कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शीतलहरले बालीमा असर

रौतहट — तराई–मधेसमा महिनायता जारी शीतलहर र अत्यधिक चिसोका कारण कृषिबालीमा असर पुगेको छ । चिसोजन्य रोग तथा कीराको प्रकोपले बाली बिग्रन थालेको छ । चिसोले सबैभन्दा बढी मकैबाली, तोरी, मुसुरो, खेसारी र तरकारीलगायतका बालीमा 
असर देखिएको पीडित किसानले बताएका छन । 

बृन्दावन नगरपालिका–३ विश्रामपुरका किसान सचिन्द्र यादवले मकै बालीमा चिसो बढेसँगै बोट नष्ट पार्ने कीराको प्रकोप देखिएको बताए । ‘शीतलहर सुरु हुनुअघि यस्तो समस्या थिएन,’ उनले भने, ‘बालीमा कीराको असर समेत देखा परेको छ ।’ चिसोले मकैको बोटको पात पहेलो हुने, कलिलो पात कक्रिने, कक्रिएको भागमा कीरा देखिने र बोट सुक्नेजस्ता लक्षण देखा परेको उनले बताए । चन्द्रपुर नगरपालिका ६ बेल्डीका किसान रामचन्द्र चौधरीले चिसो र शीतलहरले जिल्लाका प्राय: सबै भागका कृषिबालीमा समस्या देखा परेको बताए । उनले भने, ‘शीतलहरले मेरो पूरै लगानी डुब्ने अवस्था आएको छ ।’ उनले ७ कठ्ठामा मकै बाली लगाएका छन् । बाली जोगाउन विषादी विक्रेताको सल्लाहमा विषादी र भिटामिन मिसाएर एक्सप्रे गरेको उनले सुनाए ।


‘मानिसले चिसोबाट जोगिन कपडा लगाउँछन्,’ उनले भने, ‘बालीलाई कसरी जोगाउने ?’ छरिएको विषादीले पनि राम्ररी काम नगरेको उनले दुखेसो पोखे । चिसोका कारण गाउँमा कृषि कर्मचारीसमेत नआउने गरेको किसानहरूको गुनासो छ । यस क्षेत्रमा खटिएका कृषि प्राविधिक (जेटीए) हालसम्म गाउँमै नआएको चौधरीले बताए । वर्षौंदेखि विषादी विक्रेताकै सल्लाहमा बालीनालीको उपचार गर्दै आएको उनले सुनाए ।


उनी मात्र नभई जिल्लाको अन्य ग्रामीण भेकका किसानले पनि कृषि प्राविधिकभन्दा विषादी विक्रेताकै सल्लाहमा बालीनालीमा लागेको रोगलाई नियन्त्रण गर्न मनोमानी तरिकाले विषादी छर्ने गरेको अगुवा किसानले बताएका छन् ।


स्थानीय तह पुनर्संरचनासँगै जिल्ला कृषि विकास कार्यालयको निर्देशनमा कृषि प्राविधिकहरू स्थानीय तहमा खटिएका छन् । तर, उनीहरू गाउँगाउँमा किसानलाई सेवा पुर्‍याउन नसकेको र किसानको सम्पर्कभन्दा बाहिर रहेको अधिकांश किसानको गुनासो छ ।


कृषि प्राविधिकहरूले भने किसानलाई बालीनालीको संरक्षण र जाडोको प्रकोपबाट जोगाउने उपायबारे जानकारी गराउँदै आएको दाबी गरेका छन् । किसानलाई बालीलाई जाडोबाट जोगाउन औषधिसमेत सिफारिस गर्ने गरिएको एक कृषि प्राविधिकले बताए । यहाँका किसानले कृषिका प्राविधिकभन्दा विषादी विक्रेताको सल्लाहमा बढी विश्वास गर्ने गरेको र आफूहरूसँग सल्लाह नलिने गरेको एक जेटीएले जनाए । जिल्लाको १८ वटै स्थानीय तहमा प्राविधिक तथा जेटीएहरू खटिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।


चिसोले जिल्लाभरि लगाइएको मकै, गहुँ, मुसुरो तथा तरकारी बालीलाई असर पुर्‍याउन थालेको जिल्ला कृषि विकास कार्यालय रौतहटका प्रमुख राजनारायण यादवले बताए । चिसोको प्रकोपबाट बालीलाई जोगाउन गाउँ–गाउँमा खटिएका जेटीए तथा नजिकको कृषि प्राविधिकसँग परामर्श गरी मात्र विषादी प्रयोग गर्न उनले किसानलाई सुझाव दिए । ‘चिसोबाट बाली जोगाउन समयमै उपचार खोज्नुपर्छ,’ उनले भने, ‘किसानको सहयोगका लागि स्थानीय तहमै कृषि प्राविधिक खटिएका छन् ।’


स्थानीय तहमा सम्भव नभए जिल्लामा आएका किसानलाई आफूहरूले रोगको लक्षणको आधारमा औषधि प्रयोग गर्न सिफारिस गर्दै आएको उनले बताए ।

प्रकाशित : माघ ७, २०७४ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?