कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शाकाहारी अनुभव

कान्तिपुर संवाददाता

काठमाडौँ — फिगरलाई ‘फिट’ राख्न अभिनेता निखिल उप्रेती सधैं जिम जान्छन् । नियमित एक्सरसाइजसँगै तागतिलो खानपिनको आवश्यक त छँदै छ ।

शाकाहारी अनुभव

धेरैजसो चाहिँ उनलाई माछा, मासु खाए शरीर तन्दुरुस्त हुने सल्लाह दिन्छन् । निखिल भने ‘मांसाहारी मान्यता’ बाट टाढै बस्न रुचाउँछन् । सानो छँदा भने उनी मांसाहरी नै थिए । दुब्लो शरीर भएका निखिललाई सानैदेखि मोटो बनाउन घर परिवारले माछा मासु खान जोड दिने गर्ने । उनीचाहिँ लहलहैमा खाइदिन्थे । ‘मासु त खान्थे तर, जबर्जस्ती खाएको महसुस हुन्थ्यो,’ उनले बाल्यकाल सम्झँदै भने, ‘परिवारका लागि खाइदिएजस्तो ।’

बुझ्ने भए पनि निखिलले माछामासुमा रुचि देखाउन छाडे । अरूको शरीर खानु हिंस्रक स्वभाव हो भन्ने उनलाई लाग्यो । शरीर तन्दुरुस्त राख्न मांसाहारी नै हुनु नपर्ने उनी बताउँछन् । ‘शाकाहारी भएकै कारण आज मेरो शरीर फिट छ,’ उनको दाबी छ, ‘मांसाहारी भएको भए मेरो शारीरिक बनावट बिग्रिसक्थ्यो ।’ उनको अनुभवमा शाकाहारी हुँदा मानिसभित्र विस्तारै सकारात्मक सोचको विकास हुन्छ । सकारात्मक सोचले शरीर र मन दुवैलाई भिन्नै स्फूर्ति प्रदान गर्छ । जसले गर्दा व्यक्तिका सम्पूर्ण सोचाइमा शुद्धता आउन थाल्छ,’ उनी भन्छन्, ‘त्यो शुद्धताले अनुहारदेखि सोचाइ र शरीरको बनावटलाई पनि प्रभावित पार्छ ।’

खाइलाग्दो जीउडाल भएकी अभिनेत्री एवं फिल्म निर्देशक दीपाश्री निरौलाको शरीर देखेरै धेरैले अनुमान लाउँछन्, उनी मांसाहारी हुन भनेर । तर, बितेका २१ वर्षदेखि उनको मुखमा मासु परेको छैन । सानोमा उनी पनि मासुलाई स्वादिलो र महत्त्वपूर्ण आहार मान्थिन् । उमेरसँगै विस्तारै उनमा आध्यात्मिक चेतना जागृत भयो । ध्यान साधनातिर पनि लागिन् । ‘मासु खाएको बखत ध्यान गर्दा मनलाई एकत्रित बनाउनै गाह्रो हुन्थ्यो,’ उनको अनुभव छ, ‘पछि अध्ययन गर्दै जाँदा त्यो त मांसहारको कारण पो रहेछ । मासु खान छोडेपछि चाहिँ मनलाई स्थिरमा राख्न सजिलो भयो ।’

मांसाहारी हुँदा ताका दीपालाई धेरै रिस पनि उठ्थ्यो रे । अहिले उनलाई शान्त स्वभाव र शालीनतामा बढी नै आनन्द महसुस हुन्छ । यता लामो समय उनकै जोडीको रूपमा देखिएका अभिनेता दीपकराज गिरी पनि शाकाहारी बने । उनले मासु खान छाडेको चाहिँ धेरै भएको छैन, मात्रै ६ वर्ष । ‘कसैले भनेकै भरमा शाकाहारी हुनुले स्थायित्व नपाउने,’ उनी बताउँछन् । ‘एउटा मासुसहितको शरीरले अर्को त्यस्तै शरीरलाई खानु गलत हो र स्वास्थ्यमा पनि असर पुर्‍याउँछ’ भन्ने बोध मनदेखि नै आयो भने मानिस सजिलै शाकाहारी बन्न सक्ने उनको अनुभव छ । ‘मासु खाँदा मलाई प्राय:जसो कब्जियतको समस्याले सताउँथ्यो,’ उनी भन्छन्, ‘शाकाहारी भएपछि मुक्ति पाएको छु । मांसाहारी हुनु भनेको त स्वास्थ्यकै हिसाबले पनि खराब पो रहेछ ।’ साकाकारी हुँदा अनावश्यक अल्कोहल पिउने बानी पनि विस्तारै हटेको दीपकको अनुभव छ ।

पूर्वमिस नेपाल सुगरिका केसी चाहिँ जन्मजात शाकाहारी हुन् । उनलाई मासुको स्वाद कस्तो हुन्छ ? थाहा छैन । सानुमा मासुप्रति कहिल्यै रुचि नभएपछि सुगरिकाले साकाहारी हुनुमै राम्रो ठानिन् । तर, बेलाबेला कतिपय सामाजिक परम्परा र कार्यहरूमा मांसाहारी हुनुपर्ने दबाब भने उनले खेपिरहिन् । ‘सुत्केरी भएको बेला मासु खाए स्तनपानका लागि राम्रो हुन्छ भन्ने धारणा छ नि,’ सुगरिका भन्छिन्, ‘तर, मैले सुत्केरी हुँदा पनि मासु खाइनँ । बरु घिरौलाको तरकारी र प्रशस्त गेडागुडी खाएँ ।’

सुगरिका आफू शाकाहारी भए पनि मांसाहारीलाई भने घृणा भावले हेर्दिनन् । उनी घरमा एक्लो शाकाहारी हुन् । परिआउँदा अरूकै लागि उनी मासु पकाउँछिन् पनि । तर, कहिल्यै चाखेकी छैन । मांसाहारी खानपान गर्नेहरूलाई हरियो सागपातमा पनि जोड दिन सुझाउँछिन्, जसले खानपानलाई सन्तुलित बनाउँछ । ‘के खाने र नखाने भन्ने कुरा मान्छेको इच्छामा भरपर्छ,’ उनी भन्छिन्, ‘तर, धेरै मासु मात्रै खाने र भेजिटेबलमा कम जोड दिनेहरू अनेक रोगका सिकार हुन्छन् ।’

प्रकाशित : फाल्गुन ३०, २०७४ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?