कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सजिलो छैन २०३० को यात्रा

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्न सरकारले लिएको लक्ष्य सजिलो नभएको विज्ञहरूले बताएका छन् । कान्तिपुर कन्क्लेभको सोमबारको सत्रमा बोल्दै सरोकारवालाहरूले सन् २०३० को लक्ष्य हासिल गर्न नेपालले विभिन्न पक्षमा विचार गर्नुपर्ने धारणा राखे ।

सजिलो छैन २०३० को यात्रा

नेपालले अर्थतन्त्रका पूर्वाधार, रोजगारी सिर्जना, लगानीको वृद्धि र जलवायु परिवर्तनले पार्ने प्रभाव न्यूनीकरणका लागि पूर्वतयारी गर्नुपर्ने धारणा राखे । आर्थिक वृद्धिमा मात्रै ध्यान दिएर अन्य सामाजिक पक्षलाई ओझेलमा नपार्न उनीहरूको

सुझाव छ ।


अर्थशास्त्री स्वर्णिम वाग्लेले नेपालमा रोजगारी सिर्जना गर्ने क्षेत्र कम भएकाले मध्यम आय भएको मुलुकमा पुग्न यसको दायरा फराकिलो पार्नुपर्ने सुझाव दिए । ‘लोकसेवा आयोगले गत वर्ष ९ हजार हाराहारी रोजगार सिर्जना गर्‍यो,’ उनले भने, ‘अहिले ल्याइएको प्रधानमन्त्री स्वरोजगार कार्यक्रम वास्तवमा रोजगार सिर्जना गर्ने कार्यक्रम होइन ।’


सरकारले २०३० सम्मका लागि तयार पारेको योजनामा जलवायु परिवर्तनका कारण प्रभाव पर्ने जोखिम भएको उनको धारणा छ । जलवायु परिवर्तनको असर विशेषगरी जलविद्युत् आयोजनाहरूमा देखिन सक्ने उनको आकलन छ । चिनियाँ कम्पनी वाइल्डबाउन्डकी संस्थापक सङकओ याओले २०३० सम्ममा जलवायु परिवर्तनले नेपालमा धेरै प्राकृतिक प्रकोपहरू आउन सक्ने सम्भावना देखिएको बताइन् ।


‘थोरैमा ०.५ डिग्रीदेखि धेरैमा २ डिग्रीसम्म तापक्रम बढ्ने अध्ययनहरूले देखाएको छ,’ उनले भनिन्, ‘यसले निम्त्याउने प्रकोपहरूको पूर्वतयारीका लागि लगानी गर्नु जरुरी देखिन्छ । तर, त्यो सजिलो भने छैन ।’ सबैभन्दा सजिलो उपाय वन–जंगल तथा अन्य प्राकृतिक स्रोतहरूको उचित व्यवस्थापन गर्दै त्यसैलाई आयको स्रोत बनाउनु जरुरी भएको उनले सुझाव दिइन् । उनले प्राकृतिक स्रोतहरूलाई आयको स्रोत बनाउन युवा लगानीकर्ताहरू आकर्षित भएको बताइन् ।


एसियाली विकास बैंकका क्षेत्रीय अर्थशास्त्री लेई लेई सङले संघीयता कार्यान्वयन राम्रो भए धेरैजसो असमानतालाई हटाउन सकिने धारणा राखे । संघीयता कार्यान्वयनको चरणमा स्रोतको व्यवस्थापन कसरी गर्ने भन्ने महत्त्वपूर्ण रहेको उनले बताए । ‘प्राकृतिक स्रोतको प्रयोग गरेर गरिबी घटाउने कि देश विकास गर्ने भन्ने निर्णय गर्नु जरुरी हुन्छ,’ उनले भने ।


निजी क्षेत्रलाई स्वतन्त्र रूपमा व्यापार गर्ने अवसर दिने हो भने मात्रै लगानी भित्र्याउन सकिने उनले बताए । ‘लगानी बढाउन दिँदा जलवायु परिवर्तनलाई पनि ध्यान दिन जरुरी हुन्छ,’ उनले भने, ‘वातावरणमा नकारात्मक असर नगर्ने प्रकारका लगानीहरूलाई धेरै बढावा दिनुपर्छ ।’ ब्रोकिङ इन्डियाका फेलो कन्स्ट्यान्टिनो जेभियरले नेपाल दुई ठूला अर्थतन्त्रको बीचमा रहेकाले मध्यम आय भएको मुलुकमा फडको मार्न यसलाई सदुपयोग गर्ने नीति बनाउनुपर्ने धारणा राखे ।


उनले उग्र राष्ट्रवादबाट माथि उठेर बजार सुनिश्चित गर्दै लगानी बढाउन ध्यान दिनुपर्ने बताए । आर्थिक विकास र राजनीतिक अवस्था एउटै सिक्काका दुई पाटा भएको टिप्पणी गर्दै उनले खुला अर्थतन्त्रका लागि सरकारले पूर्वाधार तयार गर्नुपर्ने धारणा राखे ।

प्रकाशित : फाल्गुन ७, २०७५ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?