३० हजारलाई रोजगारी दिने वाङ

धनीका कुरा
दिनेश यादव

काठमाडौँ — एन वाङ एक जना चिनियाँ–अमेरिकी कम्प्युटर इन्जिनियर र आविष्कारक थिए, जसले चुम्बकीय कोर मेमोरी क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएका थिए । कम्प्युटरको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने उनी २० औं शताब्दीका एक सफल उद्यमी पनि थिए ।

३० हजारलाई रोजगारी दिने वाङ

आफ्नै बलबुतामा उनले कम्पनीको स्थापना गरेका थिए । ७ जनवरी १९२० मा चीनको सांघाईमा जन्मेका उनको ७० वर्ष उमेरमा २४ मार्च १९९० मा क्यान्सर रोगबाट निधन भएको थियो ।


वाङ चीनबाट बसाइँसराइ गरी अमेरिका पुगेका थिए । त्यहाँ आफ्नो पौरख र परिश्रमले इलेक्ट्रोनिक उद्योगमा एकजना चर्चित र महत्त्वपूर्ण व्यक्तित्व बन्न सफल भएका थिए । एउटा ‘पल्स ट्रान्फर डिभाइस’ को आविष्कारपछि उनको सफलताको यात्रा सुरु भएको थियो । पछि यो डिभाइस म्याग्नेटिक कोर मेमोरीका लागि ‘ब्रेकथ्रु’ बन्न पुग्यो । उनी विज्ञान तथा प्रविधि क्षेत्रमा आफूलाई व्यस्त राखेपनि व्यापारमा पनि हात हालेका थिए ।


वाङका एकजना अंग्रेजी शिक्षकका जेठा छोरा थिए । शिक्षकका छोरा भएकाले घरमा उनको अनुशासन र संस्कार राम्रो थियो । उनको औपचारिक शिक्षा भने एकै पटक तेस्रो ग्रेडमा ६ वर्ष उमेरमा भर्ना भएपछि सुरु भएको थियो । बुबाबाटै उनले अंग्रेजी सिकेका थिए । उनको इन्ट्रेस्ट विज्ञान र गणितमा खुबै थियो । यी दुई विषयमा उनको प्रस्तुति सधैं अब्बल रहेको थियो । चीनकै सफल विद्यालयमध्येको एक सांघाई प्रोभिन्सियल हाई स्कुलबाट उनले स्कुल शिक्षा पूरा गरेका थिए । सन् १९४० मा चिआओ टुङ विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरेका थिए । द्वितीय विश्वयुद्धका क्रममा वाङले चीनका लागि रेडियो ट्रान्समिटर्स र रिसिभर्सको डिजाइन गरेका थिए । जुन उनको चर्चित आविष्कारमध्येको एक थियो ।


युद्ध समाप्तिपछि उनी प्रशिक्षण कार्यक्रमका लागि अमेरिकाको क्याम्ब्रिजस्थित हार्वार्ड विश्वविद्यालयमा आवेदन दिएका थिए । उक्त विश्वविद्यालयले उनलाई छनोट गर्‍यो । पछि उनी त्यहींबाट सन १९४६ मा स्नातकोत्तरको शिक्षा हासिल गरेका थिए । सन् १९४८ मा हावार्ड विश्वविद्यालयबाट एप्लाइड फिजिक्समा पीएचडीको डिग्री पनि हासिल गरेका थिए । सन् १९५१ मा वाङले आफ्नै इलेक्ट्रोनिक कम्पनी ‘वाङ ल्याबोरेटरिज’ सञ्चालनमा ल्याएका थिए । पहिलो वर्षमा कम्पनीले अपेक्षाकृत आम्दानी दिन सकेन । आफ्नो कम्पनीको विस्तारसमेत उनले गर्न सकेनन् ।


म्याग्नेटिक कोर मेमोरीको प्रयोग गरी बनाइएको आईबीएमलगायतका कम्प्युटर उपकरणका लागि उनले प्याटेन्ट ग्रहण गर्न सफल भएका थिए । त्यसबापत उनले रोयल्टीसमेत प्राप्त गर्न थालेका थिए । त्यसबाट उनको दैनिकी राम्रोसँग चले पनि कम्पनीलाई फुलफ्लेजमा सञ्चालनमा केही समय कठिनाइ भएको थियो । धेरै सोचविचारपछि वाङले आफ्नो प्याटेन्ट ५ लाख अमेरिकी डलरमा बेचेका थिए । उक्त रकम उनले कम्पनीको विस्तारमा खर्चेका थिए । केही वर्षपछि उनले आफ्नो कम्पनीलाई वर्ड प्रोसेसर र साना बिजनेस कम्प्युटरहरू उत्पादन गर्नमा उपयोग गरे । वाङले सन् १९७६ मा पहिलो वर्ड प्रोसेसिङ सिस्टम बेचेका थिए । पछि वाङले कम्पनीबाट क्याल्कुलेटर र वर्ड प्रोसेसर्सको थप उत्पादन थालेका थिए । सन् १९७० को दशकको सुरुमै उनको कम्पनी मिनी कम्प्युटर्स उत्पादनमा सक्रिय भएको थियो ।


