कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

काठमा कुँदिएका कामकला

सुशीला तामा‌ङ

काठमाडौँ — काठमाडौं उपत्यकाभित्रका मठमन्दिरहरू नेपाली काष्ठकलाका अद्भुत नमुना मानिन्छन् । यी धार्मिक–सांस्कृतिक सम्पदामा लिच्छविकालदेखि मल्ल र शाहकालसम्मका कलाकृति हेर्न सकिन्छ । मल्लकालमा उत्कर्षमा पुगेको तन्त्रवाद होस् या कामसूत्र ज्ञान, मन्दिरका टुँडाल, झ्याल र काठे तोरणहरूमा कुँदिएका आकृतिबाटै प्रस्ट हुन्छ ।

काठमा कुँदिएका कामकला

यस्तै आकृतिबाट प्रभावित भएर उड कार्भिङ (काष्ठकला) मा लोभलाग्दो काम गरेका छन्, मूर्तिकार इन्द्रप्रसाद शिल्पकारले । एक सातादेखि उनको कलाकृति बौद्धस्थित तारागाउँ म्युजियममा प्रदर्शनरत छन् ।


आठौं शताब्दीदेखिको प्रभावलाई उनले मूर्तिमा उतारेका छन् । बौद्ध र हिन्दु देवी–देउताहरूको फिगरलाई यथार्थवादी शैलीमा ढालेका छन् । मूर्ति हेर्दै जाँदा काठमा कुँदिएका भगवान् संवाद गर्न तम्तयारझैं लाग्छन् । लोभलाग्दो त के भने उनले यी मूर्तिकला कल्पनाको आधारमा बनाएका हैनन्, काठमाडौं उपत्यकाभित्रका विभिन्न ऐतिहासिक सम्पदामाथि कुँदिएका आकृतिको कलात्मक नक्कल गरेका हुन् । उनका मूर्ति नियाल्दै जाँदा सिंगो उपत्यकाका मन्दिर, ढुंगेधारा, देवल, सत्तल र दरबार क्षेत्र घुमेको महसुस हुन्छ । १० औं शताब्दीतिरै काठमा कुँदिएको विद्याधर, १७ औँ शताब्दीको अन्त्यतिर मन्दिरका ढोकामा राख्न बनाइने गणेश, भैरव–भैरवी, सर्प र गरुडका आकृतिसहितको काठे तोरणमा नेपाली परम्परागत मूर्तिकलाको अद्भुत दृश्य मात्रै हैन, तत्कालीन नेपाली समाजको सांस्कृतिक र धार्मिक लगाव पनि अनुभूत गर्न सकिन्छ ।


‘यी अनुपम कलाको महत्त्वबारे नयाँ पुस्ता लगभग बेखबरजस्तै बन्दै गइरहेको छ,’ भक्तपुरमा इन्द्रप्रसादले भने, ‘पुरानो कला शिल्प, ज्ञान र शैली युवा पुस्तामा हस्तान्तरण र प्रवर्द्धन गर्न सघाउ पुगोस् भन्ने मेरो चाहना हो ।’ त्रिभुवन विश्वविद्यालयबाट समसामयिक मूर्तिकलामा स्नातकोत्तर गरेका इन्द्रप्रसाद आफैंमा परम्परागत कलाका उत्तराधिकारीजस्तै हुन् । उनका अनुसार मल्लकालमा काष्ठकलाका काम शिल्पकार समुदायको उत्तरदायित्वभित्रै पर्न आउँथ्यो । उनका पुर्खाहरूका धेरैजसो समय काठमा भगवान् कुँदेरै बिते ।


