कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

वाग्मतीबाट २५ दिनपछि २२ मेगावाट

प्रताप विष्ट

हेटौंडा — भीमफेदी ८ इपापञ्चकन्याको वाग्मती दोभानमा निर्माणाधीन विद्युत् आयोजनाले २५ पछि दिनपछि २२ मेगावाट विद्युत् उत्पादन गर्ने भएको छ । ढिलोमा फागुन ३० गतेसम्ममा विद्युत् उत्पादन हुने आयोजनाले दाबी गरेको हो ।

वाग्मतीबाट २५ दिनपछि २२ मेगावाट

मंसिरमै विद्युत् उत्पादन गर्ने लक्ष्य लिए पनि पेनेस्टक पाइप जोड्न ढिलाइ भएकाले तीन महिना पछि धकेलिएको हो । पेनेस्टक पाइप जडान गर्न ७ मिटर मात्र बाँकी छ । पेनेस्टक पाइपको लम्बाइ ६ सय मिटर छ । ‘बढीमा साताभित्रै पेनेस्टक पाइप जोड्ने काम सकिन्छ,’ इन्जिनियर शिशिर देवकोटाले भने ।


निजी क्षेत्रको मान्डु हाइड्रो पावर कम्पनी र चिनियाँ कम्पनीको संयुक्त लगानीमा वाग्मतीको पानीबाट विद्युत् उत्पादन गर्ने कार्य अन्तिम चरणमा पुगेको हो । ‘वर्षायामका कारणले केही समय निर्माणका कार्य रोकिएको थियो,’ आयोजनाका आवासीय इन्जिनियर रत्न बोम्जनले भने, ‘पेनेस्टकको केही काम जोखिमपूर्ण स्थानमा रहेकाले काम गर्न ढिलाइ भएको हो । सिभिल वर्क र इलेक्ट्रोमेकानिकलको गरेर ९९ प्रतिशत काम सम्पन्न भइसकेको छ ।’ विद्युत्गृहभित्र उपकरणहरू जडान गरिसकिएको छ ।

विद्युत्गृहको बाहिरी भागमा रंगरोगन लगाउने कार्य भइरहेको छ । उक्त आयोजनाको मुख्य सुरुङ २ हजार ४ सय २४ मिटर लामो रहेको छ ।


विद्युत्गृह क्षेत्रमा अहिले सय जनाले काम गरिरहेका छन् । नेपाल विद्युत् प्राधिकरण र सरकारको लगानीमा मकवानपुरको भैंसेमा कुलेखानी ३ विद्युत् आयोजना सुरु गरेको ११ वर्ष बित्न लागिसक्दा पनि सम्पन्न हुन सकेको छैन । कुलेखानी ३ को परीक्षण उत्पादन चैतको अन्तिमसम्ममा गर्ने लक्ष्यका साथ काम भइरहेको छ । निर्माण कार्य सम्पन्न हुँदा १४ मेगावाट मात्र विद्युत् उत्पादन हुन्छ ।

काठमाडाैंबाट फोहोर बटुल्दै बगेको वाग्मती खोलाको पानीबाट इपापञ्चकन्याको बगरबेंसीस्थित विद्युत्गृहबाट २२ मेगावाट विद्युत् उत्पादन हुने भएको छ ।


वाग्मती खोलाबाट विद्युत् उत्पादन गर्ने यो पहिलो कम्पनी हो । सिइच्वाङ हेइच्वाङ चिनियाँ कम्पनीको सहयोगमा मान्डु हाइड्रो पावर कम्पनीले चार अर्बको लगानीमा वाग्मती साना जलविद्युत् आयोजनाको निर्माण कार्य २०७२ जेठदेखि सुरु गरेको हो । ‘३३ महिनामा विद्युत् उत्पादन गरिसक्छौं,’ मान्डु हाइड्रो कम्पनीका प्राविधिकहरूले दाबी गरेका छन् ।


वाग्मती र कोगटेको पानी इपापञ्चकन्या दोभानमा १० देखि १३ मिटर उचाइको वेयर (बाँध) बनाएर सुरुङमार्फत इपापञ्चकन्याको बगरबेंसीस्थित पावर हाउसमा पुर्‍याएर विद्युत् उत्पादन गरिन्छ । वाग्मतीमा ५५ मिटर लामो वेयर (बाँध) बनाउने काम पनि सम्पन्न भइसकेको छ ।


वाग्मतीको बाँध हुँदै सुरुङबाट प्रतिसेकेन्ड १२ दशमलव ४ क्युसेक पानी बग्ने गर्छ । वाग्मतीमा निर्माण गरिएको बाँधबाट पावर हाउस (विद्युत्गृह) २ हजार ४ सय २४ मिटरको दूरीमा छ । मुख्य सुरुङ अर्थात् टनेलको चौडाइ ३ दशमलव ७ र उचाइ ३ दशमलव ८ डाइमिटर रहेको छ । वाग्मती र कोगटेको पानी थुनेर सुरुङतर्फ लैजान बाँध निर्माण गरेको हो ।


उक्त आयोजनाको सिभिल वर्कको निर्माण कार्य सुरुङ खन्ने, बाँध निर्माण गर्ने र पावर हाउसको सिभिल वर्कको कार्य पनि नेपाली कम्पनी साउथ एसियन इन्फा इस्टक्चरले गरेको हो । नेपाली प्राविधिक र नेपाली मजदुरहरूबाट आयोजनाको सुरुङ खन्ने, बाँध निर्माण, पेनेस्टक पाइप जडान गर्ने स्थल निर्माण गर्ने कार्य गरेको निर्माण कम्पनीका इन्जिनियर महेन्द्र अधिकारीले बताए । उक्त नेपाली कम्पनीले विद्युत् आयोजनाको योभन्दा लामो र जोखिमयुक्त सुरुङ खनिसकेको छ ।


उक्त कम्पनी एक अर्ब २९ करोडमा सिभिल वर्कको निर्माण गर्ने ठेक्का लिएको हो । इपापञ्चकन्याको दोभान र पावर हाउसको रहने क्षेत्र बगरबेंसीबाट गरी दुवैतर्फबाट आयोजनाको सुरुङ खन्ने कार्य गरिएको थियो । २ वटा रोटर रहने उक्त पावर हाउसमा उपकरणहरू जडान भइसकेका छन् । तोकिएको समयमै विद्युत् उत्पादन गरी प्राधिकरणलाई बिक्री गरिनेछ । मान्डु हाइड्रोपावरले नेपाल विद्युत् प्राधिकरणसँग वर्षायाममा प्रतियुनिट ४ रुपैयाँ ४० पैसामा र हिउँदमा ८ रुपैयाँ ४० पैसामा बिक्री गर्ने सम्झौता गरेको छ ।

प्रकाशित : फाल्गुन ५, २०७५ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?