तरकारीको मूलबीउमा आत्मनिर्भर

रुकुम (पश्चिम) — तरकारीको ‘मूलबीउ’ उत्पादनमा रुकुम आत्मनिर्भर भएको छ । यहाँका किसानहरूलाई आवश्यक पर्ने मूलबीउ खरिद गर्न बाहिर जानु पर्दैन । जिल्लामै बर्सेनि १३ क्विन्टलभन्दा बढी तरकारीको ‘मूलबीउ’ उत्पादन हुने गरेको छ ।

मुसीकोट नगरपालिका–४ स्थित समशीतोष्ण तरकारी बीउ उत्पादन केन्द्रले हरेक वर्ष बीउ उत्पादनको लक्ष्य १३ क्विन्टल ४० किलो हो । केन्द्रका प्रमुख वरिष्ठ बागवानी विकास अधिकृत रवीन्द्रनाथ चौबेले तरकारीको मूलबीउ उत्पादनको लक्ष्यअनुसार नै बर्सेनि बीउ उत्पादन भैरहेको जनाए ।


०३५ मा स्थापना भएको यस केन्द्रमा प्याज, काउली, मुला, रायो, केराउ, सिमी, चम्सुर, टमाटर, भिन्डी र धनियाको मूलबीउ उत्पादन गर्ने गरेको छ । प्याजमा रेडकुल, काउलीमा काठमाडौं स्थानीय, मुलामा मिनुअर्ली, रायोमा खुमल चौडापात, केराउका अर्केल, सिक्किमे र सिंगापुरे जातको बीउ उत्पादन हुने गरेको चौबेले बताए । उनका अनुसार सिमीमा चौमासे, त्रिशूली, कन्टेन्डर चम्सुरमा स्थानीय, स्वीस चाडमा स्थानीय, टमाटरमा सिर्जना र धनियामा स्थानीय जातको मूलबीउ उत्पादन हुने गर्छ । यसको साथ अन्य तरकारीको बीउ पनि उत्पादन भैरहेको छ ।


यस केन्द्रमा मूलबीउको साथै उन्नत बीउ पनि उत्पादन हुने गरेको छ । हरेक वर्ष ६ देखि ८ क्विन्टलसम्म उन्नत जातको बीउ उत्पादन गरेको जनाइएको छ । उन्नत बीउ जिल्लाका किसानलाई पुगेर पनि बाहिरका जिल्लामा पठाइने गरेको छ । रुकुम (पूर्व), रोल्पा, सल्यान, दाङ, प्यूठान, गुल्मी, अर्घाखॉची, कालीकोट, बाजुरालगायतका जिल्लामा मूलबीउ पठाउने गरेको चौबेले बताए ।


बीउ उत्पादन र त्यसबाट संकलन हुने राजस्व हरेक वर्ष बढेको देखिन्छ । आव ०७२/०७३ मा १५ लाख ९६ हजार ९ सय १४ रुपैयाँ राजस्व संकलन भएकामा ०७३/०७४ मा १५ लाख ६९ हजार २ सय ३८ रुपैयाँ राजस्व उठेको थियो । आव ०७२/०७३ मा अघिल्लो वर्षको स्टक बीउ बिक्री भएकाले आव ०७३/०७४ को भन्दा बढी राजस्व संकलन भएको देखिएको हो । बीउ उत्पादन र बिक्रीको तुलनामा राजस्व बढ्दो क्रममा रहेको केन्द्रले जनाएको छ । चालु आवको ६ महिनामा ११ लाख ४० हजार ५ सय ७८ राजस्व संकलन भैसकेको छ ।

प्रकाशित : माघ ७, २०७४ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?