मिथिला शैलीमा काठमाडौं कथा 

काठमाडौँ — एकै ढुंगामाथि ठडिएको कीर्तिपुरको डाँडा । पहिलोपटक कीर्तिपुर नियाल्दा चित्रकार एससी सुमन १६/१७ वर्षजतिका थिए । वनैवनको बीचमा रहेको नेवारी शैलीका घरहरूले उनलाई मोहित बनाएको थियो । पछिल्लो समय भने कीर्तिपुर पुग्दा सिंगो डाँडै आधुनिक घरले भरिएको देखे उनले । त्यसपछि मिथिला शैली प्रयोग गर्दै ‘कीर्तिपुर पहिले र अहिले’ शीर्षकमा दुई पेन्टिङ तयार पारे । सुमनका यी पेन्टिङ बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा प्रदर्शित छन् । 

मिथिला शैलीमा काठमाडौं कथा 

‘मिथिला कसमस : सङ्ग्स अफ इनोसेन्स र एक्सपेरियन्स’ शीर्षकमा सुमनले आफ्नो १६ औं एकल प्रदर्शनी सुरु गरेका हुन् । चार दशकअघि आमाले सुमनलाई कीर्तिपुरमा मात्र नभई पशुपति क्षेत्र, गुह्येश्वरी, कीर्तिपुर डुलाएकी थिइन् । चार दशकअघि देखेका दृश्यहरू उनको मानसपटलमा अझै ताजा छ । केही वर्षदेखि काठमाडौंमै बस्ने क्रममा उनले बिस्तारै यो सहर फेरिएको देखे । ‘पहिले विराटनगरमा चित्र कोर्दै काठमाडौं ल्याई प्रदर्शनी गर्थें, त्यति हेक्का हुँदैनथ्यो,’ उनले भने, ‘तर काठमाडौंमै बस्ने क्रममा पहिलेभन्दा अवस्था निकै फरक भएको पाएँ । मनले मान्दै मानेन, त्यसैले पहिलेको सौन्दर्य र अहिलेको कुरूपतालाई चित्रमा उतारेँ ।’

यसअघि उनी आफ्ना चित्रमा तराईका जनजीवन र संस्कृति मिथिला कलामार्फत उतार्ने गर्थे । काठमाडौंमा बस्न थालेपछि भने यतैको विषयवस्तु समेट्न मन लागेको उनी सुनाउँछन् । ग्यालरीमा सुमनका ३० कलाकृति प्रदर्शित छन् । प्रत्येक पेन्टिङमा मिथिला कला र मिथिलाका मानिसको स्वरूप झल्किन्छ । परिवेश चित्रणमा भने काठमाडौंकै प्रभाव देखिन्छ । काठमाडौं उपत्यकाका पुराना बस्ती डुल्ने क्रममा उनले नेवारहरूले गाउने भजनमा मैथिली भाषा र मिथिला कलाको प्रभाव भेटे ।


कुनै समय यो सहरमा मिथिला साहित्य र कला कौशलको प्रभाव थियो । त्यही भएर उनले मिथिला कलाको शैली जोडेर काठमाडौंको कथा–व्यथा चित्रमा अभिव्यक्त गरे । पछिल्लो समय भने मिथिलाबाट मानिसहरू यहाँ आएर बसोबास गरेपछि उतैको कला र संस्कृतिको प्रभाव नेवार संस्कृतिमा पनि देखिएको हुनसक्ने उनको दाबी छ । ‘नेवारको घरका ढोकामा कोरिने अष्टमंगल वा विभिन्न चित्रहरू मिथिलाका मानिसहरूले बनाउने लखुद्वासित केहीकेही मिल्छ,’ उनले भने, ‘तराईका मानिस यहाँ नेवारको घरमा बस्ने क्रममा आफ्ना छोराछोरीको न्वारान, व्रतबन्ध, पूजा, विवाह गर्दा भित्तामा कोबर लेख्थे । यसरी नै संस्कृति र कलाको बहुआयामिकता र विविधता यता पनि सर्‍यो ।’


