१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

चक्रपथमा विद्युतीय सवारी: सरकारद्वारा अध्ययन सुरु

विभिन्न व्यक्ति तथा संस्थाले विद्युतीय सवारी सञ्चालन अनुमति मागे पनि स्वीकृति नपाएको गुनासो गरिरहेका छन् ।
दीपेन्द्र विष्ट

काठमाडौँ — सरकारले चक्रपथ (रिङ रोड) मा विद्युतीय सवारी साधन चलाउन अध्ययन सुरु गरेको छ  । बढ्दो प्रदूषण घटाउन नगर विकास कोषले चक्रपथमा ठूला विद्युतीय सवारी साधन चलाउन अध्ययन सुरु गरेको हो  ।

चक्रपथमा विद्युतीय सवारी: सरकारद्वारा अध्ययन सुरु

‘ग्रीन कल्लाइमेट फन्ड’ बाट लगानी जुटाएर रिङ रोडको ८ लेनमा विद्युतीय सवारी साधन चलाउने तयारीस्वरूप अध्ययन सुरु गरेको कोषका कार्यक्रम प्रमुख सुमनमेहर श्रेष्ठले जानकारी दिए । ‘पहिलो चरणमा नमुनाका रूपमा चक्रपथमा अध्ययन गर्दैछौं,’ उनले भने, ‘त्यसपछि अन्य सहरका पनि लागू गर्छौं ।’


मेट्रो ट्रेन, मनो रेलभन्दा निकै सस्तो र न्यून जोखिम भएको उल्लेख गर्दै उनले ३ वर्ष भित्रमा पूरै सहरीभित्र विद्युतीय सवारी साधन चलाउन सकिने दाबी गरे । ‘मेट्रो रेल बनाउँदा संरचना भत्काउनपर्छ, क्षतिपूर्ति दिनुपर्ने हुन्छ,’ उनले भने, ‘अन्डर ग्राउन्ड पूर्वधार बनाउनुपर्छ, तर यो निकै सस्तो छ, चाँडै सम्पन्न पनि हुन्छ ।’ भारतको अहमदाबाद, कोलम्बीयाको बगौटा, इन्डोनेसियालगायत विभिन्न मुलुकमा विद्युतीय सवारी साधन सफल भएको दाबी गर्दै उनले उपत्यका प्रत्येक रुटमा ठूला विद्युतीय सवारी साधन उपयुक्त भएको बताए । यसअघि कोषले सिनामंगल–डिल्लीबजार–दरबारमार्ग–सामाखुशी रुटमा वातावरणमैत्री (युरो फोर मापदण्ड) ठूला बस सञ्चालनमा ल्याइसकेको छ । ‘अब सस्तो विद्युतीय सवारी साधन चलाउन आवश्यक छ,’ उनले भने, ‘उपत्यकाको वातावरण निकै प्रदूषण भइसकेको छ ।


भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वातावरणमैत्री सवारी साधनलाई रुट दिनका लागि काठमाडौं, भक्तपुर र ललितपुरका सडकको अध्ययन गर्न गठित ‘रुट अध्ययन समितिको प्रतिवेदन २०७२’ ले अध्ययन गरेको थियो । उक्त समितिले उपत्यकाको वातावरण प्रदूषण बढ्दै गएको भन्दै विद्युतीय सवारी साधन सञ्चालन गर्न सिफारिस गरेको थियो । मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार २०७१ मा यातायात व्यवस्था विभागका तत्कालीन निर्देशक अर्जुनकुमार थापाको संयोजकत्वमा ४ सदस्यीय समिति गठन भएको थियो । समितिले २०७२ मा प्रतिवेदन बुझाउंँदै उपत्यकाको यातायात प्रणालीलाई सरल, सहज, व्यवस्थित र वातावरणमैत्री बनाउन यातायात कार्यालयमा दर्ता भएका पेट्रोल, डिजेल र ग्यासबाट सञ्चालित सवारी साधनलाई विद्युतीय यातायातका साधनमा रूपान्तरण गर्न सुझाव दिएको थियो । तर, कार्यान्वयन नहुँदा उपत्यकामा विद्युतीय सवारी सञ्चालन हुन सकेको छैन । विभिन्न व्यक्ति र संस्थाले विद्युतीय सवारी सञ्चालन अनुमति मागे पनि स्वीकृति नपाएको गुनासो गरिरहेका छन् ।


यातायात नीति २०७१ मा स्वदेशी उत्पादनलाई प्राथमिकता दिई २०७७ सम्ममा २० प्रतिशतभन्दा बढी वातावरणमैत्री सवारी साधन सञ्चालन गरिने उल्लेख छ । उपत्यकाका विभिन्न रुटमा स्वीकृति दिन प्रतिवेदनमा सिफारिस गरिएको छ । तीन चरण गरेर विभिन्न रुटमा सफा टेम्पो चलाउने प्रतिवेदनमा उल्लेख छ । उपत्यकामा नमुना कार्यक्रम बनाई कार्यान्वयन गरेर क्रमश: काठमाडौंबाहिर विस्तार गर्दै लैजानसमेत समितिले सुझाएको छ । पहिलो चरणमा १ सय ४२ सफा टेम्पो तथा बस सञ्चालन गर्न सिफारिस गरिएको छ । यसमा १४ रुट समावेश छन् । यी रुटमा पुराना सफा टेम्पो पनि सञ्चालनमा छन् । दोस्रो चरणमा १७ रुटलाई सिफारिस गरिएको छ । सिफारिस गरिएका कतिपय रुटमा कुनै पनि सवारी साधन सञ्चालनमा छैनन् । बढीमा ९ किमिमा सफा टेम्पो चलाउनका लागि समितिले सिफारिस गरेको छ । तेस्रो चरणमा ९ रुट कायम गरिएको छ ।


हाल उपत्यकाका १५ रुटमा ७ सय १४ विद्युतीय सफा टेम्पो सञ्चालनमा छन । दिन प्रतिदिन उपत्यकाको वातावरण प्रदूषित हुंँदै गएको उल्लेख गर्दै प्रतिवेदनमा विद्युतीय सवारी साधन आवश्यक भएको उल्लेख छ । उपत्यकामा सवारी उत्सर्जनबाट ३८ प्रतिशत, मर्मत तथा सम्भार, ग्राभेल सडकबाट २५ प्रतिशत, कृषिबाट १८ प्रतिशत, इँटाभट्टाबाट ११ प्रतिशत, पशुपालन (चौपाया) बाट ३ प्रतिशत, अन्य उद्योगबाट ३ प्रतिशत, घरायसी फोहोर जल्दा १ प्रतिशत र अन्य १ प्रतिशत प्रदूषण उत्सर्जन हुने गरेको प्रतिवेदनले औंल्याएको छ ।
‘समितिले ३ वर्षअघि बुझाएको प्रतिवेदन अहिलेसम्म लागू भएको छैन । यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य ढकालले विद्युतीय सवारी साधन चलाउनबारे छलफल भइरहेको जानकारी दिए । ‘अध्ययन भइसकेको छ,’ उनले भने, ‘अब अन्तिम निर्णय गर्न बाँकी छ ।’

प्रकाशित : कार्तिक ५, २०७५ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?