कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

कर्णालीको सिमी–फापर थन्कियो

-संस्थानले सिमी र फापरको बजारीकरण गर्न सकेन-गोदाममै ९ सय क्विन्टल सिमी र ७ सय क्विन्टल फापर -यो वर्ष ६ सय ५० क्विन्टल खरिद गरिने
जनक नेपाल

नेपालगन्ज — खाद्य संस्थानले कर्णाली क्षेत्रबाट सिमी, फापर र मास खरिद गर्न थाले पनि बजारीकरण नहुँदा सयौं क्विन्टल गोदाममै थन्किएको छ । ढुवानी अनुदानमा कर्णालीमा चामल बिक्री वितरण गर्दै आएको संस्थानले केही वर्षयता त्यहाँका उत्पादन खरिद गर्न थालेको हो । 
हिमाली भेगको पौष्टिक तथा अर्गानिक सिमी फापरको पर्याप्त प्रचारप्रसार नहुँदा बिकेको छैन । 

खाद्य संस्थानको थापाथलीस्थित गोदाममा ९ सय क्विन्टल सिमी र ७ सय क्विन्टल फापर नबिकेर थन्किएको छ ।


जुम्लाको सिंजामा १ सय १० रुपैयाँ केजी पाइने सिमीको दाल संस्थानले काठमाडौंमा प्रतिकेजी १ सय ५० रुपैयाँमा बिक्री गर्नसमेत सकेको छैन । त्यस्तै ८० रुपैयाँ प्रतिकेजी खरिद गरेको फापर ९० रुपैयाँ केजीमा बिक्री नभएको हो । खुद्रा बिक्रीका लागि आकर्षक प्याकिङ नगरिएकाले पनि आम उपभोक्ताले कर्णालीको सिमी र फापर खरिद गर्न पाएका छैनन् । यस वर्ष भने मूल्य घटाएर भए पनि सिमी र फापर बिक्री गर्ने योजना बनाएको संस्थानले जनाएको छ । संस्थानका महाप्रबन्धक कुमारप्रसाद दाहालले कर्णालीका अर्गानिक उत्पादनको राम्रो प्रचारप्रसार र बजारीकरण गर्न नसक्दा अपेक्षा गरिएजस्तो बिक्री नभएको उनले सुनाए । ‘यसअघि किन्ने योजना बनेछ । बिक्री कसरी गर्ने भन्ने योजना नहुँदा खरिदको अनुपातमा नबिकेको पाइयो,’ उनले भने, ‘अब प्रचारप्रसार गरेर कर्णालीको कोसेलीका रूपमा बिक्री गर्ने योजना बनाउँदै छौं ।’ यो वर्ष खरिदसँगै बिक्रीको योजनासमेत ल्याउन महाप्रबन्धक दाहालले खाद्य संस्थानका शाखाहरूलाई निर्देशन दिएका छन् ।


संस्थानले आफूसँग भएको सिमी फापर बिक्रीसँगै यो वर्ष झन्डै ६ सय ३० क्विन्टल नयाँ खरिद गर्ने भएको छ । हुम्ला, जुम्ला, कालीकोट, मुगुबाट सिमी, फापर र मासको दाल खरिद गर्दै छ । त्यस्तै दैलेखबाट भटमास खरिद गर्दै छ । संस्थानले कालीकोटबाट एक सय क्विन्टल सिमी र ३० क्विन्टल फापर खरिद गर्ने योजना बनाएको छ । त्यस्तै हुम्लाबाट ५० क्विन्टल सिमी, मुगुबाट एक सय क्विन्टल सिमी, ३० क्विन्टल फापर र मास खरिद गर्न लागेको छ । जुम्लाबाट सय क्विन्टल सिमी र ३० क्विन्टल फापर तथा दैलेखबाट १ सय ४० क्विन्टल भटमास खरिद गर्न लागिएको संस्थानले जनाएको छ ।

हुम्लामा भने सिमी खरिद महँगो पर्ने भएकाले अन्योल भएको वरिष्ठ अधिकृत नारायणसिंह केसीले बताए । त्यहाँ सिमी प्रतिकेजी २ सय रुपैयाँ पर्छ । ‘कोटाअनुसार सिमी खरिद गर्नै मुस्किल छ । त्यसैले चामलसँग साट्ने प्रस्ताव गरेको छु,’ उनले भने । दुई केजी चामल बराबर एक केजी सिमी खरिद गर्न सकिने केसीले बताए । संस्थानको हुम्ला शाखाले गत वर्ष १ सय ६० रुपैयाँ केजीको दरले १६ क्विन्टल सिमी खरिद गरेको थियो ।


मुगु र कालीकोटमा भने सिमी, फापर र मास खरिदमा कुनै समस्या छैन । कालीकोटमा खरिद हुने अधिकांश सिमी जुम्ला सिंजा क्षेत्रको हो । त्यहाँ प्रतिकेजी १ सय २५ रुपैयाँमा सिमी खरिद गर्न लागिएको छ । ‘खरिद गर्न कुनै समस्या छैन । गुणस्तर विभागका प्राविधिकले गुणस्तर जाँच गरेपछि मात्र खरिद सुरु गर्नेछौं,’ संस्थान शाखा प्रमुख अनिलकुमार श्रेष्ठले भने, ‘बोरा पनि आइसकेको छैन ।’

मुगुमा प्रतिकेजी १ सय ४० रुपैयाँका दरमा सिमी र ८० रुपैयाँमा फापर खरिद भइरहेको छ । त्यस्तै १ सय ४५ रुपैयाँ प्रतिकेजीका दरले मास खरिद भइरहेको छ । कोटाअनुसारको मास, सिमी र फापर खरिद गर्न कुनै समस्या नभएको शाखा प्रमुख भरतराज खनियाँले बताए । उनले भने, ‘खरिद सुरु भइसकेको छ । राम्रो प्रचारप्रसार गर्न सके कर्णालीका गेडागुडी र फापरले राम्रो बजार लिन सक्छन् ।’

प्रकाशित : माघ ७, २०७४ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?