२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

कता हरायो २० क्वीन्टल मरिच ?

लक्ष्मी साह

बारा — साताअघि वीरगन्जको व्यस्त बजारबाट गायब गरिएको १० लाख मूल्य पर्ने २० क्वीन्टल मरिचको अझै पत्तो लागेको छैन  । दिउँसै नाटकीय शैलीमा गायब भएको मरिचबारे प्रहरीले अनुसन्धान नगर्दा घटना रहस्यमय बनेको छ  ।

कता हरायो २० क्वीन्टल मरिच ?

‘क्राइम ब्रान्चको प्रहरी हुँ’ भन्दै परिचय दिई नाटकीय शैलीमा गायब गरिएको मरिचबारे न प्रहरीले न अरू निकायले जिम्मेवारी लिएका छन् । घटना अझै रहस्यमय मोडमा पुगेको छ । गत असोज २८ (आइतबार) मा वीरगन्ज सहरको मुख्य बजारको मुर्ली र पावरहाउस चोकको बीचबाट मरिच गायब गरिएको थियो ।


दुई जनाको समूहले मरिच लोड गरिएको पिकअप भ्यानको चालकलाई नियन्त्रणमा लिई अन्तै लगेर मरिच गायब गरी खाली पिकअप फिर्ता दिइएको थियो । पछिल्ला केही महिनायता तेस्रो मुलुकबाट नेपाल भित्रिएको मरिच प्रहरीको सेटिङमा बारा र पर्साका विभिन्न स्थानीय नाकाबाट भारत तर्फ तस्करी हुने गरेको छ । भारतमा मरिचको खपत बढी र आपूर्ति कम हुने भएकाले तेस्रो मुलुकबाट नेपाल आएको मरिच व्यापारीहरूले बढी मुनाफा कमाउन भारततर्फ अवैध निकासी गर्दै आएको हो ।


‘दसैंको बिदामा सूचना संकलन गर्न समस्या भएकाले अनुसन्धान हुन सकेन, अब अनुसन्धान हुन्छ,’ पर्सा वीरगन्जका प्रहरी उपरीक्षक रेवती ढकालले भने, ‘चालकलाई फेरि बोलाएको छु । अनुसन्धान भएपछि विस्तृत बताउँछु । प्रहरी संलग्नता पाइए बर्खास्त गर्छु, ।’ घटना भएको आठ दिन बितिसक्दा मरिचको अत्तोपत्तो छैन । पिकअप धनीसित मरिच व्यापारीले मरिचको मूल्य तिर्नुपर्ने दाबी गरिरहँदा भाडामा पिकअप दिएका धनीलाई अक्क न बक्क भएको छ । मरिचको मूल्य तिर्न ती व्यापारीले पिकअप धनीको घरमा धम्काएका छन् । ‘व्यस्त बजारबाट दिनदहाडै नाटकीय शैलीमा गायब मरिचबारे अनुसन्धान हुनुपर्छ,’ पिकअप धनी रामबालक साह तेलीले भने, ‘हाम्रो चालकलाई प्रहरीले पनि अनाहकमा २ दिन थुन्यो । र व्यापारीले पनि आक्रोशित भएर कुट्यो । व्यापारीले मरिचको मूल्य तिर्न आफूलाई दबाब दिँदै आइतबार घरमा आएर धम्काएका छन् ।’


घटनाबारे उल्टै प्रहरीबाट थुनिनुपरेको उनले गुनासो गरे । उता चालक थापाको मोबाइल खोसिएकाले उनीसित प्रतिक्रिया लिन सम्भव भएन । ‘पिकअप छाडेर मरिच गायब गर्ने दुई जनाको समुहमा देखिएका दुवैले प्रहरी जस्तो बोल्ने गरेको र कपाल कटिङ र हाउभाउ प्रहरीको जस्तै थियो,’ मोबाइलविहीन बनेका चालक थापाको भनाइ उद्धृत गर्दै पिकअप धनी रामबालकले भने, ‘चालकलाई उनका काका प्रकाश थापाले दसैं मान्न प्रहरीबाट बुझेर गत असोज ३० मा लगेका थिए ।’ प्रहरीले आउँदो कात्र्तिक ८ मा फेरि बोलाएको उनले बताए । ‘प्रहरीले मरिच राखेको भए जिम्मा लिनुपर्यो, नभए व्यस्त बजारबाट दिनदहाडै गायब मरिचबारे प्रहरीले अनुसन्धान गरी तथ्य बाहिर ल्याउनुपर्‍यो,’ मरिच व्यापारी समूहका एक जनाले भने, ‘सुरक्षाको ग्यारेन्टी नै भएन ।’


