१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

२३ वर्षमा पनि सकिएन गाईघाट–दिक्तेल सडक

‘प्राथमिकता परेको भए बजेट विनियोजन हुन्थ्यो, बजेट अभावले नै सडक नबनेको हो’ 

उदयपुर (फोक्सिङ्गटार) — सुरु भएको २३ वर्ष बितिसक्दा पनि सगरमाथा राजमार्गअन्तर्गत गाईघाट–दिक्तेल सडक निर्माण सकिएको छैन । ट्रयाक खुलेको वर्षौं भइसक्दा पनि उदयपुर र खोटाङको सीमामा रहेको दूधकोसी नदीमा पक्की पुल निर्माण नहुँदा गाईघाट–दिक्तेल सोझो यातायात सञ्चालनमा समेत समस्या भएको छ ।

पूर्वपश्चिम लोकमार्गअन्र्तगत सप्तरीको कदमाहा र उदयपुर सदरमुकाम गाईघाट हँुदै खोटाङ सदरमुकाम दिक्तेल जोड्ने सडक दुवैतर्फ ट्रयाक खुलेको झन्डै ४ वर्ष बितिसकेको छ । ट्रयाक खुले पनि कोसीमा व्यवस्थित पक्की पुल नहुँदा हिउँदमा पुसदेखि जेठसम्मका लागि बेलिब्रिज लगाएर यातायात सञ्चालन हुने गरेको छ ।


२०५१ सालमा तत्कालीन प्रधामन्त्री मनमोहन अधिकारीले उदयपुरको सदरमुकाम गाईघाटस्थित बोक्सेमा उद्घाटन गरी निर्माण सुरु गरिएको सडक अझै पूरा भएको छैन । ३ वर्षपहिले नै उदयपुरको गाईघाटदेखि रौतामाई गाउँपालिकाको फोक्सिङटारसम्म ट्रयाक खोलिएको थियो । सरकारको प्रत्यक्ष संलग्नतामा गाईघाट–दिक्तेल सडक आयोजनाको कार्यलायले नै खोलेर निर्माण सुरु गरिए पनि बर्सेनि छुट्टिने बजेटका कारण निर्माण ढिलाइ भएको छ । सरकारले सडकलाई महत्त्व दिए पनि बजेट नदिँदा समस्या हुने गरेको हो ।


सडक व्यवस्थित नहुँदा जिल्लाको पहाडी क्षेत्रमा यातायात सञ्चालनमा कठिनाइ भएको छ । हिउँदमा यातायात सञ्चालन भए पनि वर्षातमा सवारी सञ्चालन हुँदा उदयपुरको उत्तरी पहाडका दर्जन र खोटाङको दक्षिण भेगका सर्वसाधारणले समस्या भोग्नुपरेको छ । सधैं सोझो यातायात सञ्चालन नहुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको गुनासो गरेका छन् ।


सरकारको प्राथमिकतामा नपरेका कारण लोकमार्गको काम नभएको खोटाङबाट प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताए । ‘सगरमाथा राजमार्ग सरकारको प्राथमिकता नपर्दा अहिलेसम्म पूरा हुन सकेन,’ सांसद भट्टराईले भने, ‘प्राथमिकता परेको भए बजेट विनियोजन हुन्थ्यो, बजेट अभावले नै सडक नबनेको हो ।’ त्यसो त यस सडकखण्डअन्तर्गत पर्ने फोक्सिङटारस्थित सुनकोसी नदीमा पुल पनि बनेको छैन । गौरी पार्वती निर्माण कम्पनीले ठेक्का पाएको यो सडक पुल आगामी चैत महिनासम्म सम्पन्न गर्ने सहमति भएको सांसद भट्टराईले बताए ।


यस सडकखण्डअन्तर्गत खोटाङको करिब ५० किलोमिटर सडक स्वीस र नेपाल सरकारको लगानीमा ट्रयक खुलेको हो । कच्ची सडक निर्माणमा करिब ६० करोड खर्च भएको छ । तराईसँग सीधा यातायात सम्बन्ध नहुँदा खोटाङवासीलाई समस्या भएको खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजु लयालुले बताए । ‘सीधा यातायात हुने हो भने दैनिक उपभोग्य वस्तुलगायतका अन्य सामग्रीको मूल्य सस्तो हुने थियो ।’ ट्रयाक खुलेका वर्षौंसम्म सडक व्यवस्थित नहुँदा जोखिम मोलेर भए पनि यातायात सञ्चालन गर्नुपरेको व्यवसायीले गुनासो गरेका छन् ।


‘सडक गुणस्तरीय नभए पनि सर्वसाधारणको सुविधाका लागि वस सञ्चालन गरिएको छ,’ हिमाली यातायात व्यवसायी संघका कोषाध्यक्ष विष्णु श्रेष्ठले भने, ‘सम्बन्धित निकायलाई पटकपटक आग्रह गर्दासमेत वास्ता गर्दैनन् ।’ त्यसैले यात्रुको सुविधालाई ध्यानमा राख्दै जोखिम मोलेरै बस सञ्चालन गरिएको उनले बताए ।


सगरमाथा राजमार्ग नामकरण गरिएको यो सडक समयमै सञ्चालन हुने हो भने खोटाङका सर्वसाधारणलाई तराई जाने सबैभन्दा छोटो मार्ग बन्नेछ । तर सुरु भएको २३ वर्ष बितिसक्दा पनि निर्माण कार्य नसकिँदा सर्वसाधारण पैदलयात्रा गर्न बाध्य छन् ।


खोटाङको सदरमुकाम दिक्तेललाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने मुख्य लक्ष्यका साथ यो सडक निर्माण प्रारम्भ गरिएको हो । तर १ सय ५६ किलोमिटर लामो लोकर्माग समयमै पूरा नहुँदा त्यसभन्दापछि सुरु भएको मध्यपहाडी लोकमार्गले खोटाङलाई सञ्जालमा जोडिसकेको छ ।


सदरमुकाम दिक्तेललाई राष्ट्रिय सञ्जालमा जोडे पनि दक्षिण क्षेत्रका झन्डै ३५ र उदयपुरको उत्तरी क्षेत्रका दर्जनभन्दा बढी गाविसका सर्वसाधारण समस्यामा छन् । सडक समयमै नबन्दा विशेषगरी ग्रामीण क्षेत्रमा उत्पादन गरिएको कृषिउपजले बजार पाउन नसकेको स्थानीयको गुनासो छ ।


सुरुमा उदयपुरको गाईघाटदेखि साउनेसम्म सडक निर्माण गरिएको गाईघाट–दिक्तेल सडक आयोजना प्रमुख हरि पोखरेलले बताए । त्यसपछि रानीबाससम्म विस्तार भएपछि बर्सेनि मर्मत मात्रै हुँदै गएको उनले बताए । ‘सालैपिच्छे मर्मत गर्नेबाहेक अन्य काम भएन,’ आयोजना प्रमुख पोखरेलले भने, ‘तर अबको तीन वर्षमा सडकको स्तरोन्नति गरेर पक्की (कालोपत्रे) गरिसक्ने गरी काम भइरहेको छ ।’ विभिन्न प्याकेज बनाएर सडक स्तरोन्नतिसहित कालोपत्रे गर्ने कामका लागि ठेक्काको बन्दोबस्त भई काम भइरहेको उनले बताए । सगरमाथा राजमार्ग उत्तर दक्षिण राजर्माग (भारत र चीन जोड्ने) बहुउद्देश्यीय राजर्मागको रूपमा निर्माण थालिएको हो ।

प्रकाशित : माघ ७, २०७४ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?