कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

गाउँमा चिनियाँ

विद्या राई

घुमफिर खुब मनपर्छ । नयाँ ठाउँ, नयाँ वस्तु, नयाँ व्यक्तिसँग घुलमिल हुन मन पर्छ । फुर्सद भयो कि सदरमुकामबाट थोरै भए पनि बाहिर निस्कनै पर्छ ।

गाउँमा चिनियाँ

समूहमा भन्दा पनि एक्लै डुल्दा आनन्द लाग्छ । म हिँडेको कुरा टिममा त्यति धेरै थाहा हुँदैन । अलि टाढा जाँदा फोन अफ पारेर हिँड्न झन् रमाइलो ! यसो हुँदा आफ्नै तालमा धित मरुन्जेल यात्रा गर्न र मानिसहरूसँग कुरा गर्न सकिन्छ । सााच्चै डुलघुम गरेको भान हुन्छ ।

केही दिनअगाडि सदरमुकामदेखि ३७ किमि उत्तर दिंलाबजार जाने योजना बन्यो । सामान्य रुघाखोकी लागेको थियो । सदरमुकामको तुलनामा दिंला अलि चिस्यान हो । तर रुघाखोकीले के छेक्थ्यो र ? बिहान अलि चाँडै उठेर बाफ लिए । तातो सुप पिए । एन्टिबायोटिक औषधिको एउटा गोली खाए । जाडो छल्न ज्याकेट, जुत्ता, हातमा पन्जा, शरीर ढाक्ने न्यानो कपडा लगाए । 

त्यसपछि आधा घण्टा माथि पानीटयांकी काउन्टरमा निस्किएँ । माथि पुग्दा बिहानको ६:३० बजेको थियो । ५ सय रुपैयाँको एउटा टिकट लिए । जिपमा यात्रुको गणपूरक संख्या पुगेकै रहेनछ । नजिकै होटलमा गएर बसें । दाहिनेपट्टि केही यात्री थिए । टेबलमाथि सिसाको ग्लास । ग्लासभित्र रातोरातो गाढा रंगजस्तै देखिने पेय पदार्थ प्रस्टै देखिन्थ्यो । पिउँदै, गफिंदै थिए । तर गफ बुझिएन । आखिर उनीहरू पनि म जसरी नै गाडीको गणपूरक संख्यालाई कुर्दै थिए । लामो, चुच्चो नाक भएका एक अधबैंसे पुरुष मदेखि सम्मुखमा बसेका थिए । नजिकै अधबैंसे उमेरकी एक महिला थिइन् । उनीहरूको गफचाहिं प्रस्टै सुनिन्थ्यो । 

पुरुषको बोली असामान्य किसिमको सुनिन्थ्यो । ‘तपाईंलाई दिंला जाने गाडी चढाइदिन्छु, म काठमाडौं जान्छु, भोजपुर जिल्ला, मेरो किल्ला, दस हजार पैसा दिने भए दे... तपाईंले मेरो चिन्ता लिनु पर्दैन...,’ ती पुरुष महिलासँग यस्तै बोल्दै थिए । ‘बिचरा ! किन दु:ख हजुरलाई,’ महिलाले प्रतिउत्तर नरम भाषामै फर्काउँदै थिइन् । मलाई भने उनीहरूको संवाद अनौठो लागिरहेको थियो । पुरुषले बोलेको वाक्यमा पहिलो शब्द तपाई र त्यसपछिका शब्दहरूले द्विविधा सिर्जना गरिरहेको थियो । तपाईं भन्ने सम्बोधनले देवर–भाउजू या त दिदी–भाइ हुन् कि भन्ने लाग्थ्यो । त्यसपछिका शब्दले श्रीमान्–श्रीमती हुन् कि । अर्कोतर्फ लाग्थ्यो, श्रीमान्ले श्रीमतीलाई कसरी तपाईं भनेर सम्बोधन गर्ला ।

‘आज राति साह्रै तनाव भो, मैले बिहानै टुच्च पिएँ, पिएँ त के भो, तपाईंको सम्पत्ति खाएको होइन,’ पुरुषले भन्यो । ‘साह्रै तनाव भो नि हजुर,’ महिलाले जवाफ लगाइन् । ‘१० हजार पैसा दिनुहोस्, म काठमाडौं पुगेर आउँछु, होइन भने यही २० रुपैयाँको पनि अर्को गिलास टुच्च लाइदिन्छु, मास्टरसँग डराइँदैन क्यारे,’ गोजीको २० रुपैयाँ नोट देखाउँदै पुरुषले फेरि भन्यो । ‘भोजपुर जिल्ला तपाईंको किल्लामा बिचरा खर्च चाहियो र...,’ महिलाको जवाफ । खासमा उनीहरूबीचको साइनो नै बुझिनँ । 

एक घण्टापछि बल्ल १३ जना यात्रु भयौं । ड्राइभरसँगैको सिटमा यात्रु दुई जना बसे । दोस्रो सिटमा ४ जना अटिने थियो । पहिला म बसें । त्यसपछि थप ३ जना । ती अधबैंसे पुरुष र महिला पनि त्यही सिटमा परेछन् । पुरुषको बोली सुनेर होटलमै अवाक भइसकेको थिएँ । अब त झन् छेवैमा । म महिलाको छेउमा सरें । ७:३० बजे जिप दिंला लाग्यो । 

