कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

कारोबारमा २० कम्पनीले आधा हिस्सा ओगटे

कान्तिपुर संवाददाता

काठमाडौँ — यो साता सेयर बजारमा कारोबार भएका सक्रिय २० कम्पनीमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी मात्र परेका छन् । यसको अर्थ ती कम्पनीका सेयरमा लगानीकर्ताको आकर्षण बढेको छ भन्ने हो ।

कारोबारमा २० कम्पनीले आधा हिस्सा ओगटे

साताभर बजारमा १ सय ७६ कम्पनीको सेयर किनबेच भए पनि २० वटा कम्पनीले कुल कारोबारको झन्डै आधा (करिब ५० प्रतिशत) हिस्सा ओगटेका छन् । साताभरको किनबेचमा सबैभन्दा बढी पटक सेयर कारोबार हुने कम्पनीहरूलाई सक्रिय कम्पनीका रूपमा वर्गीकरण गरिन्छ ।


साताभर १ अर्ब ७० करोड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो । कारोबार रकम गत साताको भन्दा १०.७५ प्रतिशत बढी हो । तीमध्ये सक्रिय २० वटा कम्पनीको मात्र ७३ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यो कुल कारोबारको ४३ प्रतिशत हो । बाँकी १ सय ५६ वटा कम्पनीको कारोबार हिस्सा ५७ प्रतिशत छ । साप्ताहिक व्यापारमा १८ हजार ६ सय ४ कारोबारबाट ४२ लाख ४८ हजार ७ सय ३० कित्ता सेयर खरिद–बिक्री भए । गत साता १६ हजार ६ सय ३८ कारोबारबाट १ सय ७९ कम्पनीको १ अर्ब ५४ करोड १४ लाख २५ हजार रुपैयाँ सेयर कारोबार भएको थियो ।


सेयर कारोबार मापक नेप्से परिसूचक यो साता करिब ३८ अंकले घटयो । साताको पहिलो दिनको तुलनामा नेप्से २६.९२ अंकले मात्र घटेको देखिन्छ । आइतबार १ हजार ४ सय १३.९० विन्दुमा बन्द भएको नेप्से बिहीबार १ हजार ३ सय ८६.९८ अंकमा ओर्लेको छ ।


यो साता सबै कारोबार दिन नेप्से घटयो । गत बिहीबार ३६ अंकले उकालो लागेको नेप्से आइतबारदेखि ओरालो लाग्न थालेको थियो । यो क्रमले साताभर निरन्तरता पायो । यद्यपि, अन्तिम दिन गिरावटको दरमा भने उल्लेख्य सुधार भएको छ । उक्त दिन नेप्से ०.१० को झिनो अंकले मात्र ऋणात्मक रहेको थियो । पछिल्ला दिनहरूमा परिसूचक र कारोबार रकममा खासै सुधार हुन सकेको छैन । नयाँ सरकार गठन भए पनि अर्थ मन्त्रालयको नेतृत्व (अर्थमन्त्री) चयन भइसकेको छैन । यसकारण पुँजी बजारको सन्दर्भमा सरकारले कस्तो नीति अवलम्बन गर्छ भन्ने स्पष्ट नभएकाले लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको विज्ञहरू बताउँछन् ।


साप्ताहिक कारोबारमा सबै समूहका लगानीकर्ताको सम्पत्ति घटयो । तीमध्ये पनि बिमा, जलविद्युत् र होटल समूहका लगानीकर्ताको सम्पत्ति सबैभन्दा धेरैले बढे । उक्त अवधिमा बिमा समूहको परिसूचक २ सय ९०, जलविद्युत्को ८१.२६ र होटलको ६५ अंकले घटे । यसैगरी, बैंकिङ समूहको परिसूचक २७.४९, विकास बैंकको ४९.२९, वित्त कम्पनी १७.३३ र ‘अन्य’ को ११.०९ अंकले ऋणात्मक रहे । साताभरको कुल सेयर कारोबारमा बैंकिङ समूहले ४१.७६ प्रतिशत हिस्सा ओगटेको छ । दोस्रोमा बिमा समूह छ । यो समूहको कारोबार हिस्सा १८.४७ प्रतिशत छ । यसैगरी, विकास बैंकको हिस्सा १०.८६, जलविद्युत् ३.७१, ‘अन्य’ १.४९, संस्थापक सेयर १४.५९ र लघुवित्त समूहको कारोबार हिस्सा ७.२८ प्रतिशत छ ।

प्रकाशित : फाल्गुन १३, २०७४ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?