३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

दसैं बिदामा बैंक खुला

कान्तिपुर संवाददाता

काठमाडौँ — यसपालिको दसैं बिदामा पनि बैंक खुला हुने भएका छन् । धेरै नेपालीले मनाउने महान चाड दसैंमा उपभोक्ता बैंकिङ सुविधाबाट वञ्चित नहोउन् भन्ने उद्देश्यले बैंकले बिदाका दिनमा पनि वित्तीय सेवा दिने भएका हुन् ।

दसैं बिदामा बैंक खुला

बिदाको समयमा सबै प्रकारका बैंकिङ सुविधा भने पाइँदैन । सीमित बैंकिङ कारोबार मात्र गर्न पाइन्छ । सीमित बैंकिङ कारोबार भन्नाले बैंकले निक्षेपकर्तालाई दिने न्यूनतम सुविधा हो । यसमा पैसा राख्ने, झिक्ने, चेकबुक, एसएमएस, इ–बैंकिङ, रेमिटयान्स झिक्ने/पठाउनेलगायत सुविधा पर्छन् ।


बिदामा कुनकुन शाखा खुला हुन्छन् भन्ने जानकारीका लागि बैंकले सार्वजनिक रूपमा सूचना जारी गरिसकेका छन् । सूचना बैंकको वेबसाइटमा पनि हेर्न सकिन्छ । आफ्नो खाता रहेको बैंकमा फोन गरेर पनि यसबारेमा जानकारी लिन सकिने बताइएको छ । बिदामा सीमित बैंकिङ सुविधा दिइने भएकाले बैंकले कारोबारको सीमा तोकेका हुन्छ । तर, बचतका लागि सीमा हुँदैन । रकम निकाल्ने, रेमिटयान्स भुक्तानी दिनेलगायतमा भने सीमा तोकिएको हुन्छ । यस्तो सीमा बैंकअनुसार फरकफरक हुन्छ । बैंकले टीकाका दिनबाहेक सबै बिदाका दिन दैनिक २ देखि ३ घन्टा तोकिएका कार्यालय खुला राख्नेछन् । ३ सय ६५ दिन बैंकिङ सेवा दिने बैंकले टीकाको दिन पनि बैंक खोल्ने तयारी गरेका छन् । ती बैंकले थोरै शाखाबाट मात्र सुविधा दिन्छन् ।

त्यसका लागि बैंक तथा वित्तीय संस्था दसैंको तयारीमा गरिसकेका छन् । कुनकुन शाखा सञ्चालन गर्ने, कुन समयमा सञ्चालन गर्ने, नगद व्यवस्थापन तथा सुरक्षा कसरी गर्ने, कर्मचारीको डयुटी कसरी मिलाउनेलगायत कामका लागि बैंक तथा वित्तीय संस्थाले आन्तरिक गृहकार्य सकाइसकेको जनाएका छन् । केही बैंकले केन्द्रीय कार्यालय खुला राख्ने तयारी गरेका छन् भने केहीले प्रमुख शाखामार्फत वित्तीय सेवा दिनेछन् ।


बहुसंख्यक नेपालीको चाड दसैं नेपालमा धेरै बिदा दिने एक मात्र पर्व हो । अन्य पर्वको तुलनामा यो चाडमा पैसाको कारोबार धेरै हुन्छ । त्यसकारण पैसा झिक्न र राख्नका लागि पनि बैंक तथा वित्तीय संस्थाको आवश्यकता पर्छ । सेवाग्राहीको यही आवश्यकता सम्बोधन गर्नका लागि बैंक तथा वित्तीय संस्थाले विगतका वर्षहरूमा जस्तै यस वर्षको दसंै बिदामा पनि कार्यालय खुला राख्ने भएका हुन् ।