विसं. १६७८ मा राजा जितामित्र मल्लले भक्तपुरको सुन्धरा बनाउन लगाउने क्रममा भगिरथ, गणेश र गंगाको मूर्ति बनाउन लाए । भक्तपुरका शिल्पकारले जितामित्रको आग्रहलाई दुरुस्तै उतारे । इन्द्रप्रसादले भने त्यही सुन्धाराको मूर्तिको प्रभावलाई काठमा कुँदेर ग्यालरीमा प्रदर्शनी गर्न ल्याए । उनले जस्ताको तस्तै उतारेको मूर्ति निकै लोभलाग्दो देखिन्छ । त्यस्तै नवौं शताब्दीतिर काष्ठकलामा पोखिएको नेवारी पौरखको प्रमाण दिने ‘सालाभान्जिका’ पाटन दरबार क्षेत्रमा पाइने १८ औं शताब्दीतिरको सिंहको ‘कीर्तिमुख’, गन्धर्व जातिको बाजा र संस्कृति देखाउने वाद्ययन्त्रसहितका मूर्तिकला निकै सुन्दर छन् ।


प्रदर्शनीमा शिल्पकारद्वारा नै निर्माण गरिएका पुराना मन्दिरमा पाइने कामसूत्रमा आधारित मूर्तिकला पनि राखिएका छन् । ‘प्राचीन समाजमा यौनशिक्षा दिने कुनै माध्यम नहुँदा तिनै कलामार्फत नै अभिव्यक्त भएको हुन सक्ने’ उनको अनुमान छ । ‘त्यतिबेलै कलामा त्यस्तो क्रान्तिकारी कदम चालिइसकिएको रहेछ,’ उनले आफ्नो अनुभवसमेत जोडेर भने, ‘हाम्रो समाज भने अझै पनि उतिसाह्रो खुल्न सकेको छैन । ती पुराना कलाकृति पनि सहजताका साथ हेर्न र चर्चा गर्न मानिस हिच्किचाउँछन् ।’ कामसूत्र झल्किने मूर्तिको प्रतिकृति तयार पार्न आफैंलाई पनि परिवारमा अप्ठ्यारो लागेको उनले सुनाए ।


सकसमा काष्ठकला

इन्द्रप्रसादका अनुसार परम्परागत कलाको प्राचीन इतिहास बुझन् हामीसँग गम्भीर र अनुसन्धानमूलक सामग्री तयार भइसकेका छैनन् । प्राज्ञिक रूपमा यसको जगेर्नाको काम पनि हुन सकेको छैन । यसलाई बुझेर उतार्ने दक्ष जनशक्ति पनि छैन । ‘सबैले पुराना मन्दिर र दरबारमा रहेका कलाकृति अवलोकन गरेकै आधारमा बनाइरहेका छन्,’ उनले भने, ‘यस्तो बाध्यताबाट हाम्रो मूर्तिकला अघि बढिरहेको छ ।’ आफूले पनि सैद्धान्तिक रूपमा भन्दा पनि पुर्ख्यौली पेसालाई नै आधार बनाएर यस क्षेत्रमा प्रवेश गरेको उनले बताए । ‘काष्ठकलाप्रति नयाँ पुस्ताको पनि चासो निकै कम रहेकोले पुस्तान्तरण हुन सकेको छैन,’ उनले भने, ‘भूकम्पपछि सांस्कृतिक सम्पदाको पुनर्निर्माणको माग भए पनि काम गर्ने मानिसको अभाव छ ।’


पुरानो प्रकृतिको काम गर्न काठको अभावसमेत हुने उनले सुनाए । ‘भनेजस्तो काठ पाउन मुस्किल छ’, उनले भने, ‘पाइए पनि व्यापारीहरूले मनलाग्दो मूल्य तोक्छन् । सरकारबाट कलाकर्मका लागि सहुलियत छैन ।’ त्यस्तै काष्ठकलाका पुराना अभिलेखहरू व्यवस्थित हुन नसक्दा पनि इतिहास लोप हुने खतरातिर अघि बढिरहेको छ । ‘मन्दिर, ढुंगेधारा, सत्तल लगायत पुरानो थलोमा रहेका कला पनि जीर्ण भएर गएका छन्,’ उनले भने, ‘संरक्षण गर्ने निकाय उदासिन छ ।’ उनको प्रदर्शनी पनि बुधबारसम्म जारी रहने छ ।

प्रकाशित : असार २५, २०७६ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?