१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

२०१९ को जूनभित्र बनिसक्ला गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ?

माधव ढुंगाना

भैरहवा — यहाँ गौतम बुद्ध अन्तर्राष्ट्रि्य विमानस्थलको निर्माण कार्यले गति लिएको छ  । आयोजना शिलान्यास भएदेखि विभिन्न अवरोधले निर्माण सुस्त थियो  । हाल विमान पार्किङस्थल पिचको काम सकिएको छ । टर्मिनल हाउस निर्माण धमाधम छ । यही गतिमा काम भए निर्धारित समयमा निर्माण कार्य पूरा हुने आयोजनाका निमित्त प्रमुख प्रवेश अधिकारीले बताए ।

२०१९ को जूनभित्र बनिसक्ला गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ?

पछिल्लोपटक सन् २०१९ को जूनभित्र निर्माण कार्य पूरा गर्नुपर्ने गरी म्याद थप गरिएको थियो । ‘सुरुमा ढिलाइका कारण असन्तुष्ट मुख्य लगानीकर्ता एसियाली विकास बैंक अहिले सन्तुष्ट छ,’ उनले भने, ‘आवश्यकताअनुरूप कामदार र उपकारणका साथ हाल दिनरात काम भइरहेको छ ।’


आयोजनाको कुल प्रगति ५५ प्रतिशत पुगेको छ । ६ महिनाअघि प्रगति २५ प्रतिशत हाराहारीमा थियो । बाँकी रहेको ४५ प्रतिशत निर्माण कार्यमध्ये आधा भौतिक र अन्य उपकरण जडानसित सम्बन्धित छन् । ‘भौतिक निर्माण र उपकरण जडान सँगसँगै भइरहेकाले आयोजना पूरा हुन धेरै समय लाग्दैन,’ उनले भने, ‘उपकरण ल्याएर जडान गर्नासाथ प्रगति धेरै माथि पुग्छ ।’


अहिले ३ हजार मिटर लामो धावनमार्गको कालोपत्रे (ब्लाकटप) को अन्तिम तयारी छ । यसका लागि आवश्यक निर्माण सामग्री र उपकरण उपलब्ध छन् । ठेकेदार कम्पनीले आयात गरेका उपकरणबाट उत्पादन भएका सामग्रीको गुणस्तर विभागबाट प्रमाणीकरण हुनासाथ कालोपत्रे सुरु गरिनेछ । निमित्त आयोजना प्रमुख अधिकारीले ब्लाकटपको कार्य ६ महिनाभित्र पूरा गर्ने तयारी भइरहेको बताए । यसका लागि दुईवटा उपकरण आयात गरिएका छन् ।


विमान पार्किङ स्थल र टर्मिनल भवनतर्फ यात्रु आगमनको मुख्य संरचनाको निर्माण कार्य सकिएको छ । प्रस्थानतर्फ तीन तलामध्ये दुईको ढलान भइसकेको छ । प्रशासनिक भवन निर्माण अन्तिम चरणमा छ । भविष्यमा ट्याक्सी वे (हालको रनवे) र निर्माणाधीन रनवेलाई जोड्न, ड्ेरन, कलभर्ट निर्माण, माटो भर्नेलगायतका मुख्य काम भइरहेका छन् । निर्माणमा चिनियाँ कामदारसहित १ सय ५० जना दैनिक परिचालित छन् ।


‘निर्माण सुरु नगरिएको संरचना कुनै पनि छैनन् । अन्तिम रूप दिनमात्र बाँकी हो,’ अधिकारीले भने, ‘आवश्यक उपकरण पनि जडान गर्ने काम भइरहेको छ ।’ ६ महिनाअघिसम्म जमिनमुनिको भाग निर्माण गर्नु परेकाले समय लागेको र अहिले जमिनमाथिको संरचना भएकाले पनि प्रगति छिटो हुन थालेको उनले बताए ।


निर्माण अन्तिम चरणमा पुगेपछि भैरहवा, लुम्बिनी र बुटवल क्षेत्रमा अन्तर्राष्ट्रिय विमानस्थल लक्षित लगानी भित्रिन थालेका छन् । यसले निजी लगानीकर्ता उत्साहित छन् । सिद्धार्थनगर उद्योग वाणिज्य संघका पर्यटन संयोजक तथा व्यवसायी सन्जय बजिमयले ट्राभल्स, होटल र यातायातको क्षेत्रमा स्वदेशी र विदेशी लगानी बढेको बताए । ‘चीन, अस्ट्रेलियालगायत बौद्धिष्ट मुलुक र काठमाडौं, पोखरा, चितवनबाट आन्तरिक लगानी आउन थालेका छन्,’ उनले भने ।

प्रकाशित : कार्तिक ६, २०७५ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?