वाङले एउटा कोठाबाट थालेको व्यापार केही वर्षभित्रै विस्तार गर्न सफल भएका थिए । पहिले म्यासाच्युसेट्सस्थित टीवक्सबरीमा र पछि लोवेलमा मुख्यालय सञ्चालनमा ल्याएका थिए । त्यसताका कम्पनीमा ३० हजार कर्मचारी थिए । त्यो पनि एउटै केन्द्रमा । सन् १९८६ मा उनी आफ्नो यो कामबाट अवकाश लिँदै जेठा छोरा फ्रेड्रिकलाई कम्पनी हस्तान्तरण गरेका थिए । सधैं केही न केही गरिराख्ने स्वभावका उनी अवकाशपछि पनि आफूलाई सक्रिय राखेका थिए । खासगरी शैक्षिक गतिविधिमा आफूलाई व्यस्त राख्न थालेका थिए ।


कम्पनी छाडेको केही वर्षमै उनको कम्प्युटर उद्योग धराशायी बन्ने अवस्थामा पुग्यो । त्यसपछि सन् १९८९ मा उनी फेरि कम्पनीलाई आफ्नो नेतृत्वमा लिएका थिए । कम्पनीमा फर्केलगत्तै पहिलेझंै आफ्नो ऊर्जा लगाएर माथि उकास्न सफल भएका थिए ।


वाङ पल्स ट्रान्सफर कन्ट्रोल डिभाइसका सहसिर्जनशील थिए । उक्त डिभाइस म्याग्नेटिक कोर मेमोरीका लागि वरदान साबित भएको थियो । यति मात्रै होइन, उनले ‘हाइट आफ्टर रिड साइकल’ को समेत आविष्कार गरेका थिए । यो डिभाइस पनि कम्प्युटर संसारमा क्रान्तिकारी अविष्कारको संज्ञा पाएको थियो । वाङले एउटै केन्द्रमा ३० हजार कर्मचारीलाई रोजगारी दिनेगरी अर्बौं अमेरिकी डलरमा ‘वाड ल्याबोरेटोरिज’ सञ्चालनमा ल्याएका थिए । उनको यो कम्पनी इलेक्ट्रोनिक कम्पनीका रूपमा अमेरिकामा स्थापित भयो ।


वाङले आफ्नो कामलाई लगनशीलताका साथ पूरा गर्थे । त्यसको मूल्यांकन विभिन्न संघसंस्थाले समेत गरेका थिए । सन् १९८६ मा उनले अमेरिकाको फ्रिडम अवार्ड पाएका थिए । सन् १९८८ मा उनी आफूलाई नेसनल इन्भेन्टरका रूपमा परिचय गराउन सफल भएका थिए । उनले इन्स्टिच्युट अफ इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक इन्जिनियर्सको एक फेलोजका रूपमा समेत आफ्नो नाम दर्ज गराएका थिए ।


वाङलाई हार्वाड विश्वविद्यालयले कम्प्युटर विज्ञान र इलेक्ट्रिकल इन्जिनियरिङलाई व्यावसायिकता प्रदान गर्न योगदान पुर्‍याएको भन्दै सम्मान गरेको थियो । पछि उनी अमेरिकी एकेडमी अफ आटर््स एन्ड साइन्सका सदस्य बनेर कला र विज्ञान क्षेत्रमा समेत आफ्नो योगदानलाई पुर्‍याएका थिए । उनी लोवेल टेक्नोलजिकल इन्स्टिच्युटबाट मानार्थ डक्टोरल डिग्रीको उपाधि हासिल गरेका थिए ।


सन् १९४९ मा वाङले लोराइन चिलुलाई पहिलो पटक एउटा पार्टीमा भेटेका थिए । पहिलो नजरमै चिलु वाङको हृदयमा कब्जा गर्न सफल भइन् । पछि उनीसँग विवाह नै गरेका थिए । यी दुई दम्पतीका तीन सन्तान छन् । सन् १९७९ मा उनले वाङ इन्स्टिच्युट अफ ग्य्राजुएट स्टडिजको स्थापना गरेका थिए । उनले बोस्टनमा मेट्रोपोलिटन थिएटर पुन: सञ्चालनमा महत्त्वपूर्ण योगदान पुर्‍याएका थिए । पछि उक्त थिएटर उनले आफ्नै नाम सञ्चालनमा ल्याएका थिए ।


सन् १९८३ मा उनले ‘वाङ थिएटर’ सञ्चालनमा ल्याएका थिए । सन् १९९० मा अमेरिकाको बोस्टनमा क्यान्सरबाट उनको निधन भएको थियो । ‘दि फेमस पिपल्स’ का अनुसार वाङको कुल सम्पत्ति १ दशमलव ६ अर्ब अमेरिकी डलर रहेको थियो ।

(एजेन्सीको सहयोगमा)

प्रकाशित : फाल्गुन १२, २०७४ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?