उनले काठमाडौंका मन्दिर, मसानघाट लगायत मासिँदै गएको भौतिक सम्पदा, जनजीवन र संस्कृति पेन्टिङमा उतारेका छन् । एउटा पेन्टिङमा चराले आफ्नो सन्तानलाई खुवाउन सर्पका बच्चाहरू टिप्दै गरेको देख्न सकिन्छ भने त्यसैमा सर्पले चराका गुँडमा बच्चाहरू खाँदै गरेको देखिन्छ । यसमार्फत उनले जीवनको चक्र देखाएका छन् । त्यस्तै अर्काे पेन्टिङमा भने महिलाहरूले पूजाका लागि फूल टिप्दै गरेको देख्न सकिन्छ । गुह्येश्वरीको पेन्टिङमा बोर्डर पहेलो र रातो कलरले सजाएका छन् । सुमनका अनुसार रातो र पहेलोको मिश्रणपछि निस्कने रंग मिथिलामा गौरीको प्रतीकको रूपमा लिइन्छ । गुह्येश्वरी देवीको शक्तिपीठ भएकाले आफूले यो रंग प्रयोग गरेको उनले बताए । मिथिला चित्रमा प्रयोग हुने कमलको फूल महिला र गौरीको चिह्न हो भने माछा फर्टिलिटीको संकेत हो । आफूले चित्र बनाउँदा कल्पनाभन्दा पनि स्थलगत अनुगमनलाई प्राथमिकतामा राखेको सुमनले दाबी गरे ।


सुमन राजधानीको स्वयम्भू क्षेत्रमा बस्छन् । उनले त्यहाँ बिहानदेखि बेलुकाको दैनिकी नियाल्ने क्रममा फलफूल, तरकारी, फूल, ताजा मासु व्यापारदेखि देहव्यापारसम्म हुने गरेको बताए । उनले छातैछाताको प्रयोग गर्दै स्वयम्भूलाई पेन्टिङमा उतारेका छन् । मिथिलामा छातालाई प्रोटेक्सन अर्थात् सुरक्षाको संकेत मानिन्छ । पेन्टिङमा देखिएका मानिस, जनावर सबैलाई छाता छ, सबै सुरक्षित छन् तर स्वयम्भूलाई छाता छैन । उनले भने, ‘मानिस, जनावर त सुरक्षित छन्, तर स्वयम्भू जस्तो सम्पदाको पनि हामीले सुरक्षा गर्नुपर्छ । त्यहाँको वातावरण मैलो हुन दिनु हुन्न भन्ने मेरो मनसाय हो ।’


उनको एउटा पेन्टिङमा तराईका वनजंगल विनाशका कथा छन् । उनी सानै छँदा घर अगाडिबाटै पूर्व–पश्चिम राजमार्गका लागि रूख काटेर बाटो बनाइएको र गाडी गुडाइएको देखेका थिए । अहिले बन्दै गरेको निजगढ विमानस्थलका लागि पनि धेरै रुखहरू काट्ने समाचार आइरहँदा उनी यसबारे पेन्टिङ नबनाई बस्न सकेनन् । उक्त पेन्टिङकै अगाडि भुइँमा विभिन्न अन्नहरूले भरिएको घैला र मण्डला बनाएका छन् उनले ।


‘वन मास्दा जनावरहरूसँगै मधेसी मूलका मानिसहरू पनि विस्थापित भएका छन्,’ उनी भन्छन्, ‘तराई अन्नको भण्डार हो । यसरी जमिन वा वातावरण मास्दै गयो भने थरीथरीका अन्नहरू पाइन छाड्छ । अनि मानिस कसरी बाँच्छ ? यही चिन्ताले पेन्टिङ बनाएको हुँ ।’ प्रदर्शनी फागुन ८ गतेसम्म चल्नेछ ।

प्रकाशित : माघ १५, २०७५ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?