१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

‘मजदुरलाई रोजगारीको चिन्ता’

रास्कोट (कालिकोट) — रास्कोट नगरपालिका ३ सागाटिया गाउँका ३३ वर्षीय डब्बले सार्की ज्याला मजुरीका लागि १६ वर्षको उमेरदेखि भारत धाउने गर्थे । मंसिरको हिउँदे बाली छरेर कालापहाड जाने सार्की सधैजसो ५ महिना उतै बसेर घरपरिवारका लागि लत्ताकपडा, भाँडाकुँडा र नुनतेलको जोहो गरेर फर्किन्थे ।

भारतको गढवाल, नैनीताल, चमौलीलगायतका ठाउँमा सडक खन्ने, ढुंगा फुटाउने, बोक्ने, इँटा बोक्ने, घरको काम गर्ने, पर्खाल लगाउने, भारी बोक्ने काम गरेर कमाएको ८/१० हजार रुपैयाँ बोकेर घर फर्किन्थे । त्यही रकमबाट कहिले भन्सारमा घूस बुझाउनुपथ्र्यो भने कहिले लुटेराबाट लुटिनुपथ्र्यो ।


तीन छोरी, एक छोरा, पत्नी र आफू गरी ५ जनाको परिवार भएका डब्बलेको खेतबारीको उत्पादनले एक महिना मात्र खान पुग्छ । अरू बेला पाखुरी चलाएर ज्याला मजदुरी नगरी चुलो बल्ने अवस्था छैन । गाउँमा सडक निर्माको काम आएपछि उनको भारत धाउने बाध्यता ३ वर्षदेखि छुटेको थियो । घरमा जहान परिवारसँग बसेर दैनिक ५ सयदेखि ८ सयसम्म कमाइने अवसर उनले पाए । त्यही ज्याला मजदुरीको कमाइबाट नयाँ घर बनाए, ६ पाथी खेत किने । पत्नीलाई गहना पनि हाले । हाल सडकको काम सकिएपछि उनलाई काम खोज्ने पिरलो छ । ‘र्‍याप थ्रीमा काम पाएको थिएँ, निर्माण पूरा भएपछि काम पनि सकियो,’ उनले भने, ‘५ जनाको परिवार कसरी पाल्ने, चिन्ता लागेको छ ।’


चार वर्षअघि कालिकोट–रास्कोटमा ग्रामीण पहुँच कार्यक्रम तेस्रो (र्‍याप ३) ले भारतका गल्ली चहार्नुपर्ने डब्बलेजस्ता मजदुर मात्र होइन, सधैं चुलोचौको, मेलापात र घाँसदाउरा गर्ने महिलाले पनि गाउँमा काम पाएर मनग्गे आम्दानी गरेका छन् ।


रास्कोट ६ की ५० वर्षीया पञ्चा बमले जीवनमा पहिलो पटक आफ्नै गाउँमा निर्माणाधीन सान्नीगाड स्युना सिप्खाना १८ किमि लम्बाइको सडकमा काम गरेर धेरै पैसा कमाइन् । गाईभैंसीलाई घाँस काट्ने, आगो बाल्ने दाउरा खोज्दै बित्ने दैनिकीबाट समय निकालेर सडक खन्ने काम गर्न गइन् । ‘दैनिक ५ सय कमाइ गरेर ११ जनाको परिवार पालेकी थिएँ,’ उनले भनिन्, ‘तीन वर्षको अवधिमा घर खर्च चलाएर अझै केही रकम बचत गरेकी छु ।’ १ लाख रुपैयाँ गाउँमै सयकडा २ रुपैयाँ ब्याजे लगाएकी छन् । अब भने सडकको काम सकिएकाले कसरी परिवार पाल्ने भन्ने चिन्ता उनलाई पनि छ । गाउँमा त धेरै कार्यक्रम आए, र्‍यापजस्तो महिला–पुरुषलाई समान ज्याला दिने, काम गरेको पैसा तलमाथि नगरेर महिनाको अन्तिममा हिसाब गरेर खातामै जम्मा गर्दिने कार्यक्रम नआएको उनको भनाइ छ । उनले स्थानीय लवजमा भनिन्, ‘पुरुष त कमाउन देश (भारत) जान्ना (जालान्), महिलालाई समस्या पर्‍यो ।’


कालिकोटको सान्नीगाड–स्युना– सिप्खाना ग्रामीण सडकले रास्कोट क्षेत्रका ५ सय महिलासहित १ हजार ५ सय घरधुरीलाई ज्याला मजदुरीको काम दिएर दैनिक छाक टार्ने समस्या मात्र टारिदिएको छैन । महिला सशक्तीकरणका लागि पनि काम गरेको छ । स्युनाको सान्नीगाडबाट घण्टांै पैदल उकालो हिँड्नुपर्ने बाटोमा सडक पनि पुगेको छ । तर, यहाँका विपन्न महिला र मजदुर रोजगारी सकिएकोमा चिन्तित छन् ।


