कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पैसा कहाँ छ ?

कान्तिपुर संवाददाता

काठमाडौँ — पैसा कहाँ छ ? यसको जवाफ सबैका लागि रुचिकर हुन सक्छ । कान्तिपुर कन्क्लेभमा सोमबार यही प्रश्नमा उत्तरको खोजी गरियो । व्यक्तिका लागि नभएर देशको विकास निर्माणका लागि लगानीको खोजीमा छलफल केन्द्रित थियो । उक्त सत्रका वक्ताहरूको निचोड थियो— पैसा कहाँ छ भन्ने जानेर मात्र हुन्न, त्यसलाई प्राप्त गर्ने उपाय थाहा पाउनुपर्नेछ ।

पैसा कहाँ छ ?

सन् २०३० सम्म कार्यान्वयन हुने दिगो विकास लक्ष्य कार्यान्वयनका लागि नेपाललाई २० अर्ब डलर आवश्यक पर्ने अनुमान छ । यसको ४५ प्रतिशत लगानी निजी क्षेत्रबाट जुटाउने सरकारको लक्ष्य छ ।


सरकारले लगातार तीव्रतर आर्थिक वृद्धि गरी सन् २०३० सम्ममा नेपाललाई मध्यम आय भएको मुलुकमा पुर्‍याउने अर्को महत्त्वाकांक्षी लक्ष्य लिएको छ । यसका लागि बर्सेनि कम्तीमा २ अर्ब अमेरिकी डलर वैदेशिक लगानी आवश्यक पर्ने अनुमान छ ।


नेपाललाई चाहिने ठूलो पुँजी जुटाउन कसरी सम्भव छ ? भारतीय रेनफरेस्ट कम्पनीका म्यानेजिक पार्टनर अभिषेक कुमारको सुझाव छ, ‘पहिला लगानी गर्ने क्षेत्र देखाउनुपर्छ अनि मात्रै वैदेशिक लगानी भित्रन्छ ।’ आफ्नो सुझावलाई पुष्टि गर्न उनले भारतमा भित्रिने वैदेशिक लगानीको शैलीबारे पनि सुझाए । गत वर्ष भारत चीनलाई पनि उछिनेर सबैभन्दा बढी वैदेशिक लगानी भित्र्याउने मुलुक बनेको छ । भारतमा गत वर्ष ३८ अर्ब अमेरिकी डलर वैदेशिक लगानी भित्रिएको थियो । कसरी यो सम्भव भयो ?


भारतले ठूलो वैदेशिक लगानी भित्र्याउन सक्नुमा विशेषगरी दुई कालखण्ड महत्त्वपूर्ण छन् । सन् १९८० को दशकमा भारतमा खुलेका साना आईटी कम्पनीहरूले विश्वलाई नै आफ्नो दक्षता प्रमाणित गरे । पछिल्ला दशक भने भारतमा आईटीसँग सम्बन्धित स्टार्टअप र साना कम्पनीहरू खुल्ने क्रम बढ्दो छ । दशकौंअघिदेखि भारतीय आईटी कम्पनीले प्रमाणित गरेको आफ्नो दक्षताका कारण भारतको आईटी क्षेत्रमा विदेशी लगानीकर्ताहरू आकर्षित भएको उनको बुझाइ छ । ‘गत वर्ष भित्रिएको मध्ये २० अर्ब डलर यस्तै स्टार्टअप र आईटी कम्पनीका लागि थिए,’ उनले भने । ठूलो वैदेशिक भित्र्याउने आधार तयार गर्न निजी क्षेत्रसहित सरकारको पनि उत्तिकै भूमिका हुने अभिषेक कुमारले बताए । ‘भारतले स्टार्टअपका लागि उपयुक्त वातावरण तयार गर्दै गएको छ,’ उनी भन्छन्, ‘पैसा कहाँ छ भन्ने थाहा पाएर मात्रै हुन्न । कसरी लिने भन्ने पनि महत्त्वपूर्ण छ ।’


अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) की लगानी अधिकृत अदिती श्रेष्ठ आर्थिक वृद्धिका लागि ठूला आयोजनाका लागि लगानी मात्रै नभई साना र मझौला उद्योगमा सरकारले ध्यान दिनुपर्ने धारणा राखिन् । नेपालमा साना र मझौला उद्योगलाई मद्दत गर्न आईएफसीले अबको केही वर्षमा एक अर्ब डलर लगानी गर्ने उनले बताइन् ।


छलफलका वक्ता भोजराज पौडेलले अर्थ मन्त्रालयले सार्वजनिक निजी साझेदारी र सार्वजनिक ऋण ऐन संसद्मा पठाएको जानकारी दिंदै यसले पुँजी परिचालनका लागि भूमिका खेल्ने बताए । ‘वैदेशिक लगानी भित्र्याउन सहज हुने गरी कानुन निर्माण र संशोधनका लागि अर्थ मन्त्रालय, लगानी बोर्ड, योजना आयोग र अन्य मन्त्रालय कार्यरत छन्,’ एसियाली विकास बैंकका तर्फबाट सरकारलाई सघाइरहेका उनले भने, ‘ठूला आयोजनामा देखिने समस्या समाधानका लागि उच्चस्तरीय संयन्त्र बनाउने सल्लाह पनि हुँदै छ । यसले लगानी आकर्षित गर्न सघाउँछ ।’


नेपालका लागि विश्व बैंकका निर्देशक फरिस हदाद जर्भोस सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने नेपालको लक्ष्य सकारात्मक भए पनि अहिलेकै वृद्धिले लक्ष्य नभेट्टाइने दाबी गरे । ‘अहिलेको वृद्धि भइरहे २०३० सम्ममा प्रतिव्यक्ति आय ९ हजार डलर हुन्छ,’ उनले भने, ‘मध्यम आय भएको मुलुक बन्न यो पर्याप्त छैन ।’

प्रकाशित : फाल्गुन ७, २०७५ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?