टनेल खेतीमा युवा

कान्तिपुर संवाददाता

हेटौंडा — मकवानपुरका उत्तरी क्षेत्रका युवाहरूले प्लास्टिकको टनेलमा तरकारी खेती गर्न थालेका छन । टनेलभित्र तरकारी खेती गर्दा आम्दानी राम्रो भएकाले उत्साहित हुँदै थाहा नगरपालिका–६ पाल्चोकका युवाहरूले लाखौं रुपैयाँको लगानीमा तरकारी खेती गर्न हौसिएका हुन् ।

पाल्चोकका सविन श्रेष्ठले यो वर्ष साझेदारीमा र निजी गरेर करिब २५ लाखको लागतमा प्लास्टिकको टनेल बनाएर गोलभेंडा र भेडेखुर्सानीको खेती गर्दै छन् । चार रोपनी जग्गा ५ वर्षको निम्ति भाडामा लिएर आफ्नै लगानीमा २० वटा प्लास्टिकका टनेल निर्माण गरेका छन् । साझेदारीमा पनि आफ्नो भागमा १० वटा टनेल बनाएका छन् । ३० वटा टनेलमध्ये २३ वटामा गोलभेंडा खेती गर्न लागेका छन् भने ७ वटामा भेडेखुर्सानी लगाउन तयारी गरिरहेका छन् । श्रेष्ठले प्लास्टिकको टनेल बनाइसकेका छन् । गोलभेंडा र भेडेखुर्सानीको बेर्ना काठमाडांैबाट ल्याउन लागेका छन् ।

‘काठमाडांैको नर्सरीबाट सरिता र सम्झना जातका गोलभेंडाका बेर्ना ल्याउँदै छौं,’ श्रेष्ठले भने, ‘पोहोर पनि गोलभेंडाको बेर्ना काठमाडांैबाट ल्याएको राम्रै उत्पादन भयो ।’ गत वर्ष उनले चारवटा प्लास्टिकको टनेल बनाएर गोलभेंडा खेती गरेका थिए । गोलभेंडाबाट उनले झन्डै चार लाख रुपैयाँ आम्दानी गर्न सफल भएका थिए । गत वर्ष राम्रो गर्न सफल भएकाले उत्साहित हुँदै श्रेष्ठले निजी र साझेदारी गरेर ३० वटा टनेल बनाएर गोलभेंडा र भेडेखुर्सानीको खेती गर्न लागेको थाहा नपाका कृषि विकास कार्यालय संयोजक सञ्जय तिवारीले बताए । थोपा सिँचाइको व्यवस्था गरेर उनले गोलभेंडा र भेडेखुुर्सानी खेती गर्न लागेका हुन् ।

रासायनिक मल र विषादीरहित अर्गानिक उत्पादन गर्न लागेका हुन् । गोलभेंडा र भेडेखुर्सानी खेतीका लागि उनले २ जना कामदारलाई पनि मासिक तलब दिने गरी राखेका छन् । श्रेष्ठले मात्र होइन पाल्चोककै सचिन कर्माचार्यले पनि गोलभेंडा खेती गर्न थालेका छन् । उनले विगत चार वर्षदेखि टनेल बनाएर गोलभेंडा खेती गर्न थालेका हुन् । गत वर्ष कर्माचार्यले गोलभेंडा खेतीबाट ७ लाख रुपैयाँ खुद आम्दानी गर्न सफल भएका थिए । अहिले उनले पनि २० वटा टनेल निजी र साझेदारीमा १० बाट गरी ३० वटा प्लास्टिकका टनेल बनाएका छन् । श्रेष्ठ र कर्माचार्यले साझेदारीमा २० वटा प्लास्टिकका टनेल बनाएका छन् भने निजी २०/२० वटा छ । कर्माचार्य आफैंले गोलभेंडा र भेडेखुर्सानीको बेर्ना उत्पादन गरेका छन् । ‘बेर्ना काठमाडौंबाट ल्याउन पर्दैन,’ कर्माचार्यले भने, ‘आफूलाई आवश्यक पर्ने बेर्ना आफैंले उत्पादन गरेको छु ।’ पैसा कमाउन मलेसिया गएर एक वर्ष बसेर फर्केका कर्माचार्य टनेलमा गोलभेंडा उत्पादन गर्ने अगुवा कृषकको रूपमा पहिचान बनाउन सफल भएका छन् ।

प्रकाशित : फाल्गुन १३, २०७४ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?