३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

पत्रकारिताको इतिहासमा दोहोरिएको खोट

सन्दर्भ : वैशाख २४ राष्ट्रिय पत्रकारिता दिवस
गणेश राई

काठमाडौं — जित्नेहरूको मात्र इतिहास लेख्ने र हार्नेहरूको जतिसुकै योगदान भएपनि आँखा चिम्लिने कामको झाङ नेपाली आमसंचार तथा पत्रकारिता फाँटमा पनि मौलाएको छ । त्यसको पछिल्लो उदाहरण हो– नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षका रुपमा घोषणा गरिएको व्यक्ति कृष्णप्रसाद भट्टराई ।

पत्रकारिताको इतिहासमा दोहोरिएको खोट

पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई जो पूर्वपत्रकार र महासंघको अध्यक्ष पनि हुन् । महासंघको संस्थापक अध्यक्ष रहेको भन्दै पूर्ववर्ती कोइराला नेतृत्वको सरकारले ‘कृष्णप्रसाद भट्टराई आमसंचार प्रतिष्ठान’ गठन गर्ने निर्णय गरेपछि मात्र इतिहासमाथि गम्भीर त्रुटि भएको आवाज उठ्यो । नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ हुन् भन्ने सतहमा आयो ।

वर्तमान सरकारले देशको पहिलो सरकारी छापामाध्यम ‘गोर्खापत्र’ प्रकाशन भएको (वि.सं.१९५८) वैशाख २४ गतेलाई ‘राष्ट्रिय पत्रकारिता दिवस’का रुपमा मनाउने निर्णय गरेको छ । त्यसैअनुसार आउदो वैशाख २४ गते पहिलो पटक ‘राष्ट्रिय पत्रकारिता दिवस’ मनाउन गइरहेका छौं । छापा माध्यममा नेपाली भाषाको पहिलो पत्रिका ‘गोर्खा भारत जीवन’ हो जुन बनारसबाट प्रकाशित थियो । त्यसैगरी स्वदेशबाटै १९५५ मा प्रकाशित पहिलो नेपाली भाषाको पत्रिका ‘सुधार सागर’ हो । तर, अहिले ‘गोर्खापत्र’ (गोरखापत्र) प्रकाशन मितिलाई आधार मानिएको छ ।

आमसंचार माध्यम भनेको छापामा ‘गोर्खापत्र’ र विद्युतीयमा ‘रेडियो नेपाल’ भन्ने पुस्ता अझै जिवित छन् । भलै, नेपाल टेलिभिजनको ३० वर्षे यात्रापछि दर्जक संख्यामा टिभी र पछिल्लो दुई दशकमा साढे चारसय एफएम रेडियो मौलाएका छन् । न्यूमिडियाका अनेकरुपहरू वर्तमान पुस्ताका हातहातमा पुगेको अवस्था छ ।

सत्य, तथ्य, विश्वसनीयता आमसंचारको प्रमुख सिद्धान्त हो । तर, नेपालको आमसंचार इतिहासलाई सत्य, तथ्य र विश्वसनी हुन नसक्नु विडम्बना जस्तै छ । इतिहासलाई नाफाका हिसाबले लिंदा निश्चित जाति, समुदायका निम्ति गर्व गर्ने ठाउँ बन्ला तर त्यो न्यायिक हुन्न । बँग्याएर इतिहास लेख्नु स्वार्थ सिद्धिमात्र हो, भेल आउनु अघिसम्म रुखको छहारीमा लुक्नु जत्तिकै हो । अन्तत: रुखसहित सबै बग्ने नै हो । नेपाली पत्रकारिताको इतिहासको धेरै पाटाहरु छन् । जसको सही मूल्यांकन गरिएको छैन ।

