२० लाख पर्यटक सम्भव छ ?

सडक विस्तारमा ध्यान नपुर्‍याएमा अहिलेका पर्यटकीय स्थल प्रभावित हुन सक्छ 
कान्तिपुर संवाददाता

काठमाडौँ — कुनै समय थियो पर्यटकहरू सगरमाथा हेर्न आउँथे । विश्व सम्पदा सूचीमा परेका स्थलहरू पुग्थे । पर्यटन व्यवसायीहरूले बनाएका परम्परागत प्याकेजअनुसार घुमफिर गर्थे । आज यात्रा व्यवसायमा विश्वभर प्रवृत्ति बदलिएको छ ।

२० लाख पर्यटक सम्भव छ ?

‘भम्रण किन गर्ने’ भन्ने सोचमा ठूलो बदलाव आएको छ । अहिले कुनै पनि पर्यटक सगरमाथा ‘पुग्ने होइन’ अर्थात् सगरमाथा अनुभव गर्न चाहन्छन् । यसलाई पर्यटनको भाषामा ‘साइट सिन’ होइन ‘साइट फिलिङ’ गर्न चाहन्छन् ।


यसै विषयलाई समेटेर आयोजना गरिएको कान्तिपुर कन्क्लेभको ‘पर्यटन : सम्पदादेखि अनुभव’ विषयक बहस भयो । बहसका वक्ताहरूलाई यसै विषयमा जोडेर अर्थशास्त्री चन्दन सापकोटाले आगामी वर्ष नेपालले मनाउने नेपाल भम्रण वर्षमा बहस केन्द्रित गराए । छलफलमा सहभागीहरूले हालको पर्यटकीय पूर्वाधार, विमानस्थल, सडक, होटल, अतिथि सत्कारलगायतका सेवालाई इंगित गर्दै २० लाख पर्यटक सम्भव छ/छैन भन्नेमा आफ्ना धारणा राखे ।


पर्यटन बोर्डको ब्रान्ड तथा करपोरेट पार्टनरसिप युनिटकी प्रबन्धक श्रद्धा श्रेष्ठले यो सम्भव हुने भनिन् । ‘पछिल्ला वर्ष नेपालमा पर्यटक आगमन वृद्धि दर दोहोरो अंकमा छ,’ उनले तर्क गरिन् । औसत १५ प्रतिशतका दरमा पर्यटक आगमन बढेको उनले बताइन् । ‘नेपालमा हाल सञ्चालनमा रहेका पर्यटकस्तरीयदेखि ५ तारे होटलसम्ममा २५ लाख बेड छन् । यो आँकडा दर्ता भएकाहरूको मात्रै हो,’ उनले भनिन्, ‘समुदायले सञ्चालन गरेका होमस्टेलगायतलाई जोड्दा ओ अंक बढ्दो छ ।’


पर्यटनसम्बन्धी गैरसरकारी संस्था कनेक्टिङ स्पेसेसकी सञ्चालिका स्विस नागरिक मोनिका स्काफनेरले हालको पूर्वाधारका आधारमा २० लाख पर्यटक ल्याउन चुनौती हुने बताइन् । यदि २० लाख पर्यटक आइहाले, आतिथ्यको स्तर खस्किन सक्ने उनको भनाइ थियो । उनले नेपालमा पछिल्ला दिन पर्यटकीय स्थल जोड्न बिनाअध्ययन बनाइएका सडकले सम्पदामै असर पुर्‍याइरहेको बताइन् । संरक्षणविद्समेत रहेकी उनले नेपालले सडक विस्तारमा ध्यान नपुर्‍याएमा अहिलेका पर्यटकीय स्थल प्रभावित हुन सक्नेमा ध्यानाकर्षण गराइन् ।


दुई वर्षअघिदेखि नेपालमा सुरु भएको ओयोका होटलका चिफ टेक्नोलोजी अफिसर अनिल गोयलले भने २० लाख पर्यटक आगमन सम्भव रहेको बताए । छोटो समयमै नेपालका १ सय २० होटलसँग आबद्ध यो कम्पनीले २ हजारभन्दा बढी पर्यटकस्तरीय कोठाको उपलब्धता गराउन सकेको बताउँदै गोयलले स्तरीयतामा ध्यान दिनुपर्ने बताए ।


पर्यटन व्यवसयी तथा द्वारिका गुप्र अफ होटल्स एन्ड रिसोर्टका कार्यकारी निर्देशक रिने विजय श्रेष्ठ इनहसले नेपाल २० लाख पर्यटक धान्न सक्ने अवस्थामा नरहेको बताए । उनले ब्यागप्याकर होइन हाई–इन्ड पर्यटक ल्याउनुपर्ने अनि नेपालीपन झल्किने असली आतिथ्यमा जोड दिइनुपर्ने बताए ।


पछिल्लो पटक प्रविधिमा आएको क्रान्तिकारी विकासले ट्राभल एन्ड ट्रेन्डमा पारेको प्रभावबारे पनि छलफल भयो । यसमा प्रबन्धक श्रेष्ठले अबको ५ वर्षपछि विश्वभर निजी पर्यटन व्यवसायी (टुर अपरेटर) हरू भौतिक रूपमा नदेखिने बताउँदै भनिन्, ‘अब ट्राभलटुरको रूप डिजिटल प्लेटफर्ममा सर्दै छ । ५ वर्षपछि यी सबै हत्केलामा सर्नेछन् ।’ बोर्डका अनुसार, हाल नेपालमा दर्तावाल १० हजार हाराहारी ट्राभल र टुर अपरेटर छन् ।

प्रकाशित : फाल्गुन ७, २०७५ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?