यसरी गायब गरियो
सर्लाही परवानीपुर–१ का चन्द्रबहादुर थापाले गत आइतवार (असोज २८) कलैयाबाट ना४च २२६१ नम्बरको पिकअप भ्यान लिएर वीरगन्ज गए । ५ हजार भाडामा मरिच बोक्न गएको पिकअपमा उनले वीरगन्जको स्विमिङ पुल आसपासको एक गोदामबाट २० क्वीन्टल कालो मरिच लोड गरे । सिम्रौनगढका ‘सुभाष’ भन्ने व्यापारीको नामले लोड गरेको उक्त मरिच लिएर दिनको साढे २ बजे त्यहाँबाट हिँडे ।


कलैया हुँदै सिम्रौनगढ बजारसम्म पुग्नुपर्ने भएकाले सहरको मुर्लीचोक नकट्दै हुन्डाई सो रुम नजिक मोटरसाइकलमा आएका दुई जनाले पिकअप रोके । ‘क्राइम ब्रान्च (अपराध शाखा) को प्रहरी हुँ ’ भन्दै दुवैले चालक थापासित पिकअपको साँचो, मरिचको भ्याट बिल, ५ हजार नगद, ब्लुबुक खोस्यो । र थापालाई बाइकमा बसाएर ५/६ किमि पश्चिममापर्ने ड्राइपोर्ट तर्फ लग्यो । पिकअप त्यही मुर्ली चोकमै छाडेर ड्राइपोर्टको व्यस्त रोड छेउमा थापालाई लगे । केही बेर राखे । र एकैछिनमा गाडी लिएर छिटो भाग, नभए खतरा हुन्छ भन्दै ड्राइपोर्ट पुऱ्याइएका पिकअप ती समुहले चालक थापालाई जिम्मा लगायो । पिकअप पार्किङ गरिएको रहेछ ।


दुबैले चालक थापालाई पिकअप देखाए । त्यतिखेर पिकअपमा लोड गरिएको मरिच थिएन । मरिच गायब गरेर पिकअप मात्र पार्किङ गरिएको थियो । पिकअपको साँचो पिकअपमै थियो । चालक थापालाई नियन्त्रणमा लिएर अर्कैले गाडी चलाएर मरिच गायब गरेको रहेछ । मरिच गायब गर्ने दुवैले पिकअप भ्यान देखाएपछि चालक थापा डरले रित्तोहात खाली पिकअप लिएर सोझै कलैया हानिए । पिकअप धनीको कलैयास्थित घरमा लिएर आइपुगे । र सबै घटना पिकअप धनीलाई सुनाए ।


घटनाबारे पिकअप धनीले सबै विवरण सुनेर व्यापारी सुभाषलाई फोन गरे । र उनीसहित १० जना घटनास्थल वीरगन्जतर्फ लागे । पर्सा जिल्ला प्रहरी कार्यालय वीरगन्जमा पुगे । प्रहरी उपरिक्षक रेवती ढकाल र क्राइम ब्रान्चको प्रहरी निरिक्षकलाई भेटे । प्रहरीले त्यही बेला चालक थापालाई नियन्त्रण लियो । दुई दिन हिरासतमा राखेर तेस्रो दिन ३० असोजमा उनका आफन्तलाई बोलाएर बुझ्न लगाई छाड्यो । मरिच अझै गायब नै छ । व्यापारी र प्रहरीले चालकमाथि शंका गरिरहेको छ । चालकले आफ्नो संलग्नता अस्वीकार गरिरहेका छन् । चालकको इन्कारीमाथि पिकअप धनी कलैया उपमहानगरपालिका–१ का रामबालक साह तेली सहमत छन् ।


पर्सा जिल्ला वीरगन्जका प्रहरी उपरीक्षक रेवती ढकालले घटनाबारे अनुसन्धान भइरहेको दाबी गरेका छन् । घटनास्थलमा सीसी क्यामराले कैद गरेको फुटेजमा भीडभाड देखाएकाले व्यक्ति चिन्न नसकिए पनि मरिच गायब गर्ने दुबै चढेको बाइकको नम्बर भने पहिचानमा आएको प्रहरी स्रोतले बतायो । यसरी नाटकीय शैलीमा गायब भएको १० लाख बजार मुल्य पर्ने उक्त २५ बोरा (२० क्वीन्टल) मरिचबारे न त प्रहरीले जिम्मेवारी लिएको छ, न त अरू कसैले । त्यसैले घटना रहस्यमय बनेको छ ।

प्रकाशित : कार्तिक ५, २०७५ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?