बैंकिङ क्षेत्रको विकास र विस्तारसँगै पछिल्ला वर्षहरूमा बैंकहरूबीच प्रतिस्पर्धा पनि बढदै गएको छ । बढदो प्रतिस्पर्धाले सेवाको विविधता र गुणस्तर बढाएको छ । परिणाम बैंक तथा वित्तीय संस्थाले २४सै घन्टा बैंकिङ सेवा/तीन सय ६५ दिनमै बैंकिङ सेवा दिइरहेका छन् । यसपालिको दसैंमा पनि सेवाग्राहीलाई कसरी धेरैभन्दा धेरै सेवा दिने भन्ने प्रतिस्पर्धामा बैंकहरू जुटेका हुन् । पछिल्ला केही वर्षदेखि बैंकले दसैं बिदामा पनि सेवा दिन थालेका हुन् ।


बिदाका दिनमा पनि ग्राहक बैंकिङ सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले केही शाखा खुला राखिने नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष राजनसिंह भण्डारीले बताए । ‘बिदामा पनि नागरिकले सीमित बैंकिङ सेवा पाउन भन्ने हाम्रो उद्देश्य हो,’ उनले भने, ‘त्यसका लागि आवश्यकता र मागका आधारमा निश्चित शाखामार्फत सेवा दिनेछौं ।’ ग्राहकले आफ्नो नजिकको शाखामार्फत रकम झिक्ने र राख्ने काम गर्न सक्ने उनले जनाए ।


हाल ग्राहकहरूले एटीएम, एसएमएस, इन्टरनेट बैंकिङमार्फत २४सै घन्टा बैंकिङ सुविधा प्राप्त गरिरहे पनि दसैं बिदामा बैंकहरूले शाखा खोलेरै सेवा दिने बैंकर्स संघका कार्यकारी सदस्य अशोक सेरचनले बताए । ‘दसैं बिदामा पनि बैंकहरूले निरन्तर रूपमा सेवा सञ्चालन गर्नेछन्,’ उनले भने, ‘आवश्यकताअनुसार काठमाडौं उपत्यकाभित्र र बाहिरका तोकिएका शाखामार्फत सेवा दिने तयारी गरेका छौं ।’


यसैगरी, राष्ट्रिय स्तरका विकास बैंकले पनि दसैं बिदामा ग्राहकलाई बैंकिङ सुविधा दिने तयारी गरेका छन् । ‘विकास बैंकले निश्चित शाखामार्फत दैनिक दुई/तीन घन्टाका दरले सीमित बैंकिङ सुविधा दिनेछन्,’ डेभलपमेन्ट बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष कृष्णराज लामिछानेले बताए ।


चाडबाडको समयमा परिवार एवं साथीसँगै बसेर मिठोमसिनो खाने, रमाइलो गर्ने रहर सबैलाई हुन्छ । तर, बैंक तथा वित्तीय संस्थाका सबै कर्मचारीले त्यो सुविधा पाउँदैनन् । आलोपालोअनुसार कर्मचारी बिदाका दिनमा पनि कार्यालय जानुपर्छ । यसका लागि बैंकले पहिले नै जिम्मेवारी बाँडफाँट गरेका हुन्छन् । दसैं बिदाका दिनमा बैंकले तोकिएका शाखामा दैनिक २ देखि ३ घन्टा खुला राख्छन् ।


सेवाग्राहीको मागका आधारमा कार्यालय समय पनि बिहान, दिउसो र साँझ गरी तय गरिएको हुन्छ । तर, यसपालि धेरै बैंकले बिहान ११ बजेदेखि दिउसो २ बजेसम्म बैंक खुला हुनेछन् । त्यही सिफ्टका आधारमा कर्मचारीहरूको पनि डयुटी निर्धारण गरिएको हुन्छ । रमाइलो पक्ष के छ भने दसैं बिदाको समयमा कार्यालय आउने कर्मचारीलाई आकर्षक सुविधा दिइने बैंकले जनाएका छन् ।

प्रकाशित : आश्विन २९, २०७५ २०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?