कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हेटौंडा सिमेन्टले क्षमता विस्तार गर्दै

कान्तिपुर संवाददाता

हेटौंडा — सरकारी स्वामित्वमा रहेको हेटौंडा सिमेन्टले आफ्नो क्षमता विस्तार गर्न सुरु गरेको छ  । निजी क्षेत्रबाट सञ्चालित उद्योगहरूसँग प्रतिस्पर्धामा गर्न क्षमता विस्तार गर्न लागेको हो  ।

हेटौंडा सिमेन्टले क्षमता विस्तार गर्दै

उद्योगले पुराना मेसिनहरूको स्तरोन्नति गरी क्षमता बिस्तार सुरु गरेको जनाएको छ । उद्योगका अनुसार मेसिनहरूको स्तरोन्नतिका लागि उद्योगले ०७४/७५ मा ४५ करोड सञ्चित गरी राखेको छ । ‘स्तरोन्नतिका लागि थप ५५ करोड चालु आर्थिक वर्षमा समेत जोहो गर्ने योजनामा छौं,’ उद्योगका महाप्रबन्धक प्रेमशंकर सिंहले भने, ‘आगामी आर्थिक वर्षमा झन्डै एक अर्ब खर्चिएर सिमेन्ट उद्योगको क्षमता विस्तार गरी उत्पादन बढाउँछौं ।’


निजी क्षेत्रबाट विस्थापित सिमेन्ट उद्योगहरूले हेटौंडा सिमेन्टसँग मूल्यमा प्रतिस्पर्धा गर्न थालेपछि सिमेन्टको मूल्य घटाउन उत्पादन बृद्धि गर्ने योजनामा उद्योग लागेको छ । उद्योगले सिमेन्ट उत्पादन गर्ने किल (भट्टी) का सामानहरू नयाँ प्रविधिसहित जडान गर्न रकमका सञ्चित गर्दै आएको छ । ०४२ मा जडान गरेको मेसिनबाट अब उत्पादकत्व घट्दै गइरहेको र बेलाबेलामा समस्यासमेत आइरहेका कारण नयाँ प्रविधियुक्त उपकरणहरू ल्याउन लागिएको सिंहले बताए ।

उद्योगको क्षमता बिस्तार गर्नेबितिक्कै हेटौंडा सिमेन्टसँग निजी उद्योगले प्रतिस्पर्धा गर्न नसक्ने दाबी उनको छ । हाल दैनिक सात सय ५० टन सिमेन्ट उत्पादन भइरहेको छ । क्षमता बिस्तार गरी दैनिक दुई हजार टनसम्म सिमेन्ट उत्पादन गर्ने उद्योगको लक्ष्य छ । हेटौडा उपमहानगरपालिका–९ स्थित सिमेन्ट उद्योग विगत दुई वर्षदेखि मुनाफामा सञ्चालित छ ।

प्रकाशित : कार्तिक ५, २०७५ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?