कच्ची सडकमा चिल्लो जिपसँगै हामी उकालो लाग्यौं । ती पुरुष फेरि बर्बरिन थाले । के–के बोले बोले... तिनले । ती महिला चुपचाप थिइन्, इसाराले नबोल्न संकेत गर्दै थिइन् । एक घण्टा उकालो निस्केपछि हिलाम्मे बाटो भेटियो । सबैले ओर्लनुपर्ने भयो । महिलाको सहनशीलता देखेर उनीसँग कुरा गर्न चाहें । मैले आफ्नो परिचय दिएँ, उनले पनि । बल्ल थाहा भयो उनीहरू श्रीमान्–श्रीमती रहेछन् । दिंलाबासी, एक सम्भ्रान्त ब्राह्मण समुदायका । धरान जाने टिमसँग बसेर श्रीमान्ले बिहानै टुच्च पिएका रहेछन् । त्यही भएर श्रीमान्ले ‘तपाईं’ भनेर सम्बोधन गरेका रे । ‘जहिल्यै यस्तै हो बहिनी, बूढोले डेग छाड्यो भनेर आफूले छाड्न मिलेन,’ उनको वाक्यले झन् कुरा गर्न मन लाग्यो । उनको बोलीमा दम थियो । उनी एउटा विद्यालयमा पढाएर अवकाश पाएकी रहिछन् । शिक्षित महिला । उनका श्रीमान् पनि अशिक्षित होइनन् । जमानामै बीए गरेका । ‘उहाँको सबै बानी–व्यहोरा राम्रा, पिउने बानी साह्रै नराम्रो’ उनले भनिन् । तर पनि उनी निराश थिइनन् । ‘छोराछोरी सबैलाई काठमाडौंमा राखेर डिग्री पढाएँ, उनीहरूकै भरोसा छ,’ उनले भनिन् । 
०००

साढे ३ घण्टापछि दिंला बजारमा ओर्लियौं । दिंलामा पहिलो पटक पाइला टेक्दै थिएँ । मेरो मिसन रुद्राक्ष दाना र चिनियाँहरूको चहलपहलबारे रिपोर्टिङ गर्ने थियो । थोरै ओर्लिएपछि दिंलाबजारका पत्रकार उमेश अधिकारी दाइसँग भेट भयो । दिंलाबजारमा रुद्राक्षको ठूलो कारोबार चल्छ भनेर पढेको मात्र थिएँ । कसरी चल्छ व्यापार, चिनियाँ कस्ता हुन्छन्, नजिकबाट नियाल्न पाएको थिइनँ । 

थोरै अगाडिको पसलअगाडि स्कुटी पार्क गरिएको थियो । भित्र केही मानिस देखिन्थे । हेर्दा राई समुदायका जस्ता । गोरा, नाकचाहिँ मेरोजस्तै थेप्चो अनि चिम्सा आँखा । चिनियाँ हुन् कि किराती दाजुभाइ हुन् छुट्याउनै सकिनँ । ‘दाइ यिनीहरू राईजस्ता छन् त, यतैका ‘लोकल’ हुन् ?’ मैले उमेश दाइलाई सोधें । ‘लौ चिनिएन, उनीहरू बोलेको सुनौं त,’ दाइले हाँस्दै भने । त्यसपछि कान थापेरै सुनें । उनीहरू त बिल्कुलै फरक भाषामा आफू–आफू बोलिरहेका थिए । 

मैले ब्यागबाट क्यामरा झिकेर तस्बिर लिन थालें । रुद्राक्ष छान्दै गरेको राम्रो तस्बिर खिच्नु थियो । एउटा चिनिया रुद्राक्ष छान्न छाडेर पोज दिन थाल्यो । अर्कोचाहिं अकमक्क परेजस्तो देखिन्थ्यो । स्थानीय व्यापारी योङ्गराज राईसँग सामान्य परिचय भइसकेको थियो । उनले चिनियाँलाई अंग्रेजी भाषामा ‘म पत्रकार हो’ भन्ने चिनाउन थाले । उनीहरूलाई चिनियाँ भाषाबाहेक अंग्रेजी भाषामा ज्ञान थिएनछ । चिनियाँ रुद्राक्ष छान्नपट्टि लागे । ती व्यापारीले त्यति नै बेला एउटा पत्रिकाको पाना देखाएर चिनियाँलाई मेरो काम चिनाउन थाले । चिनियाँले बुझेछ । उसले टाउको हल्लायो । तस्बिर नखिचाउन संकेत गर्न थाल्यो । नभन्दै मेरो क्यामरा नै खोस्न लाग्यो । मैले दिन चाहिरहेको थिइनँ । ‘तस्बिर हेर्नलाई माग्या हो केही गर्दैन’ भनेर व्यापारीले भनेपछि मैले क्यामरा दिएको मात्र के थिएँ । तस्बिर हटाउनै लाग्यो । मैले क्यामरा खोस्न चाहें । बल गरेर उसले आफ्नै नियन्त्रणमा लिन खोज्यो । व्यापारीको मदतमा क्यामरा लिएँ । चिनियाँ रिसायो । त्यहाँ बस्नु उचित नलागेर दाइसँग बजार चहार्नतर्फ लाग्यौं । 