सिप्खानाका ४१ वर्षीय धर्मदेव न्यौपाने १३ वर्षको उमेरदेखि ज्याला मजदुरीका लागि भारत धाउन थालेका हुन् । घरबाट ७ दिन पैदल हिँडेर वनवासा पुगेका धर्मदेव भारतको पौडीगढवाल पहाड गएर ३ महिनामा ९ सय कमाएर घर फर्किए । त्यसपछि पनि हरेक हिउँदमा भारत जाने गर्थे । गाउँमा र्‍यापले काम दिएपछि रोजगारीकै लागि भारत धाउने मजदुरको संख्या घट्दै गएको छ ।


गाउँमा ६ जनाको समूह बनाएर बोल्डर (कडा ढुंगा फुटाउने काम) गरेका धर्मदेवले मासिक १८ हजार कमाइ गरे । ७ जनाको परिवारको लालनपालन गरेर २ लाख ५० हजार बचत गरे । त्यही रकमबाट गाउँमै २ लाखमा जग्गा किनेका छन् । जेठा छोरा महेश सिम्खडालाई बोर्डिङ स्कुल भर्ना गरेका छन् । गाउँको काम सकिएकाले उनलाई पनि काम खोज्ने पिरलो छ । ‘गाउँमा छैन,’ सिम्खडाले भने, ‘काम खोज्नकै पिरलो छ ।’ उनले पाखुरी बजारेर ढुंगा फुटाउने, ठूलो ढुंगा बोक्ने पुरुष र महिलालाई समान ज्याला दिएको भने चित्त नबुझेको सुनाए ।


हेमराज शाही ५५ लाई पनि अचेल रास्कोट सडकमा काम सकिएकोमा काम खोज्नको चिन्ता छ । १२ वर्षको उमेरमा गाउँका धनबहादुर शाहीको पछि लागेर कमाइका लागि भारत धाउन थालेका शाहीले जीवनभर कमाएको भन्दा पछिल्लो ३ वर्षमा कमाएको रकम काम लागेको सुनाए ।


आमाबुबा वृद्ध र भाइबहिनी साना भएपछि कक्षा १० को एसईई दिएर ग्रामीण सडकमा एक वर्ष काम गरेकी रास्कोट ६ बड्डालाकी २० वर्षीया लक्ष्मी कार्कीले कमाइको रकमबाट ११ कक्षामा विज्ञान विषय लिएर पढ्ने योजना बनाएकी छन् । एक वर्षमा डेढ लाख कमाइ गरेकी लक्ष्मीले ६५ हजारमा एक लैनो भैंसी किनिन् । बाँकी रकम सदरमुकाम मान्मस्थित राष्ट्रिय वाणिज्य बंैकमा राखेकी छन् । ८ जनाको परिवारलाई लत्ताकपडा पनि बनाएँ । काम सकिएकोमा उनलाई पनि अरूलाई जस्तो दु:ख लागेको छ । उनले जन्माउने आमाबाबुभन्दा काम दिने र्‍याप रास्कोटी जनताका लागि अभिभावक भएको सुनाइन् ।


गाउँ पुग्ने ग्रामीण सडक नहुँदा स्थानीयले सास्ती बेहोर्नुपर्ने बाध्यता थियो । यही बाध्यता अन्त्यका लागि ग्रामीण पहुँच कार्यक्रम तेस्रो (र्‍याप ३) ले रास्कोटी नागरिकको सडक सपना पूरा गरेको छ । ‘टोपी खस्ने उकालोमा पिठ्यूँका भारी छुट्न्या भया ।’ रास्कोट १ का ६४ वर्षीय परिलाल न्यौपानेले खुसी हुँदै स्थानीय लवजमा भने, ‘वर्षांैदेखिको सडक सपना बल्ल पूरा भयो ।’ अगुवा कृषक न्यौपानेले भने, ‘हाम्रो कृषि उपजले पनि बजार पाउन्या भयो ।’ उनले बारीमा लगाएको तरकारी बिक्री गर्ने सडक नहुँदा नगदे बालीको रूपमा अलैंची खेती गरेको सुनाए ।


नेपाल सरकारको सहकार्य र बेलायती सरकारको आर्थिक सहयोगमा ग्रामीण पहुँच कार्यक्रम (तेस्रो चरण) अन्तर्गत कालिकोटको तीन गाविसलाई सडकबाटोमा जोडिएको हो । कार्यक्रमअन्तर्गत एक घर एक रोजगारी दिने उद्देश्यले प्रत्येक घरका परिवारले काम पाएका छन् । उक्त बाटो निर्माणका लागि ३४ करोड ३१ लाख रुपैयाँ खर्च भएको छ । त्यसमध्ये ज्याला भुक्तानीमा मात्र २९ करोड ९६ लाख १४ हजार रुपैयाँ खर्च भएको छ । ‘कार्यक्रम अवधिभर १ हजार ४ सय ८६ घरपरिवारबाट ६ लाख ३० हजार दिन काम भएको जनाइएको छ,’ कार्यक्रमका जिल्ला संयोजक विष्णुराम विष्टले भने, ‘जसमध्ये ३३ प्रतिशत कामदार महिला छन् ।’

प्रकाशित : फाल्गुन १२, २०७४ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?