कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

काबेली ‘ए’ जलविद्युत् अनिश्चित

आनन्द गौतम

ताप्लेजुङ — निर्माण प्रक्रियादेखि नै सुस्त गति लिएको काबेली ‘ए’ जलविद्युत् आयोजनाको काम ठप्प भएको छ । ठेकदारले छोडेर हिँडेपछि दुई महिनायता काम भएको छैन । यसले आयोजनालाई अनिश्चित बनाएको छ ।

चीनको सिभिल तथा हाइड्रोमेकानिकल ठेकेदार चेचियाङ हाइड्रो पावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेसन कम्पनीले आफ्ना सबै मजदुर फर्काएको स्थानीयले बताएका छन् । पहिला सामान्य काम गरिरहेको कम्पनीले पुस दोस्रो सातादेखि भने पूरै काम ठप्प बनाएको प्रवद्र्धधक काबेली इनर्जी कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शेरसिंह भाटले स्विकारे ।


उनले ठेकेदारले एकलौटी रूपमा काम रोकेको दाबी गरे । ताप्लेजुङ र पाँचथरको सिमाना भएर बग्ने काबेली नदीबाट ३७.६ मेगावाट विद्युत् उत्पादनका लागि २०७३ सालबाट निर्माणको काम सुरु भएको थियो ।


कामको गुणस्तरप्रति असन्तुष्टि जनाएसँगै उनीहरूले काम छोडेको प्रवद्र्धक कम्पनीको दाबी छ । ‘अब कसरी बढाउने टुंगो भइसकेको छैन,’ भाटले टेलिफोन सम्पर्कमा भने, ‘ठेकेदारहरू सम्पर्कमा नआए अरू विकल्पको खोजी हुन्छ ।’ अहिले काठमाडौंमा यसै विषयमा छलफल भइरहेको उनले बताए ।


ठेकदार सम्पर्कमा नआए ठेक्का सम्झौता तोड्नेसम्मको काम हुने उनको संकेत छ । निर्माणसुरु भएको दुई वर्षमा २० प्रतिशत काम पूरा भएको प्रवद्र्धक कम्पनीले बताएको छ । ४.३२ किलोमिटरमध्ये १२ सय मिटर मुख्य सुरुङ खनिएको कम्पनीको दाबी छ ।


स्थानीयले भने कामको सुस्तताप्रति आपत्ति जनाउँदै आएका छन् । काबेली सरोकार समितिका अध्यक्ष भवानी लिङदेनले भने, ‘वास्तवमा कामचाहिँ राम्रो गरेका थिएनन् । कामको गति पनि राम्रो थिएन । खै केमा मिलेन, अहिले आयोजनाका मान्छे पनि छैनन् र ठेकदारका मान्छे पनि सबै हिँडिसके ।’


ठेकदारको कामसँग आयोजना सुरु हुँदै स्थानीय व्यवस्थापन काममा सन्तुष्टि नभएको तर केन्द्रले जबरजस्ती लगाएको स्थानीयको बुझाइ छ । यति सहज वातावरणमा पनि काम नगरेके भन्दै स्थानीयले असन्तुष्टि जनाएको बताउने लिङदेन स्रोत दोहनको काम मात्रै भइरहेकामा असन्तुष्ट छन् । ‘हामीले उनीहरूले जे भन्छन् त्यसैमा साथ दियौं, यसरी कामलाई नै गति नदिने, छोडेर हिँड्ने प्रक्रियाले हामी पनि सन्तुष्ट छैनौं,’ लिङदेनले थपे, ‘यसको चाँडो निकास निकालेर काम बढाउन हामीले आयोजनालाई भनिरहेका छौं ।’


सम्झौताअनुसार यो आयोजना २०७७ पुसमा निर्माण सम्पन्न हुनुपर्ने हो । अहिलेसम्म सुरुङबाहेकका भौतिक संरचनाको काम भएकै छैन भने सुरुङमा पनि अवरोध भएपछि निर्धारित समयमा सक्ने सम्भावना घट्दै गएको छ । विश्व बैंकको एक मात्र ऋण लगानीको आयोजनाले गति नलिँदा जनसमर्थन पनि घट्दै गएको छ । विद्युत् विकास विभागले काबेलीको प्रारम्भिक सर्भे तथा पूर्वसम्भाव्यता अध्ययन २०५५ सालमै सुरु गरेको हो । २० वर्षमा निर्माण सुरु भए पनि विवादित बनेको छ ।


विश्व बैंक, अन्तर्राट्रिय वित्तीय निगम (आईएफसी) को ऋण लगानी छ । बुटवल पावर कम्पनीको सहायक काबेली इनर्जीले अघि बढाएको आयोजनामा सिंगापुरको इन्फ्राको एसियाको पनि लगानी छ । आयोजनाबाट २०७७ पुसमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । तर, आयोजनाको निर्माण रोकिएपछि उत्पादन अवधि प्रभावित हुने भएको छ ।


यसको लागत १० करोड २० लाख ८० हजार डलर अनुमान गरिएको छ । यसमध्ये विश्व बैंकअन्तर्गतको अन्तर्राट्रिय विकास निकायले चार करोड, आईएफसीले ३ करोड ८१ लाख १२ हजार अमेरिकी डलर ऋण लगानी गर्ने बताइएको छ । २० प्रतिशत प्रवद्र्धक कम्पनीको रहनेछ । विश्व बैंक र आईएफसीको ८० प्रतिशत ऋण लगानी र प्रवद्र्धक कम्पनीको बाँकी लगानी रहने आयोजनाले जनाएको छ ।


पाँचथरको हिलिहाङ गाउँपालिका अमरपुरको ठूलो धुसेनीमा बाँध बाँधेर निकाल्ने काबेलीको पानी पिनासीघाटमा खसाउने लक्ष्य रहेको छ ।

प्रकाशित : फाल्गुन ५, २०७५ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?