यतिखेर रेडियो नेपालले चैत २० गते आफ्नो ६६औं वार्षित्सव मनाइसकेको छ । २००७ साल चैत २० गते ‘प्रजातन्त्र नेपाल रेडियो’को नाममा काठमाडौंको सिंहरदरबारमा प्रसारण शुभारम्भ भएको हो । पछि ‘नेपाल रेडियो’ र केही पछि ‘रेडियो नेपाल’ नामाकरण गरियो जुन आजसम्म अविच्छिन्न प्रसारण भइरहेछ । वार्षिकोत्सवलाई विशेष बनाउने क्रममा सरकारले रेडियो नेपालका संस्थापक तारिणीप्रसाद कोइरालाको स्मृतिमा विराटनगरमा ‘तारिणीप्रसाद प्रसाद कोइराला स्मृति संचारग्राम’ स्थापना गर्दैछ । स्मृति संचारग्राम बन्नु सराहनीय पक्ष हो । ०७ सालको प्रजातान्त्रिक आन्दोलन सशस्त्र क्रान्तिको उद्घोषबाट ‘रेडियो नेपाल’ को स्थापना भएको हो । हो, नेपालमा प्रजातन्त्र स्थापना गर्नको लागि कोइराला परिवारको अुतलनीय योगदान छ । त्यही क्रान्ति उद्घोषमा रेडियोबाट उद्घोषण गर्ने पहिलो र साँच्चिकै संस्थापक तारिणीप्रसादमात्रै हुन् त ? इतिहास यहींनेर खड्किन्छ । वास्तविक शिल्पीहरुलाई ओझेलमा पारेको देखिन्छ ।

‘यो प्रजातन्त्र नेपाल रेडियो हो । हामी मुक्तिसंग्रामको कुनै अज्ञात मोर्चाबाट बोलिरहेका छौं .....।’ क्रान्तिको दौरानमा नेपाली आकाशमा फैलिएको रेडियो आवाज यही थियो । तारिणीप्रसाद कोइरालाले ‘रेडियो नेपालको जन्म’ आलेखमा भनेका छन्– ‘धेरै दिन अज्ञात रहन सकेन किनकि यसको संचालकले यसलाई धेरै दिनसम्म अज्ञात राख्न चाहेन, त्यसकारण १५–२० दिनपछि एक दिने नेपालमा क्रान्ति–उत्सुक जनताले आफ्नो रेडियोमा प्रजातन्त्र नेपाल रेडियोको आवाज सुने– ‘हामी विराटनगर मुक्तिसंग्रामको मोर्चाबाट सारा देशवासीलाई नमस्कार गर्दछौं ।’ ०७ मा प्रजातन्त्र बहालीपछिको प्रसंग उद्धृत गर्दै लेखेका छन्, ‘त्यस बेलासम्म काठमाण्डुमा केन्द्रीय संयुक्त मन्त्रिमण्डलको गठन भइसकेको थियो । मलाई राम्ररी सम्झना छ कि २५ मार्चका दिन मलाई त्यसबेलाका गृहमन्त्री बीपी कोइरालाले तुरुन्त काठमाण्डु आउने आज्ञा दिनुभयो । भेट हुनासाथ विराटनगरको रेडियो स्टेसनलाई काठमाण्डुमा ल्याउनु पर्छ । सकेसम्म चाँडो यहाँ सार्ने र यहींबाट ब्रोडकास्ट हुने व्यवस्था गर । .. त्यसपछि फष्ट अप्रेलदेखि राजधानीमा ब्रोडकाष्ट गर्न अर्डर दिनुभयो । मैले फष्ट अप्रेलमा नथालौं, त्यो ‘फूल्स डे’ हो भनें । त्यसो हो भने सेकेण्ड अप्रेल भनेर आफ्नो काममा लाग्नुभयो ।... एक दिन दिउँसो विराटनगरको प्रजातन्त्र रेडियो ब्रोडकाष्ट गर्‍यो– ‘भोलिको कार्यक्रम हामी काठमाण्डुबाट प्रसारण गर्नेछौं । विराटनगरबाट विदा हुन्छौं । नमस्ते ।’ यो राजेन्द्रप्रसादको आवाज थियो । भोलिपल्ट २ अप्रेलका दिन प्रजातन्त्र नेपाल रेडियोले ब्रोडकाष्ट गर्‍यो– ‘यो प्रजातन्त्र नेपाल रेडियोको आवाज हो– ४१ मिटर बैण्डमा हामी काठमाडौंबाट बोलिरहेका छौं ।’(वन्त र अरु (सम्पा., २०६१), रेडियो नेपालको सामाजिक इतिहास, काठमाडौं : मार्टिन चौतारी)

