१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

किसानलाई अनुदानमा स्याउका विरुवा

विमल खतिवडा

काठमाडौँ — सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत किसानलाई ७० प्रतिशत अनुदानमा स्याउका बिरुवा उपलब्ध गराउने भएको छ ।

किसानलाई अनुदानमा स्याउका विरुवा

उच्च घनत्व स्याउ खेती प्रविधिमा लगाउने बिरुवा महँगो भएको गुनासो आएसँगै सरकारले आव ०७५/०७६ का लागि अनुदानमा दिन लागेको हो । परियोजनाले गत साउन २६ गते सूचना प्रकाशित गरेर बिरुवाका लागि आवेदन माग गरेको छ । स्याउको पकेट क्षेत्रसहितका ठाउँमा यो सूचना उपलब्ध गराइएको छ । सूचना प्रकाशित भएसँगै बिरुवाको संख्यासहित माग आउने क्रम बढेको छ ।

‘बर्सेनि ठूलो परिमाणमा स्याउ आयात भइरहेको समयमा परियोजना सञ्चालन भएको ७ वर्षभित्र फलफूलमा आत्मनिर्भर बनाउने लक्ष्य लिएका छौं,’ परियोजनाका निर्देशक नरहरिप्रसाद घिमिरेले भने, ‘त्यसैले व्यावसायिक किसानलाई सहुलियत दिने उद्देश्यले बिरुवा माग गरिएको हो ।’ १५ दिनको समय दिएर बिरुवा चाहिने किसानका लागि आवेदन खुला गरिएको छ । जसका लागि किसानले नजिकको सुपर जोन, जोन वा कृषि ज्ञान केन्द्र (साविकको जिल्ला कृषि विकास कार्यालय) मा गएर बिरुवाको आवश्यक संख्यासहित आवेदन दिन सक्नेछन् । घिमिरेका अनुसार त्यो नभए सूचनामा परियोजना व्यवस्थापन इकाइलाई इमेल गरेर पनि आवेदन पेस गर्न सकिनेछ ।

‘ यो बिरुवा एकजना व्यक्तिले ल्याएर वितरण गर्दै आएका छन्,’ उनले भने, ‘किसानबाट माग छ, महँगो भएकाले मात्र समस्या भएको हो, छोटो समयमा राम्रो फाइदा लिन सकिने भएकाले इटालीबाट बिरुवा ल्याएर अनुदानमा उपलब्ध गराउन लागिएको छ ।’ उनका अनुसार दुई देशको सरकारबीच कुरा गरेर ल्याउन सके किसानले सस्तो मूल्यमा बिरुवा पाउनेछन् । पहिलो प्रयास यही रहने परियोजनाले जनाएको छ ।

‘दुई देशको सरकारसँग मिलेर बिरुवा ल्याउन सकिए सस्तोमा आउने थियो, किसानलाई ७० प्रतिशत अनुदानमा उपलब्ध गराउन सक्दा थोरै मूल्य पर्ने थियो,’ उनले भने,‘ पहिलो प्रयास यही हुनेछ, नभए ठेक्कामार्फत बिरुवा ल्याएर उपलब्ध गराइनेछ ।’ उनका अनुसार ठेक्का गर्ने र घटिघटाउमा कसले दिन सक्छ उहीमार्फत ल्याइनेछ । लगाएको एक वर्षमै स्याउ फल्ने भएकाले किसान आकर्षित भएका हुन् । सूचना प्रकाशित भएसँगै जुम्लाबाट मात्र ६० हजार बिरुवाको मागसहितको आवेदन आएको छ ।

निर्देशक घिमिरेका अनुसार जुम्ला, मुस्ताङ, मनाङ, सोलुखुम्बु, दार्चुला, कालिकोटबाट १ लाख बढीको माग आएको छ । बिरुवाका लागि करिब १० करोड छुटयाइएको परियोजनाले जनाएको छ । ‘बिरुवा अनुदानमा उपलब्ध गराएर उच्च घनत्व स्याउ खेती प्रविधिमार्फत ठूलै स्याउ बगैंचा स्थापना गर्न सकियोस् भन्ने हाम्रो उद्देश्य हो,’ उनले भने, ‘पछिपछि यहीँ बिरुवा उत्पादन गर्ने सोचमा छौं, यसो गर्न सकिए किसानलाई प्रतिबिरुवा ३ सय रुपैयाँ पर्नेछ ।’ पहिले माग संकलन गरिनेछ । मागअनुसार सरकारसँग पहल सुरु गरिनेछ ।

