाड उक्ले पनि हिमाल भने चढ्न सकेनन् । हिमाली स्वादको संगीत र नृत्य नसमेट्दा खल्लोपन महसुस हुन्थ्यो । यसपछि राजा राजेन्द्रले पाका गायक जेबी टुहुरेको ‘आमा दिदीबहिनी हो...’ बोलको गीतलाई नेता र मुलुकको राजनीतिसित जोडेर सानदार प्यारोडी पस्के । यो गीतमा पनि प्राय: नेताहरू हाँसे ।


कार्यक्रमको मध्यमा प्रस्तुत गरिएको प्रहसन ‘फराँस’ अघिल्ला वर्षहरूको भन्दा केही कमजोर देखिन्थ्यो । यद्यपि प्रधानमन्त्री ओलीको रूपमा सीताराम कट्टेल ‘धुर्मुस’, प्रचण्डको रूपमा मनोज गजुरेल र शेरबहादुर देउवाको रूपमा दमन रुपाखेतीले गरेको नक्कल प्रशंसायोग्य थियो । स्वर्गकी दूतको रूपमा यो प्रहसनमा प्रस्तुत भएकी कुञ्जना घिमिरे ‘सुन्तली’ प्रति भने दर्शकले ‘बढी नै चिच्याएको’ प्रतिक्रिया दिए । विषयगत हिसाबले यो प्रहसन तीन शीर्ष नेताको चलखेल, सत्ताका लागि गरिने अवाञ्छित प्रयत्नहरू र कुर्सीप्रतिको छिनाझपटीमा केन्द्रित थियो । आशिष दिने क्रममा कलाकारहरूले राष्ट्रपतिलाई पनि छाडेनन् । गाए–

एम्बुलेन्स जाममा नपरोस्,

जुवाडे झयालबाट नझरोस्

टिको थाप्दा लम्पसार पर्नु नपरोस्...

प्रकाशित : कार्तिक २१, २०७५ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?