दोस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव सुरु

रासस

काठमाडौँ — काठमाडौँमा सोमबारदेखि दोस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव तथा बृहत चित्रकला प्रदर्शनी सुरु भएको छ ।

अन्तर्राष्ट्रिय जलरङ समाज नेपालको आयोजनामा काठमाडौँको बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजित महोत्सवमा विभिन्न ३८ देशका २७० चित्र प्रदर्शनमा रखिएको छ ।सोमबार नै स्वदेश र विदेशका १३ जना चित्रकारले स्थलगत रुपमा चित्र कोरेका थिए ।


प्रदर्शनीमा नेपालसहित अमेरिका, भारत, बंगलादेश, अल्वानिया, अष्ट्रेलिया, मंगोलिया, बेलायत, चीन, जर्मनीलगायत देशका कलाकार सहभागी छन् । यही मंसिर २३ गतेसम्म चल्ने जलरङ महोत्वस अन्तर्गत मंगलबार र बुधबार भने लुम्बिनीमा विशेष कार्यक्रम हुँदै छ ।


चित्रकारले लुम्बिनीमा क्यान्भासमा दृष्य उतार्ने छन् भने चित्रकला सम्बन्धी कार्यशालासमेत हुने आयोजक अन्तर्राष्ट्रिय जलरङ समाज नेपालका अध्यक्ष एनवी गुरुङले जानकारी दिए । कला समीक्षक रमेश खनालले फरक/फरक देशका फरक/फरक विषयका कला प्रदर्शनीले ती देशबीचको सम्बन्ध प्रगाढ बनाउने बताए । उनले कलाकार देशको राजदूत जस्तै भएको समेत उल्लेख गरे ।

अन्तर्राष्ट्रिय जलरङ समाज नेपालले दुईवर्षअघि पहिलो महोत्सव कास्कीको घान्द्रुकमा आयोजना गरेको थियो । विश्वका ९० देशमा गठन भएको समाज सन् २०१२ मा स्थापना भएको हो ।

नेपालमा सन् २०१४ मा स्थापना गरिएको थियो । विश्वमा हराउँदै गएको जलरङ पछिल्लो समयमा संस्था नै गठन भएर प्रदर्शनी हुन थालेपछि भने यसको महत्व बढ्दै गएको कलाकारले बताएका छन् ।

प्रकाशित : मंसिर १७, २०७५ १६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?