कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

नक्कली हाइब्रिड बीउ बिक्री

केही व्यापारीले नेपालमा दर्ता भएको भारतीय ब्रान्डको मिल्दोजुल्दो नाम राखेर किसानलाई हाइब्रिड बीउको नाममा स्थानीय बीउ (ओपी) बिक्री गरिरहेका छन् । 
भूषण यादव

वीरगन्ज — इजाजत प्राप्त कम्पनीको लोगो मात्रै फेरेर वीरगन्जमा नक्कली हाइब्रिड धानको बीउ बिक्री भइरहेको छ । बढी उब्जनीका लागि किसानले हाइब्रिड बीउ प्रयोग गर्छन् । 

भारतबाट आयात हुने हाइब्रिड बीउ नेपालमा बिक्री वितरणका लागि धान बाली अनुसन्धान केन्द्रबाट परीक्षण गराई इजाजतपत्र लिनुपर्ने प्रावधान छ । तर, केही व्यापारीले नेपालमा दर्ता भएको भारतीय ब्रान्डको मिल्दोजुल्दो नाम राखेर किसानलाई हाइब्रिड बीउको नाममा स्थानीय बीउ (ओपी) बिक्री गरिरहेका छन् ।


पहाड र भित्री मधेसमा यस्ता नक्कली बीउ बढी खपत भइरहेको छ । भारतको महाराष्ट्रस्थित नाथ बायो जिन्सको ‘गोरखनाथ ५०९ हाइब्रिड’ धानको बीउले नेपालमा बिक्री वितरणका लागि इजाजत पाएको हो । केही वर्षयता गोरखनाथसँग मिल्दोजुल्दो गोरखानाथ हाइब्रिड धानको बीउ बिक्री भइरहेको कम्पनीले आरोप लगाएको छ ।


स्थानीय ‘ओपी’ धानलाई हाइब्रिड भन्दै गारेखानाथको प्याकेटमा बजारमा बिक्री गरेको नाथ बायो जिन्सका नेपाल मार्केटिङ म्यानेजनर सञ्जय सिंहले दाबी गरे । गत वर्ष त्रिशूली र हेटौंडामा गोरखनाथसँग मिल्दोजुल्दो नाम राखेर नक्कली हाइब्रिड बीउ बिक्री भइरहेको सूचनाको आधारमा कृषि विकास कार्यालयले २५ जनालाई नियन्त्रणमा लिई कारबाही गरेको सिंहले बताए । त्यही कम्पनीले अहिले आधिकारिक विक्रेताका लागि राष्ट्रिय धान बाली अनुसन्धान केन्द्रमा नमुना परीक्षणका लागि बीउ पठाएको छ ।


भारतमा कागजी कम्पनी खडा गरी डिलर आफैं बनेर बिक्री वितरणका लागि इजाजत लिन बीउ परीक्षणका लागि अनुसन्धान केन्द्रमा पठाएको हो । ‘अनुसन्धान केन्द्रमा दिइएको हाइब्रिड बीउ हाम्रै कम्पनीको हो,’ सिंहले भने, ‘इजाजतका लागि पेस गरिएको भारतीय कम्पनी कागजमा मात्र छ ।’ गुजरातको बडोडरामा ग्रिन प्लान्ट भन्ने हाइब्रिड धानको कम्पनी नै नरहेको उनले दाबी गरे ।


जनकपुरको हर्दिनाथ धानबाली अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत परमानन्द शर्माले काठमाडौंस्थित बीउ नियन्त्रण कार्यालयमा अन्य कम्पनीले आफ्नो बीउ चोरेर अनुसन्धानको लागि दिएको प्रमाणसहित उजुरी गरे इजाजत रद्द हुने बताए । ‘त्यस्ता नक्कली कम्पनीले अरूको हाइब्रिड बीउ बिक्री गर्न पाउँदैनन्,’ शर्माले भने, ‘हामीले अनुसन्धान गरेर रिपोर्ट बीउ नियन्त्रण कार्यालयमा बुझाउँछौँ ।’


एउटा हाइब्रिड बीउ केन्द्रले दुई वर्षसम्म अनुसन्धान गर्ने गरेको छ । एक वर्षको तीन लाख ८० हजार रुपैयाँ परीक्षण शुल्क लिने गरिएको छ । मुलुकभरि यस्ता ४ अनुसन्धान केन्द्र रहेका छन् । नाथ बायो जिन्सका रमेश रन्जनले बीउ नियन्त्रण कार्यालय र अनुसन्धान केन्द्रमा लिखित उजुरी दिने तयारी गरेको जनाए । ‘हाइब्रिड धान उत्पादनका लागि कम्पनीको आफ्नै अनुसन्धान केन्द्र आवश्यक पर्छ,’ उनले भने, ‘ब्रिडिङ गराउने अनुसन्धानकर्ता चाहिन्छ, जुन कम्पनीको आफ्नो केही छैन, त्यसले कसरी हाइब्रिड उत्पादन गर्न सक्छ ।’


नेपालका अनुसन्धान केन्द्रले त्यस्ता कम्पनी अस्तित्वमा रहे/नरहेको पनि अनुसन्धान गर्न जरुरी रहेको उनले सुझाए । हाइब्रिडको नाममा ओपी धानको बीउ बिक्री गर्दा नेपालकै किसानले घाटा बेहोर्नुपर्ने उनले जनाए । ‘मेरो कम्पनीले नेपालमा गत वर्ष झन्डै एक सय ४५ टन हाइब्रिड बीउ बिक्री गर्‍यो’, उनले भने, ‘अहिले बजारमा देखिएको नक्कली कम्पनीले गोरखनाथको लोगो मात्र परिवर्तन गरेर मिल्दोजुल्दो नाम र प्याकेटको रंगमा लोकल ओपी धान राखेर नेपाली किसानलाई बेचिरहेको छ ।

प्रकाशित : फाल्गुन १३, २०७४ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?