यो पुस–माघमा रोपिन्छ । ‘पहिलो उद्देश्य आयात प्रतिस्थापन गर्नु हो,’ उनले भने, ‘सूचना प्रकाशित भएसँगै माग धेरै आएको छ, अहिले प्रक्रिया सुरु गरेर रोप्ने बेलासम्म हामीले किसानलाई बिरुवा उपलब्ध गराउने छौं ।’ बिरुवा महँगो हुँदा उच्च घनत्व स्याउ खेती प्रविधिमा स्याउ लगाउने किसानको संख्या बढ्न सकेको छैन । थोरै किसानले मात्र यो प्रविधिका महँगा बिरुवा किनेर यो लगाएका छन् ।

स्याउ सुपर जोन जुम्लाका बागबानी विकास अधिकृत जोगेन्द्र कान्दुका अनुसार बिरुवा महँगो भएकै कारण किसानले चाहेर पनि भनेजति स्याउ लगाउन सकेका छैनन् । ‘चितवनको नारायणगढमा आउँदा बिरुवाको मूल्य १ हजार ४ सय पर्छ, त्यहाँबाट ढुवानी गरेर जुम्लासम्म ल्याउँदा १ हजार ५ सय पर्छ,’ उनले भने, ‘स्याउ लगाउन चाहने किसान धेरै छन्, बिरुवा महँगो भएकै कारण किसानको संख्या र क्षेत्रफल बढ्न सकेको छैन ।’ उनका अनुसार सस्तोमा बिरुवा पाउन सके किसानको संख्या बढ्नेछ ।

यसको कलमी गरेर बिरुवा बनाइएको हुन्छ । जुन करिब ९ फिटको हुन्छ । फल्ने हाँगा अर्कै जातको हुन्छ । बिरुवा अग्लो र फल्ने हाँगा रोप्ने गरेकाले चाँडै फल्छ । एम नाइन (जराको नाम) रुट स्टकमा फल्ने विभिन्न जातको स्याउको हाँगा कलमी गरेर जोडेर बिरुवा तयार पारिन्छ । यो बन्न २ वर्ष लाग्छ । ‘ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले अनुदानमा बिरुवा उपलब्ध गराउनु किसानका लागि खुसीको कुरा हो,’ बागबानी केन्द्र सोलुका प्रमुख चन्द्रमान श्रेष्ठले भने, ‘तर, बिरुवा भारतबाट ल्याउनु भएन, इटालीबाटै ल्याएर गुणस्तरीय बिरुवा वितरण गरेर किसानलाई प्रोत्साहित जरुरी छ ।’ बिरुवा सस्तो हुनासाथ किसानको संख्या ह्वात्तै बढ्ने उनले बताए ।

अहिले किसानको मागअनुसार एग्रो मनाङले बिरुवा उपलब्ध गराउँदै आएको छ । एग्रो मनाङका प्रबन्ध निर्देशक युवराज गुरुङका अनुसार बिरुवा महँगो भएकाले माग गर्ने किसान कम छन् । सबैभन्दा धेरै एग्रो मनाङले मनाङकै भ्राताङमा उच्च घनत्व स्याउ खेती प्रविधिमार्फत ५ सय ५० रोपनीमा ६८ हजार बिरुवा लगाएको छ । ५ सय टन उत्पादन हुने अनुमान गरिएको छ । एउटा बिरुवा १ हजार ३ सय ५० देखि १ हजार ४ सय रुपैयाँमा किसानलाई बिक्री गर्ने गरिएको गुरुङले बताए ।

प्रकाशित : भाद्र ३, २०७५ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?