कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

गुरुदेवको सुरमय सन्ध्या

काठमाडौँ — शास्त्रीय सङ्गीतकार एवं गायक गुरुदेव कामतले राजधानीमा सुरमय सन्ध्या कार्यत्रम आयोजना गरेका छन् । कार्यक्रममा क्लासिकल बाहेक १३ वटा गीत/गजल प्रस्तुत गरे । 

गुरुदेवको सुरमय सन्ध्या

खचाखच भरिएको राष्ट्रिय नाचघरमा पण्डित होमनाथ उपाध्यायको रचना ‘मालिनी तिम्रो सुन्दर केशमा’ प्रस्तुत गरिरहँदा दर्शक र स्रोतादीर्घामा एकछिन सन्नाटा नै छाएको थियो । तर, बीच–बीचमा तालीको गडगडाहटले उनीहरू खुबै मनोरञ्जन प्राप्त गरिरहेको महसुस हुन्थ्यो ।


राग कला बन्तिमा गाइएको यो गीतमा अधिकांश युवा दर्शकहरू झुम्मिनु भनेको शास्त्रीय सङ्गीतका लागि सकारात्मक सङ्केत मान्न सकिन्छ । ठुमरी राग ‘मान्द’मा पण्डित होमनाथकै अर्को गीत ‘किन गयो प्रदेश प्रितमा’ले त श्रोताहरूलाई उठेरै ताली बजाउन बाध्य पारेको थियो । सिटमा उठ्नुको रहस्यबारे कार्यक्रममा सहभागी जनकपुरका प्रेम विदेहले भन्दै थिए, ‘ रचनाकार र गायक दुवैलाई सम्मान प्रकट गर्न उठेको हुनुपर्छ । ’


गुरुदेव कामतको सुरमय सन्ध्याको यो २३ औँ शृंखलामा शनिवार कालिप्रसाद रिजालको ‘मधुवन पनि नयाँ–नयाँ, मधुमास नयाँ–नयाँ ’ बोलको गीतले कार्यक्रममा उपस्थिति सबैलाई झुमाएकै थिए । यसैगरी, कालिकान्त तृषितको ‘सखुवा वृक्ष कहे फुलबरिया सुन भेलै हमरो प्रदेश हो रामा, कतेह गेलै सुरमा सलहेस’ बोलको मैथिली गीत कार्यक्रममा प्रस्तुत गरिएको थियो । गायकले आधा दर्जन नेपाली गजल प्रस्तुति गरेका थिए ।


कार्यक्रममा समाजसेवी तथा कलाप्रेमी प्रभातसागर सिंह प्रधानलाई गुरुकुल सङ्गीत पाठशालाले सम्मान गरेको थियो । गुरुदेवको यो प्रस्तुति सुन्न मुम्बईलाई आफ्नो कर्मथलो बनाएका गायक/अभिनेता मुरलीधरको समेत उपस्थिति थियो । गुरुकुल सङ्गीत पाठशालाको आयोजनामा भएको कार्यक्रमको सहआयोजक तराई–मधेस प्रतिष्ठान नेपाल रहेको थियो ।

प्रकाशित : चैत्र १८, २०७५ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?