सानो बजार । करिब २ सय जति कच्ची घर । बजारक्षेत्रको थोरै सडक ग्राभेल गरिएको । अन्यत्र सबै धूले कच्ची सडक । कच्ची सडकमा स्कुटी । कोही स्कुटी पार्किङ गरिरहेका । कोही स्कुटी चढेर बजारमा ओहोरदोहोर गरिरहेका । ‘यी स्कुटीवाला सबै चिनियाँ हुन्,’ दाइले चिनियाँ चिन्ने सूचक बताए । एक छिन घुमेर अघि गएकै पसलमा फर्कियौं । व्यापारी केदार राईले क्याल्कुलेटरमा थिचेर मूल्य बताउँदै रहेछन् । चिनियाँलाई महँगो भएछ क्यारे आफूले हाल्ने दाम थिचेर दियो । केदारले हातको इसारामा हुन्छ भनिदिए । चिनियाँले सुट्केसबाट हजारका नोटको बिटा निकालेर व्यापारीलाई थमायो । रुद्राक्षका सुरिला बोट, फलेका दाना, व्यापार गर्न राखिएका दाना र चिनियाँलाई नजिकबाट नियाल्न पाएँ । 

मैले पढ्दा ‘रुद्राक्ष बहुमूल्य वस्तु’ भनेर पढेको थिएँ । एउटा पसलमा सोधें, ‘साहुजी, यो दाना छुन सक्छु ?’ ‘एक हजार रुपैयाँको नोट राखेर मात्र छुनुस्,’ उनले भने । मलाई डर पनि लाग्यो । हुन त उनले ठट्टा मात्र गरेका रहेछन् । त्यत्रा मान्छेका अगाडि पैसा झिकेर धन्न जोकर बन्नुपरेन । ४ घण्टा दिंलाबजारमा घुमेर जिपबाट सदरमुकाम फर्कंदै थिएँ । सदरमुकामबाट दिंला जाने जिपमा पनि चिनियाँहरू बीच बाटामा भेटिए । 

दिंलाबजारमा यो समय रुद्राक्षको कारोबार गर्ने बेला हो । चिनियाँहरूको चहलपहल छ । भाषागत समस्याले गर्दा रुद्राक्ष व्यापारी र चिनियाँ क्याल्कुलेटरमा थिचेर मूल्यको ‘बार्गेनिङ’ गर्छन् । कतिपयले दोभाषे लिएर आउँछन् । मैले भेटाएका चिनियाँसँग दोभाषे थिएनन् । मैले उनीहरूसँग कुरा गर्न पाइनँ । ट्राभलिङ भिसाबाट काठमाडौं छिरेका चिनियाँ संखुवासभाको तुम्लिङटार विमानस्थलमा ओर्लन्छन् । त्यहाँबाट भाडाका स्कुटी चढेर दिंला पुग्छन् । उनीहरू धूले, कच्ची, उकालो सडकमा स्कुटी चढेर दिंला छिर्न थालेको दुई वर्ष मात्र हुँदैछ । पोहोर फाट्टफुट्ट आएका भए पनि यस वर्ष चिनियाँहरूको चहलपहल बाक्लिएको स्थानीयले बताए । चिनियाँहरू रुद्राक्ष किन्न बोटमै आए पनि कारोबारमा गिरावट आएको व्यापारीहरूले गुनासो गरे । उनीहरूले राम्रै दाम दिने तर चिल्ला, थेप्चा, साइज मिलेका, गुणस्तरीय दाना मात्र खरिद गर्ने हुँदा सबैखाले दाना बिकेनछन् । गुणस्तरीय दाना १० देखि २० प्रतिशत मात्र फल्छन् । अन्य ८० प्रतिशत सालाखाला दानाले बजार पाएका छैनन् । पहिले एकैचोटि सबै खाले दाना सिजनमै काठमाडौं निर्यात हुने गरेकाले मनग्य आम्दानी हुन्थ्यो । 

ठूलै कारोबार चल्ने भए पनि रुद्राक्षको बजार र मूल्य यकिन छैन । रुद्राक्षका २१ मुखेजस्ता ठूला र गुणस्तरीय एउटै दाना लाखौंमा कारोबार हुने गर्छ । रुद्राक्ष व्यवसायी संघ गठन गरिएको भए पनि बजारमा अस्वस्थ प्रतिस्पर्धा रोक्न, मूल्य तोक्न, सबै दानाको बजार निक्र्योल गर्न नसकेको उद्योग वाणिज्य संघ दिंलाका रमेश श्रेष्ठले बताए । दिंलाक्षेत्रको मूलपानी, केउरेनीपानी, तुगेंछा, नेपालेडााडा गाविसलाई रुद्राक्षको पकेट क्षेत्र मानिन्छ । 

प्रकाशित : पुस ३, २०७३ १४:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?