आमसंचार शक्ति हो । त्यसको महत्व १९५८ साल वैशाख २४ अघिदेखि नै विश्वव्यापी थियो । आमसंचार छापामाध्यम पढेलेखका अक्षर चिन्नेका निम्तिमात्र हो भने रेडियो निरक्षर, दृष्टिहीनले समेत सुन्न, बुझ्न सुसूचित हुनसक्ने ठूला, साना सबै उमेर समूहका निम्ति एकमात्र प्रभावकारी विद्युतीय माध्यम हो । जहाँनियाँ राणाशासनको अन्तिम घडीतिर क्रान्तिको विगुल फुक्दै ‘प्रजातन्त्र नेपाल रेडियो’ स्थापना हुनु आफैमा ऐतिहासिक कार्य हो । ऐतिहासिक क्रान्तिसँगै जन्माइएको रेडियोको इतिहासलाई सही ढंगले प्रस्तुत हुनु उत्तिकै महत्वको विषय हो ।

०७ सालको प्रजातन्त्रका सेनानी नारदमुनि थुलुङले २००७ सालको जनक्रान्तिका सन्दर्भमा लेखिएको पुस्तक ‘बिर्सेका अनुहारहरु : बिर्सन नसकिएका घटनाहरु’ (दो.सं.२०४५)मा उल्लेख गरेअनुसार उक्त रेडियो विराटनगरमा नभई भोजपुरबाट प्रसारण आरम्भ भएको थियो । थुलुङ सन् १९३९ मा दोस्रो विश्वयुद्ध लडेका ब्रिटिस–इण्डियन आर्मी थिए । उनले युद्धपछि स्वदेश फर्केर नेपालको प्रजातान्त्रिक आन्दोलनमा माझकिरातका भूपू आर्मीहरु संगठित गरी सफल नेतृत्व गरेका थिए  । ‘लडाइँमा गएको फौजी बहादुरले फष्टमा पुगेका रहलपहलबारे सेनाहरु बटुलबाटुल पार्दै फर्काउनेमा परियो । उसैबेला एथेन्समा गई युरोपमा गएका सबै लडाकु फौजहरुलाई लडाइँ शान्त भएको र अब हामी सबै आ–आफ्नो देशमा फर्किनु पर्ने सन्देश रेडियोद्वारा सुनाउनेमा मलाई नै खटाएको हुनाले एथेन्समा गई सोहीअनुसार रेडियो सन्देश दिएँ । सायद यसप्रकार रेडियोमा बोल्ने मौका पाउने गोरखालीमा सर्वप्रथम म नै थिएँ हुँला ।
त्यो पनि लडाइँको सट्टा मौका पाएकोमा आफूलाई धन्य सम्झँदै बटालियनमा फर्कें ।’ (पाना नं.४६) दोस्रो विश्वयुद्धको अन्तपछिको प्रसंगमा लेखेका छन् । ‘मेरो सहयोगदेखि खुशी भएका कमाण्डिङ, स्वयं म चाहिं बटालियनमा रहन नचाहेको कुराले उनको मन साह्रै दुख्न गयो । मलाई फकाउन थाले । तर म भने आफ्नो लक्ष्य भंग गर्न तयार थिइनँ । किनभने बाल्यजीवनदेखि आएका अनुभवहरु र दोस्रो विश्वयुद्धले दिएको अनुभव आफ्नै देशमा पनि घटाउने विचार थियो । मैले आफ्नो जिकिर छाडिनँ । (पाना नं.४७)

