२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

मन्त्रीहरू भन्छन्–‘आर्थिक विकासका लागि कूटनीति’

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल शान्ति र राजनीतिक स्थायित्वको बाटोमा अघि बढेकाले अब कूटनीति आर्थिक विकासका लागि सहयोगी हुने गरी अघि बढेको सरकारका दुई मन्त्रीले बताएका छन् ।

मन्त्रीहरू भन्छन्–‘आर्थिक विकासका लागि कूटनीति’

कान्तिपुर कन्क्लेभको ‘नेपाल इन ग्लोबल स्टेज’ शीर्षकको बहसमा सोमबार सहभागी हुँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अर्थमन्त्री युवराज खतिवडाले वैदेशिक लगानी भित्र्याउन सरकराले विश्व रंगमञ्चमा गर्दै आएको प्रयास र नेपालमा भइरहेको प्रगति तथा चुनौतीका बारेमा खुलेर बोले ।

‘हामी अब आर्थिक कूटनीतितिर केन्द्रित भएका छौं,’ ज्ञवालीले भने, ‘किनभने अब हाम्रो कूटनीतिक संलग्नता र व्यवहारले समृद्ध नेपाल र सुखी नेपाली भन्ने हाम्रो अभियानलाई टेवा पुर्‍याउन सक्नुपर्छ जसका लागि विश्वव्यापी सदाशयता र सहयोगको जरुरत पर्छ ।’

त्यही उद्देश्यपूर्तिका लागि नेपालको कूटनीति बदलिएको उनको दाबी थियो । ‘सन् २०२० पछि हामी अल्पविकसित मुलुकको सूचीबाट माथि उठ्नेछौं । त्यसबेला हामीलाई सक्दो वैदेशिक सहायता चाहिन्छ, त्यसका लागि मैले मातहतका दूतावासहरूमा यसको पहल गर्न भनेको छु,’ उनले भने, ‘तर, वैदेशिक सहायताको प्रचलन घटदो भएकाले हामीलाई नेपालको नयाँ छवि बनाउन सिधै वैदेशिक लगानी चाहिन्छ ।’

त्यस उद्देश्यका लागि आर्थिक कूटनीतिको पहल भएको उनले बताए । नेपाल युवाहरूको देश भएको, मध्यम वर्गको दायरा बढदै गएको र प्रचुर प्राकृतिक सम्पदाका साथ दुई ठूला देश चीन र भारतमा अवस्थित भएकाले विश्वका लगानीकर्तालाई तान्न सकिने आधारहरूसमेत कन्क्लेभमा मन्त्री ज्ञवालीले प्रस्तुत गरे ।

यसका अतिरिक्त नेपालमा पर्यटन पनि विकासको अर्काे मुख्य आधार भएको उनले बताए । ‘अर्काे वर्ष हामी पर्यटन वर्षको आयोजन गर्दै छौं,’ उनले भने, ‘त्यसबेला २० लाख पर्यटन भित्र्याउने हाम्रो आकांक्षा छ, हाम्रा दूतावासहरू नेपालको प्रचारका लागि सक्रिय छन् ।’

प्रधानमन्त्री केपी ओलीलाई डाबोसमा निम्ता आउनु र त्यहाँ उनको उच्च किसिमको संलग्नता हुनु नेपालको परिवर्तित आर्थिक सन्दर्भको संकेत भएको अर्थमन्त्री खतिवडाले बताए । ‘डाबोसमा प्रधानमन्त्रीको सहभागिता र अभिव्यक्ति नेपाल सरकारप्रति उत्सुक विश्वलाई आफ्नो विकासको मार्गचित्र देखाउने अवसर थियो,’ खतिवडाले भने, ‘निर्वाचितै भएर आएको भए पनि हँसिया र हथौडाको यो सरकार कस्तो होला भन्ने यसका योजना के–के होलान् भन्ने जिज्ञासा मानिसहरूमा थियो । हामी पूर्ण लोकतान्त्रिक व्यवहारसहितको सरकार हो र लगानीकर्ताको स्थान सरकारले सुरक्षित राखेको छ भन्ने सन्देश हामीले दिन सफल भयौं ।’

खतिवडाका अनुसार संसारलाई नेपालले आफू सबभन्दा कान्छो संघीय राज्य भएको सन्देश पनि दिएको छ । एक वर्षभित्रै स्रोत र अवसरहरूको बाँडफाँडमा देखिएको संघीय समस्याको समाधान गरेको र धेरैभन्दा धेरै लगानीकर्तालाई नेपालमा आउन औपचारिक तथा अनौपचारिक संवादहरू सरकारले गरेको खतिवडाले बताए ।

अर्थमन्त्रीको प्रक्षेपणअनुसार सन् २०२० मा नेपाल तीव्र अर्थिक वृद्धि गरिरहेको हुनेछ, नेपालको प्रतिव्यक्ति आय १५ सय डलर नाघ्नेछ, त्यस बेला नेपालले विदेशी लगानीसम्बन्धी कानूनीलगायतका समस्या सल्ट्याइसकेको हुनेछ र लगानी भित्र्याई पनि सकेको हुनेछ ।

‘त्यस बेला डाबोसमा हामी भन्नेछौं कि नेपाल पनि घुम्न र लगानी गर्नका लागि आकर्षक ठाउँ हो,’ अर्थमन्त्रीले भने ।

मन्त्री ज्ञवालीले पनि अर्काे वर्ष डाबोस पुगी नेपालले थप लगानी भित्र्याउने विश्वास व्यक्त गरे । लगानीकर्ताहरूले सुरक्षित वातावरणमा आकर्षक प्रतिफल खोज्ने हुँदा त्यो वातावरण बनाउन सरकार सक्रिय रहेको खतिवडाको दाबी छ ।

नेपालमा कानुनले नै व्यक्तिको सम्पत्तिको अधिकार सुरक्षित रहेकाले लगानीकर्ताहरूलाई यसले ढुक्क बनाउने तथा श्रम बजार सस्तो भएकाले लागत कम भई प्रतिफल बढ्ने हुनाले नेपालमा लगानी गर्न उपयुक्त समय आएको उनले बताए । ‘अर्काे कुरा, पछिल्ला वर्षहरूमा उद्योगधन्दामा बन्द हडताल हुन छाडेको छ,’ उनले भने, ‘यसले नेपालको श्रम बजार लजिलो छ भन्ने देखाउँछ ।’

संक्रमणकालीन न्यायिक प्रक्रिया नेपालको आफ्नै मौलिक र सफल प्रक्रिया भएको र यो नेपालले आफ्नै बुतामा पार लगाउन सक्छ भन्ने सन्देश आफूले आउने साता जेनेभामा हुने मानवअधिकार सम्बन्ध सभामा प्रस्तुत गर्ने मन्त्री ज्ञवालीले बताए ।

प्रकाशित : फाल्गुन ७, २०७५ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?