रबर उद्योग सञ्चालनको पहल

‘उद्योग सञ्चालनमा आए रोजगारी सिर्जना हुने र किसानको आर्थिक स्तरमा वृद्धि हुनेछ’
लालप्रसाद शर्मा

(पोखरा) — गोरखाको मजुवादेउरालीस्थित बन्द गोरखकाली रबर उद्योग पुन: सञ्चालन गर्न सकिने गण्डकी प्रदेशसभाअन्तर्गतको अर्थ तथा विकास समितिले जनाएको छ  । समितिले प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई प्रतिवेदन दिँदै उद्योग पुन: सञ्चालनमा ल्याउन आवश्यक पहल र समन्वय गर्न भनेको छ  ।

रबर उद्योग सञ्चालनको पहल

उद्योगको अवस्थाबारे स्थलगत अध्ययन, निरीक्षण गरी सरोकारवालासँग अन्तरक्रिया र छलफलबाट प्राप्त सुझावका आधारमा समिति उद्योग पुन: सञ्चालन गर्न सकिने निष्कर्षमा पुगेको हो । नेपालकै एकमात्र रबर उद्योग पुन: सञ्चालन गरी स्वदेशमै टायर र ट्युव उत्पादन गर्न सके टायरमा आत्मनिर्भर बन्दै व्यापार घाटा न्यूनीकरण गर्नमा सहज हुने समितिले जनाएको छ ।


साथै, रोजगारी सिर्जना गर्ने र अझै कच्चा पदार्थका लागि आवश्यक रबर प्लान्टको खेती गरी किसानको समेत आर्थिक स्तरमा वृद्धि गराउन सकिने सम्भावना रहेको समितिका सभापति सांसद दीपक कोइरालाले बताए । कार्यरत मजदुर तथा कर्मचारीहरूको उचित व्यवस्थापन,उद्योगसँग भएको अचल सम्पत्तिको राष्ट्रिय नीतिमा समस्या नहुने गरी परिचालन, संघ, प्रदेश, स्थानीय सरकार, साथै नागरिकहरूको समेत आवश्यक उचित समायोजनद्वारा उद्योगलाई पुन: सञ्चालनमा ल्याउन प्रशस्त सम्भावना देखिएको समितिको निष्कर्ष छ ।


चालु पुँजीको अभाव, उत्पादन क्षमताको न्यून प्रयोग, पुरानो प्रविधिका मेसिन, दक्ष जनशक्तिको अभाव, बजारको उचित व्यवस्थापन हुन नसक्नु उद्योग बन्द हुनुका कारण रहेको समितिले ठहर गरेको छ । साथै सञ्चालक समितिको व्यवस्थित कार्ययोजना नहुनु, उद्योगमा भएको अनियमितता र चुहावट रोक्न नसक्नु, राजनीतिक अस्थिरता र संक्रमणकालीन व्यवस्थापन, ऊर्जाको सही व्यवस्थापन हुन नसक्नु जस्ता कारणले उद्योग सही रूपमा सञ्चालनमा आउन नसक्दा बन्द हुन पुगेको समितिले जनाएको छ ।


‘यस्ता समस्यालाई व्यवस्थित रूपमा हल गरी २ देखि ३ अर्ब रुपैयाँको लगानीमा आधुनिक रूपमा सञ्चालन गर्न वा करिव १ अर्बको लगानी गरी पुरानै अवस्थामा सञ्चालनमा ल्याउन सकिन्छ ,’ समितिको प्रतिवेदनमा छ । नेपालको एकमात्र टायर उद्योग साथै नेपाली बजारमा राम्रो पहिचान बनाइसकेको उद्योगको गुणस्तरीय उत्पादन भएकाले बजारीकरणको कुनै समस्या नरहने समितिले जनाएको छ ।


त्यसैले यस उद्योगको पुन: सञ्चालन गर्दा गण्डकी प्रदेश तथा राष्ट्रकै गौरव बढ्ने, सरकारी परियोजना (उद्योग) प्रतिको अविश्वास घटाउन र विदेशी दातृ निकायको विश्वासनियतामा बृद्धि गर्न र आर्थिक समृद्धिको एउटा मजवुद आधार खडा गर्न सकिने भएकाले उद्योग पुन: सञ्चालन गर्नुपर्ने ठहर गरिएको सभापति कोइरालाले बताए ।


समितिले असोज ११ मा उद्योग परिसर, भवन, मेसिनरी उपकरणहरूलगायत सबै भौतिक सम्पत्तिको स्थलगत अध्ययन, निरीक्षण गरेको थियो । साथै उद्योगको बस्तुस्थिति, सञ्चालनमा रहँदाको अवस्था, उद्योग बन्द हुनुको कारण, उद्योगको अहिलेको अवस्था, समस्या, बन्द उद्योग पुन: सञ्चालनमा आउन सक्ने सम्भावना भए/नभएको र सम्चालनको खाका सम्बन्धमा सरोकारवालासमक्ष अन्तरक्रिया र छलफलसमेत चलाएको थियो ।


उद्योग ०७१ चैत अन्तिम सातादेखि बन्द छ । उद्योगमा १५ करोडका मेसिनको आयु दिनप्रतिदिन जीर्ण हुँदै गएको छ । १० करोड बढीको कच्चापदार्थ स्टक रहे पनि अब त्यो काम लाग्ने अवस्थामा छैन । नेपालको अधिकांश सडक कच्ची भएकाले ट्युववाला टायरको बजार अझै सम्भावना रहेको तर हालको व्यवस्थापनबाट उद्योग सञ्चालन गर्न असम्भव रहेको सरोकारवालाले बताएका थिए ।

उद्योग परिसर ६ सय ५४ रोपनी क्षेत्रफलमा फैलिएको छ । त्यसमध्ये १ सय ४३ रोपनीमामात्र उद्योग सञ्चालित छ । ०४१ मा शिलान्यासपछि निर्मित उद्योगले ०४९ मंसिर २९ बाट टायर उत्पादन थालेको थियो ।

प्रकाशित : कार्तिक ६, २०७५ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?