आत्मसंस्मरणमा थुलुङले आफ्ना कमजोरीसमेत खुलस्त पारेका छन् भने नेतृत्व र घटनाको फेहरिस्त खुलाएका छन् । ‘भोजपुर कब्जा भएको (२००७ साल मंसिर २४ गते) पाँचौ दिनदेखि नै राणाकालका आकाशवाणी वायरलेसलाई प्रचार तथा प्रसारको साधन बनाई ब्रोडकाष्टिङ रेडियो स्टेसनको रुपमा थालिएको थियो । यस रेडियो स्टेशनको ब्रोडकाष्टिङ सर्वप्रथम जयन्द्र थपलियालाई गर्न दिएको थिएँ । रेडियोबाट बिहान र बेलुकी दुई समय समाचार प्रसार हुन्थ्यो । जयन्द्रले सेन्सर नगराई धनकुटामा आक्रमण गर्ने समय र स्थानको सूचना ब्रोडकाष्ट गरिदिनाले धनकुटाका राणा पक्षबाट रात बीचबाट पाख्रीवासमा ७ जना भोजपुरेहरुलाई मारेका थिए । पछि विराटनगरबाटै ब्रोडकाष्टिङ हुन थालेको थियो ।....’ (पाना नं.९३) संस्मरणमा छ, ‘ ...२००७ साल मंसिर २५ गतेदेखि ‘स्वतन्त्र नेपाल रेडियो’ भनी भोजपुर हेडक्वार्टरबाट प्रचारप्रसार गर्ने गरिएको थियो । जो पछि तारणी कोइरालालले यो प्रचारप्रसार गर्ने काम हामी विराटनगरेलाई दिनुहोस भनी अनुरोध गर्दा ‘हुन्छ त आजदेखि तपाईहरुले नै गर्नू’ भनी माघ २० गतेदेखि विराटनगरेलाई गर्न दिएँ ।’ (पाना नं.१५३)

यस हिसाबले प्रजातन्त्र नेपाल रेडियोको पहिलो उद्घोष भोजपुरबाट भएको थियो । त्यसपछि विराटनगर र ०७ चैत २० गतेबाट सिंहदरबार काठमाडौंबाट निरन्तर आजसम्म रेडियो नेपाल गुन्जिरहेको छ । चाखलाग्दो पक्ष के हो भने थुलुङले ब्रिटिस–इन्डिया आर्मीमा जमदार दर्जाबाट फर्किदा रेडियोको उपकरणसमेत भोजपुरमा रेडियो भित्र्याएका थिए । जहाँसम्म संस्थापक व्यक्तिको सन्दर्भमा क्रान्तिकै जगलाई आधार मान्ने हो भने भोजपुर अनि त्यसमा पनि नारदमुनि थुलुङ हुन् भन्न सकिन्छ । नत्र सर्वसाधारणले रेडियो राख्न पाउने फुकुवा (२००३)को हुकुम गर्ने पद्मशमशेर र मोहनशमशेरको ‘मोहन आकाशवाणी’ (२००५)लाई नै आधार मान्नु पर्ने देखिन्छ । यस घडीमा आमसंचारमा योगदानकर्ताहरुको सम्झना र सम्मानको खाँचो खड्किएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल सरकारले ती इतिहास र निष्पक्ष ढंगले केलाउने अनि क्रान्तिका नायकहरुको भूमिकालाई सम्मान गर्ने अवसर आएको छ । नकि जित्नेहरुको मात्र इतिहास खोजी । ‘राष्ट्रिय पत्रकारिता दिवस’ मनाइरहँदा आधुनिक नेपालको निर्माणमा योगदान गर्नेहरुको इतिहासलाई अवमूल्यन गर्न मिल्दैन ।

प्रकाशित : वैशाख २४, २०७३ १३:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?